शरद ऋतुमा हिमाल आरोहण : रोयल्टीबाटै साढे ६ करोड संकलन
वि.सं.२०७६ कात्तिक २२ शुक्रवार १३:३०
shares

शरद ऋतुमा देशका विभिन्न हिमाल आरोहण अनुमतिबाट अहिलेसम्म रु ६ करोड ४० लाख ८८ हजार ८४ रोयल्टी संकलन भएको छ । ६२ देशका एक हजार १६२ आरोहीबाट सो रोयल्टी संकलन भएको पर्यटन विभागले जनाएको छ । विभागका अनुसार आरोहण अनुमति लिनेमा पुरुष ९१५ र महिला २४७ जना रहेका छन् ।
आरोहीले शरद ऋतुमा विभिन्न ५० हिमाल आरोहणका लागि अनुमति लिएको पर्यटन विभागका नायब सुब्बा रामेश्वर निरौलाले जानकारी दिए । जसमध्ये सबैभन्दा बढी २७ समूहका ३१६ जनाले आमादब्लम हिमालको आरोहण अनुमति लिएका छन् । जसबाट रु एक कारोड ४० लाख ३६ हजार ३०० रोयल्टी संकलन भएको छ ।
सबैभन्दा बढी रोयल्टी भने मनास्लु हिमाल आरोहण अनुमतिबाट उठेको छ । मनास्लुबाट मात्रै रु दुई करोड ७० लाख ८५ हजार ६०० रोयल्टी संकलन भएको निरौलाको भनाइ छ । मनास्लु हिमाल आरोहणका लागि २७ समूहका २६४ जनाले अनुमति लिएका छन् ।
त्यसैगरी धवलागिरि हिमाल आरोहणबाट रु ३२ लाख आठ हजार पाँच रोयल्टी संकलन भएको छ । उक्त हिमाल आरोहणका लागि तीन समूहका ३१ जानले अनुमति लिएका छन् । यता थापा पिक आरोहण अनुमतिबाट ११ लाख ८९ हजार ३१२ संकलन भएको पर्यटन विभागले जनाएको छ ।
वसन्त ऋतुमा आरोहीको भीड लाग्ने विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि दुई समूहका १० जनाले अनुमति पाएका थिए। उनीहरुबाट सरकारले रु ६३ लाख ११ हजार ८०० रोयल्टी संकलन गरेको छ । लामो समयपछि शरद ऋतुमा आरोहणका लागि गएको भए पनि सफल हुन नसकेको निरौलाको भनाइ छ । सगरमाथा आरोहण असफल भएपछि उनीहरु फर्किसकेका छन् ।
शरद ऋतुमा आरोहणका लागि मौसम सामान्य अनुकूल हुने भए पनि उच्च गतिको हावाका कारण जोखिम हुने आरोहीको भनाइ छ । सगरमाथा आधार शिविरदेखि क्याम्प १ सम्मको अति जोखिमयुक्त बाटो निर्माणको जिम्मा पाएको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) का अध्यक्ष आङछिरिङ शेर्पाका अनुसार शरद ऋतुमा बाटो निर्माण गर्दा खर्च बढी लाग्छ ।
त्यसैले यो समयमा आरोही समूहले नै बाटो निर्माण गर्दै जानुपर्ने हुन्छ । वसन्त ऋतुमा ६०० अमेरिकी डलरमा क्याम्प १ सम्मको बाटो बनाउने सकिने भए पनि शरद ऋतुमा कम्तीमा २५ हजार अमेरिकी डलर लाग्ने समितिले जनाएको छ ।
नेपाल सरकारले समेत शरद ऋतुमा आरोहणलाई प्राथमिकता दिएको पाइँदैन । यस याममा आरोहणका लागि आवश्यक पूर्वाधार तयार पार्न सरकारको ध्यान नगएको आरोही किताबसिंह तामाङले बताए । (रासस)
























