दसैँ–तिहारमा सुरक्षा कडा बनाउने खोटाङको सातबुँदे प्रतिबद्धता
वि.सं.२०८३ असोज २० मंगलवार ०५:३०
shares

सारांश
- दसैँ, तिहार र छठलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सातबुँदे प्रतिबद्धता जारी गरिएको छ।
- प्रहरीले गस्ती र निगरानी बढाउने तथा ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि नियम कडाइका साथ लागू गर्ने भएको छ।
- यातायात, होटल तथा व्यवसायीले सुरक्षित सेवा, उचित मूल्य र उपभोक्ता अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका छन्।
खोटाङ । दसैँ, तिहार र छठजस्ता ठूला चाडपर्व नजिकिँदै गर्दा खोटाङमा सुरक्षा व्यवस्था कडा बनाउनेदेखि यात्रु र उपभोक्ताको अधिकार सुनिश्चित गर्नेसम्मका सातबुँदे प्रतिबद्धता जारी गरिएको छ।
चाडपर्वका बेला हुनसक्ने आपराधिक गतिविधि, सडक दुर्घटना, कालोबजारी तथा उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले जिल्ला सुरक्षा समिति खोटाङले सोमबार दिक्तेलमा सर्वदलीय तथा सर्वपक्षीय भेला आयोजना गरेको थियो। भेलामा सहभागी राजनीतिक दल, सुरक्षा निकाय, व्यवसायी तथा सञ्चार क्षेत्रका प्रतिनिधिले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका हुन्।
जिल्ला प्रहरी कार्यालयले चाडपर्वलाई लक्षित गर्दै गस्ती बढाउने, सम्भावित आपराधिक गतिविधि हुने स्थानमा निगरानी बढाउने तथा सुरक्षा निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।
त्यस्तै, जिल्ला ट्राफिक प्रहरी कार्यालयले बजार तथा बढी भीडभाड हुने क्षेत्रमा नियमित गस्ती गर्ने र ट्राफिक नियम कडाइका साथ पालना गराउने जनाएको छ। चालकले मादक पदार्थ वा लागूऔषध सेवन गरे–नगरेको जाँच गर्ने तथा यात्रुलाई ट्राफिक सुरक्षासम्बन्धी जानकारी दिने व्यवस्था मिलाइनेछ।
भेलामा सहभागी राजनीतिक दलले जिल्लामा शान्ति, सुरक्षा र अमनचयन कायम गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। चाडपर्वका समयमा हुने आपराधिक घटनाबारे सुरक्षा निकाय तथा जिल्ला प्रशासन कार्यालयलाई आधिकारिक सूचना उपलब्ध गराउने र आवश्यक सुझाव दिने उनीहरूको प्रतिबद्धता छ।
खोटाङ उद्योग वाणिज्य सङ्घले उपभोक्ताको अधिकार सुनिश्चित गर्दै वस्तु तथा सेवाको गुणस्तर कायम गर्ने जनाएको छ। नेपाल पत्रकार महासङ्घ खोटाङ तथा जिल्लामा क्रियाशील सञ्चारकर्मीले यातायात व्यवसायी, यात्रु र उपभोक्ताका अधिकार तथा कर्तव्यबारे सूचना प्रवाह गर्ने प्रतिबद्धता जनाएका छन्।
होटल व्यवसायी सङ्घले पनि यात्रु तथा उपभोक्तालाई गुणस्तरीय खाना र बास उचित मूल्यमा उपलब्ध गराउने जनाएको छ। होटलले आफूखुसी मूल्य तोक्ने र उपभोक्तालाई ठगी गर्ने गुनासो बढेपछि त्यसलाई नियन्त्रण गर्न व्यवसायीले आधारभूत मापदण्ड पालना गर्ने प्रतिबद्धता जनाएका हुन्।
यातायात व्यवसायीले सुरक्षित र मर्यादित सेवा सञ्चालन गर्ने, चालक तथा सहचालकलाई यात्रुसँग शिष्ट व्यवहार गर्न प्रशिक्षण दिने, यात्रुलाई अनिवार्य टिकट दिने तथा तोकिएको स्थानबाट मात्र यात्रु चढाउने–ओराल्ने प्रतिबद्धता जनाएका छन्। चालक तथा सहचालकले मादक पदार्थ सेवन नगर्ने र गर्न नदिने पनि उनीहरूले बताएका छन्।
प्रमुख जिल्ला अधिकारी गणेशकुमार गुरुङको कार्यकक्षमा भएको भेलामा जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकाय, यातायात तथा होटल व्यवसायी र पत्रकारको सहभागिता थियो।
भेलाले चाडपर्वका अवसरमा जिल्लामा शान्तिसुरक्षा कायम गर्न खोटाङका १० वटै स्थानीय तहसँग आवश्यक समन्वय गर्ने निर्णयसमेत गरेको छ।

























