सुन्तलामा रोगको प्रकोप बढेपछि भोजपुरका किसान चिन्तित
वि.सं.२०८३ असोज २० मंगलवार ०५:१३
shares

सारांश
- सुन्तलामा विभिन्न रोगको प्रकोप देखिएपछि भोजपुरका किसान चिन्तित भएका छन्।
- फल परिपक्व नहुँदै पहेँलो भएर झर्ने, हाँगा सुक्ने, पातमा ढुसी लाग्ने र बोट पहेँलो हुने समस्या देखिएको छ।
- रोगका कारण उत्पादन घट्दै गएपछि किसानले तत्काल रोग पहिचान गरी नियन्त्रणका लागि कृषि प्राविधिकको पहल माग गरेका छन्।
भोजपुर । सुन्तलाको बगानमा विभिन्न रोगको प्रकोप देखिएपछि भोजपुरका किसान चिन्तित भएका छन्। सुन्तला परिपक्व नहुँदै भेट्नो कुहिएर फल झर्न थालेपछि वर्षभरको मेहनत र लगानी खेर जाने भन्दै किसान चिन्तित बनेका हुन्।
भोजपुर नगरपालिका–३ गुप्तेश्वरका किसान तीर्थबहादुर प्रधानका अनुसार सुन्तला पहेँलो भएर आफैँ भुइँमा खस्ने समस्या देखिएको छ। फल लाग्ने समयमा परेको असिनापानीबाट जोगिएको सुन्तलामा अहिले फल झर्ने समस्या देखिएको उनले बताए।
उनका अनुसार बगानमा फल झर्नुका साथै हाँगा सुक्ने, पातमा सेतो ढुसी देखिने, पात कुप्रिने र बोट नै पहेँलो हुने समस्या पनि देखिएको छ। प्रधानले करिब ४२ रोपनी क्षेत्रफलमा सुन्तलाखेती गर्दै आएका छन्।
टेम्केमैयुङ गाउँपालिका–५ खावा केराबारीका किसान देवराज राईले पनि विगत केही वर्षदेखि फल झर्ने, हाँगा सुक्ने, ढुसी लाग्ने र पात बेरिने समस्या दोहोरिँदै आएको बताए। करिब १५ रोपनीमा सुन्तलाखेती गर्दै आएका राईले वार्षिक पाँच लाख रुपैयाँसम्म आम्दानी गर्दै आए पनि रोगका कारण उत्पादन घट्दै गएको बताए।
भोजपुर नगरपालिका–६ का किसान भीमराज विष्टले सुन्तलाका फल बोटमै फुट्न थालेको बताए। समयमै रोगको रोकथाम र नियन्त्रण गर्न नसके पूरै बगान प्रभावित हुने अवस्था आएको भन्दै उनले चिन्ता व्यक्त गरे।
सुन्तला बगानमा रोगको प्रकोप बढेकाले कृषि प्राविधिक तथा सम्बन्धित निकायले तत्काल स्थलगत अध्ययन गरी रोगको पहिचान र नियन्त्रणका लागि आवश्यक पहल गर्नुपर्ने किसानको माग छ।

























