शुक्ला हिलेटारलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउने तयारी
वि.सं.२०८३ असोज २० मंगलवार ०५:२५
shares

सारांश
- तनहुँको शुक्ला हिलेटार शिवालय क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने तयारी अघि बढेको छ।
- दुग्देश्वर महादेव मन्दिर निर्माणका लागि एक करोड ३७ लाख रुपैयाँ लागत अनुमान गरिएकोमा हालसम्म ५० लाख रुपैयाँ संकलन भएको छ।
- सडक, खानेपानी, पार्किङ, पदमार्गलगायत पूर्वाधार विकास गर्दै क्षेत्रको प्रचारप्रसार गर्ने योजना बनाइएको छ।
दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ पुल्चोकस्थित शुक्ला हिलेटार शिवालय क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने तयारी अघि बढेको छ। धार्मिक आस्थासँग जोडिएको यस क्षेत्रको संरक्षणसँगै आवश्यक पूर्वाधार निर्माण र प्रचारप्रसार गरेर पर्यटक तथा भक्तजन आकर्षित गर्ने योजना बनाइएको हो।
शिवालय क्षेत्रमा निर्माणाधीन दुग्देश्वर महादेव मन्दिरको काम पुनः सुरु गरिएको छ। मन्दिरको जग र पिल्लरलगायतका प्रारम्भिक संरचना निर्माण भइसकेका छन्। अब बाँकी निर्माणलाई निरन्तरता दिने तयारी गरिएको शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन समितिले जनाएको छ।
समितिका अध्यक्ष पर्शुराम भण्डारीले धार्मिक महत्व बोकेको क्षेत्रलाई व्यवस्थित गर्दै पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले काम अघि बढाइएको बताए। उनका अनुसार मन्दिरलाई केन्द्रमा राखेर क्षेत्रको समग्र विकास गर्ने योजना छ।
दुग्देश्वर महादेवको मन्दिर शिखर र प्यागोडा शैलीको मिश्रित स्वरूपमा निर्माण गर्ने योजना छ। मन्दिर निर्माणका लागि करिब एक करोड ३७ लाख रुपैयाँ लागत अनुमान गरिएको छ। हालसम्म करिब ५० लाख रुपैयाँ संकलन भइसकेको समितिले जनाएको छ।
निर्माणका लागि थप रकम आवश्यक पर्ने भएकाले समितिले सरकारी बजेटको मात्र भर नपरी स्थानीयवासी, भक्तजन, शुभेच्छुक तथा देश–विदेशमा रहेका सहयोगदाताबाट सहयोग जुटाउन थालेको छ। समितिका अध्यक्ष भण्डारीका अनुसार टोलटोलमा पुगेर सहयोग संकलन भइरहेको छ र स्थानीयवासी तथा भक्तजनबाट राम्रो साथ मिलिरहेको छ।
शिवालय क्षेत्रमा धार्मिक पर्यटकलाई लक्षित गरी पूजा, दर्शन, धार्मिक कार्यक्रम तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्न सकिने सम्भावना रहेको समितिको भनाइ छ। क्षेत्रको विकाससँगै स्थानीय व्यापार, होटल तथा अन्य सेवा व्यवसायमा पनि टेवा पुग्ने अपेक्षा गरिएको छ।
शिवालय क्षेत्रको दीर्घकालीन विकासका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने काम पनि अघि बढाइएको छ। प्रतिवेदनमा सडक तथा पहुँचमार्ग, खानेपानी, शौचालय, पार्किङ, विश्रामस्थल, पदमार्ग, सौन्दर्यीकरणलगायत पर्यटक र भक्तजनका लागि आवश्यक सेवा–सुविधा समेटिनेछ।
समितिले शिवालय क्षेत्रसम्म पुग्ने सडक र पहुँचमार्ग स्तरोन्नतिलाई प्राथमिकतामा राख्नुपर्ने जनाएको छ। प्राकृतिक तथा धार्मिक वातावरणलाई जोगाउँदै आवश्यक पूर्वाधार निर्माण गरी दुग्देश्वर महादेव मन्दिरलाई केन्द्रमा राखेर शुक्ला हिलेटारलाई आकर्षक धार्मिक पर्यटकीय गन्तव्य बनाउने लक्ष्य समितिले लिएको छ।

























