काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनको काम तीव्र, इआइए अन्तिम चरणमा

481
shares

ai logo सारांश

  • अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत जग्गा सम्याउने र बाहिरी पर्खाल निर्माणको काम तीव्र, इआइए अन्तिम चरणमा पुगेको छ।
  • करिब ६२ किलोमिटर लामो पाइपलाइन र लोथरमा अत्याधुनिक डिपो निर्माण गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन आपूर्ति गर्ने योजना छ।
  • परियोजना सञ्चालनमा आएपछि हवाई इन्धन ढुवानीमा वार्षिक करिब दुई अर्ब रुपैयाँ बचत हुने र देशका पश्चिमी तथा उत्तरी क्षेत्रमा इन्धन आपूर्ति सहज हुने अपेक्षा गरिएको छ।

लोथर । राष्ट्रिय प्राथमिकता प्राप्त अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत चितवनको राप्ती नगरपालिका–१ लोथरमा जग्गा सम्याउने (ल्याण्ड फिलिङ) र बाहिरी पर्खाल निर्माणको काम तीव्र रूपमा भइरहेको छ।

परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) पनि अन्तिम चरणमा पुगेको आयोजना प्रमुख एवं नेपाल आयल निगमका निर्देशक प्रदीपकुमार यादवले जानकारी दिए। उनका अनुसार लोथरमा करिब २३ बिघा १२ कट्ठा क्षेत्रफलमा अत्याधुनिक सुविधासहितको ग्रीनफिल्ड टर्मिनल निर्माण हुनेछ।

अमलेखगन्जदेखि लोथरसम्म करिब ६२ किलोमिटर लामो १० दशमलव ७५ इन्चको पाइपलाइन बिछ्याइनेछ। भारतको मोतिहारीस्थित इन्डियन आयल कर्पोरेसन (आईओसी)को पम्प हाउसबाट लोथरसम्म पेट्रोलियम पदार्थ आपूर्ति गर्ने व्यवस्था मिलाइनेछ।

निगमका अनुसार पाइपलाइन पूर्व–पश्चिम राजमार्गको समानान्तर बिछ्याइनेछ। हेटौँडा बजारमा भने बाइपास गरेर पाइपलाइन लैजाने डिजाइन तयार गरिएको छ। पाइपलाइन नक्साङ्कनको काम सम्पन्न भइसकेको र सडक विभागसँग आवश्यक समन्वय गरिएको निगमले जनाएको छ।

परियोजना तीन वर्षभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। पाइपलाइनबाट प्रतिघण्टा २७३ किलोलिटरका दरले पेट्रोलियम पदार्थ आपूर्ति गर्न सकिनेछ। पाइपलाइनमा नियमित रूपमा करिब ३२ सय किलोलिटर इन्धन भण्डारण रहनेछ।

परियोजना निर्माणस्थलमा जमिन सम्याउने, बाहिरी पर्खाल लगाउनेलगायत पूर्वतयारीका काम भइरहेको निगमका उपप्रबन्धक ऋषिराम शर्माले बताए। जग्गा तयार भएपछि भण्डारणसहितका संरचना निर्माणको जिम्मा आईओसीलाई दिइनेछ।

ल्याण्ड फिलिङ र बाहिरी पर्खाल निर्माणको ठेक्का मोतीदान कन्स्ट्रक्सनले करिब ७९ करोड रुपैयाँमा पाएको छ। कम्पनीले गत भदौदेखि काम सुरु गरेको हो। ठेक्का अवधि एक वर्ष भए पनि आठदेखि नौ महिनामै काम सम्पन्न गर्नेगरी निर्माणलाई तीव्र पारिएको कम्पनीका प्रतिनिधि कृष्ण घोरासाइनीले बताए।

लोथरमा निर्माण हुने नयाँ डिपोमा पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन भण्डारणका लागि विभिन्न क्षमताका ट्याङ्की निर्माण गरिनेछ। निगमका अनुसार डिपोमा कुल ९१ हजार ९०० किलोलिटर पेट्रोलियम पदार्थ भण्डारण गर्न सकिनेछ।

हवाई इन्धन पनि पाइपलाइनबाट

लोथरमा हवाई इन्धन भण्डारणका लागि ट्याङ्की निर्माण भएपछि हवाई इन्धनसमेत पाइपलाइनबाटै ल्याउन सकिनेछ। अहिले भारतको बरौनीबाट ट्याङ्करमार्फत हवाई इन्धन ढुवानी हुँदै आएको छ।

निगमका अनुसार लोथरसम्म पाइपलाइनबाट हवाई इन्धन ल्याउन थालेपछि प्रतिलिटर करिब पाँच रुपैयाँ ढुवानी खर्च बचत हुनेछ। यसबाट वार्षिक करिब दुई अर्ब रुपैयाँ बराबरको ढुवानी खर्च बचत हुने अनुमान गरिएको छ।

पाइपलाइनबाट पेट्रोलियम पदार्थ ढुवानी गर्दा वातावरणीय प्रभाव कम हुने तथा चोरी र मिसावटको सम्भावना पनि घट्ने निगमको भनाइ छ। पाइपलाइन र भण्डारण गृहसहित परियोजनाको अनुमानित लागत १४ अर्ब नौ करोड ६० लाख रुपैयाँ रहेको छ।

अमलेखगन्ज–लोथर पाइपलाइन र लोथरमा भण्डारण गृहसहितको डिपो निर्माणका लागि नेपाल र भारतबीच २०८० जेठमा समझदारी भएको थियो। सोही समझदारीअनुसार २०८१ असोज १७ गते नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनबीच सम्झौता भएको हो। सम्झौताअनुसार निर्माण सुरु भएको ५४ महिनाभित्र परियोजना सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

भारतको मोतिहारीदेखि अमलेखगन्जसम्मको ६९ दशमलव दुई किलोमिटर लामो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन २०७६ भदौदेखि सञ्चालनमा छ। उक्त पाइपलाइनबाट हाल पेट्रोल, डिजेल र मट्टितेल आयात हुँदै आएको छ। पाइपलाइनबाट आयात हुने पेट्रोलियम पदार्थले नेपालको करिब ७० प्रतिशत माग धान्दै आएको निगमले जनाएको छ।

अमलेखगन्ज–लोथर परियोजना सम्पन्न भएपछि नेपालका पश्चिमी तथा उत्तरी क्षेत्रमा पेट्रोलियम पदार्थको आपूर्ति थप सहज हुने अपेक्षा गरिएको छ।