बाढीपहिरोका कारण बागलुङमा सडक पूर्वाधारमा ५० करोडको क्षति
वि.सं.२०८३ असोज २० मंगलवार ०५:०९
shares

सारांश
- बाढीपहिरोका कारण बागलुङमा सडक पूर्वाधारमा करिब ५० करोड रुपैयाँ बराबरको क्षति भएको छ।
- मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर र बागलुङ–बेनी सडकसहितका राजमार्गमा ठूलो क्षति पुगेको छ।
- क्षतिग्रस्त सडक दीर्घकालीन रूपमा पुनर्निर्माण गर्न एक अर्ब रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ।
बागलुङ । बाढीपहिरोका कारण बागलुङमा ठूलो जनधनको क्षति भएको छ। विपद्का कारण जिल्लामा १३ जनाको मृत्यु भएको छ भने मुख्य सडकमा मात्रै करिब ५० करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
सडक डिभिजन कार्यालयअन्तर्गतका राष्ट्रिय तथा सहायक राजमार्ग र पूर्वाधार विकास कार्यालयअन्तर्गतका प्रदेशस्तरीय सडकमा क्षति पुगेको हो। क्षतिग्रस्त सडकलाई दीर्घकालीन रूपमा पुनर्निर्माण गर्न एक अर्ब रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ।
प्रारम्भिक विवरणअनुसार सबैभन्दा बढी क्षति मध्यपहाडी लोकमार्गको निसी र गलकोट खण्डमा भएको छ। त्यस्तै प्रदेश सरकारअन्तर्गतको गलकोट–हरिचौर–ताराखोला सडकमा पनि ठूलो क्षति पुगेको छ।
सडक डिभिजन कार्यालय बागलुङका प्रमुख हरि सुवेदीका अनुसार कालीगण्डकी करिडोर, मध्यपहाडी लोकमार्ग र बागलुङ–बेनी सडकसहितका राजमार्गमा करिब ३० करोड रुपैयाँ बराबरको क्षति भएको छ।
मध्यपहाडी लोकमार्गअन्तर्गत निसीखोलाको कानाबगर र झिवाखोला क्षेत्रमा करिब ४०० मिटर सडकको ट्र्याक बगाएर सडक बगरमा परिणत भएको छ। घोडाबाँधेदेखि हटियासम्मको सडक खण्डमा पनि दर्जनभन्दा बढी स्थानमा पहिरो गएको छ।
कालीगण्डकी करिडोरअन्तर्गत कालाखोला बगर, बेलबगर र जैमिनीघाटलगायत क्षेत्रमा सडकमा क्षति पुगेको छ। बागलुङ बजार हुँदै सिगाना र बागलुङ बजारदेखि तित्याङ जाने सडकमा पहिरो खस्दा आवागमन प्रभावित भएको छ।
पूर्वाधार विकास कार्यालय बागलुङको प्रारम्भिक तथ्याङ्कअनुसार प्रदेश सरकारअन्तर्गत निर्माण भइरहेका क्षेत्रीय सडकमा करिब २० करोड रुपैयाँ बराबरको क्षति भएको छ।
कार्यालयका प्रमुख अनुप थापाका अनुसार हरिचौर–ताराखोला सडकमा सबैभन्दा बढी क्षति पुगेको छ। आठ किलोमिटर लामो उक्त सडकको एक दर्जनभन्दा बढी स्थानमा पहिरो गएको छ।
त्यस्तै शालग्राम सङ्ग्रहालय–मालिका–पञ्चकोट र कुश्मिसेरा–राङ्खानी सडकमा पनि क्षति पुगेको छ। कार्यालयले क्षतिको विवरण सङ्कलन गरिरहेको जनाएको छ।
ठेक्का अवधि बाँकी रहेको हरिचौर–ताराखोला सडक पुनर्निर्माणका लागि ठेकेदारलाई पत्र पठाइसकेको कार्यालय प्रमुख थापाले बताए।

























