‘गौंथली’का निर्देशक कपिल रिजाललाई फ्रान्समा सर्वश्रेष्ठ निर्देशकको अवार्ड
वि.सं.२०८३ असोज २७ मंगलवार ०८:३३
shares

काठमाडौं । नेपाली चलचित्र ‘गौंथली’का निर्देशक कपिल रिजाल फ्रान्समा आयोजित ‘रेड मुभी अवार्ड २०२६’ मा सर्वश्रेष्ठ निर्देशकको अवार्डबाट सम्मानित भएका छन्।रिजालले सोमबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले अवार्ड प्राप्त गरेको जानकारी दिएका हुन्।
उनले यो पुरस्कार आफ्नो एक्लो उपलब्धि नभई चलचित्रको सम्पूर्ण टिमको साझा सफलता भएको बताएका छन्। चलचित्रका कलाकार, प्राविधिक टोली र पहिलो दिनदेखि नै कथामाथि विश्वास गर्ने बीआर प्रोडक्सन परिवारको योगदानले यो उपलब्धि सम्भव भएको उनले उल्लेख गरेका छन्। त्यस्तै, हरेक कदममा साथ र हौसला दिने पत्रकार, इष्टमित्र तथा चलचित्रप्रेमीप्रति उनले आभार व्यक्त गरेका छन्।
‘गौंथली’ले नेपाली चलचित्र क्षेत्रमा उल्लेखनीय व्यावसायिक सफलता हासिल गरेको छ। उपलब्ध विवरणअनुसार चलचित्रले आइतबारसम्म २६ करोड रुपैयाँ आम्दानी गरेको छ। यो नेपाली चलचित्र इतिहासमा सर्वाधिक कमाइ गर्ने दोस्रो चलचित्र बनेको दाबी गरिएको छ। चलचित्रमा अरुण क्षेत्री र सिम्रन खड्काको मुख्य अभिनय रहेको छ।
























