काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

असिनासहितको वर्षाले घोडाघोडीको धानबालीमा क्षति

390
shares

ai logo सारांश

  • - असिनासहितको भारी वर्षा र हावाहुरीका कारण धानबालीमा क्षति पुगेको छ ।
  • - असिनापानीले काटिसकेको धानसँगै खेतमा रहेको धानमा क्षति पुर्‍याएपछि किसान चिन्तित भएका छन् ।
  • - भारी वर्षासँगै आएको असिनाले धानका बाला झार्नुका साथै हावाहुरीले खेतमा रहेको धान ढलाएको छ ।

कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाका विभिन्न स्थानमा बुधबार बिहान परेको असिनासहितको भारी वर्षा र हावाहुरीका कारण धानबालीमा क्षति पुगेको छ । धान काटेर भित्र्याउने तयारी भइरहेका बेला आएको असिनापानीले काटिसकेको धानसँगै खेतमा रहेको धानमा क्षति पुर्‍याएपछि किसान चिन्तित भएका छन् ।

आज बिहानैदेखि परेको भारी वर्षासँगै आएको असिनाले धानका बाला झार्नुका साथै हावाहुरीले खेतमा रहेको धान ढलाएको छ । कतिपय स्थानमा काटेर खेतमा सुकाइएको धानपानीले भिजेको छ भने केही ठाउँमा वर्षाको पानीले धान डुबाउनुका साथै बगाएको छ । घोडाघोडी नगरपालिका–१०, घुम्नीभालका किसान रामभरोसा चौधरीले काटेर खेतमा सुकाएको धान वर्षाका कारण भिजेपछि समस्या भएको बताए ।

“धान काटेर खेतमा सुकाएका थियौँ । असिनासहित पानी परेपछि सबै भिजायो । काटेको धानमात्रै होइन, खेतमै रहेको धानका बालासमेत असिनाले झारेको छ । अब धान कसरी जोगाउने भन्ने चिन्ता भएको छ,” उनले भने । घोडाघोडी नगरपालिका–५ की किसान निशा चौधरीको खेतमा पनि काटेर राखिएको धान वर्षाको पानीले डुबाएको छ । वर्षभरि खानका लागि उत्पादन गरेको धानमै क्षति पुगेपछि उहाँलाई आगामी दिनमा खाद्यान्नको समेत चिन्ता बढेको छ ।

“वर्षभरि खाने धान यही हो । काटेर राखेको धानपानीले डुबायो । अब धान नै बिग्रियो भने के खाने भन्ने चिन्ता भएको छ,” उनले भने । घोडाघोडी–५ कै किसान मनोज चौधरीको काटेर राखिएको धानसमेत पानीमा डुब्नुका साथै केही बगाएको छ । खेतमा पानी भरिएपछि काटेर राखेको धान जोगाउन समस्या भएको उनले बताए ।

यस्तै, घोडाघोडी–८ का किसान रामु बुढाथोकीले धान काटेर भित्र्याउने तयारी गरिरहेका बेला आएको वर्षाले समस्या थपिएको बताए । “धान पाकिसकेको थियो, केही दिनमै काटेर घर लैजाने तयारी थियो । काटेको धान पनि भिजेको छ । मौसम अझै यस्तै भयो भने ठूलो क्षति हुने डर छ,” उनले भने ।

असिनासहितको वर्षा र हावाहुरीले घोडाघोडी नगरपालिकाका विभिन्न स्थानमा विद्युत् संरचनामा समेत क्षति पुर्‍याएको छ । हावाहुरीका कारण विद्युत्का तार टुट्नुका साथै कतिपय स्थानमा पोलमा समेत क्षति पुगेको पहलमानपुर सबस्टेसनका प्रमुख लोकविक्रम मल्लले बताए । उनका अनुसार हावाहुरीका कारण विद्युत् संरचनामा क्षति पुगेपछि विद्युत् सेवा अवरुद्ध भएको छ । क्षतिग्रस्त संरचनाको अवस्था पहिचान गरी मर्मत गरेर विद्युत् सेवा सञ्चालन गर्ने काम भइरहेको उनले बताए।

हावाहुरीका कारण घोडाघोडीका विभिन्न स्थानमा रुख तथा हाँगाबिँगा ढलेका थिए । रुख सडकमा ढलेपछि पूर्व–पश्चिम राजमार्गसँगै भित्रि सडकसमेत केही समय अवरुद्ध भएको थियो । सडकमा ढलेका रुख हटाएर राजमार्ग सञ्चालनमा ल्याएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले बताए ।

असिना, वर्षा र हावाहुरीबाट घोडाघोडी नगरपालिकाका विभिन्न वडामा भएको क्षतिको यकिन विवरण सङ्कलन गर्ने काम भइरहेको घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडकबहादुर रावते बताए । उनका अनुसार सबैभन्दा धेरै धानबालीमा क्षति भएको छ भने केही घरहरूमा रुख ढलेर क्षति पुगेको छ । ढलेका रुखहरू पन्छ्याउने काम भइरहेको नगर प्रमुख रावतले बताए ।