बासस्थान मासिँदै जाँदा दुर्लभ बन्दै कछुवा
वि.सं.२०८३ असोज २० मंगलवार ०५:३४
shares

सारांश
- प्राकृतिक बासस्थान मासिँदै जाँदा नदी, पोखरी र सिमसारमा पाइने कछुवाको सङ्ख्या घट्दै गएको छ।
- सिमसार अतिक्रमण, जल प्रदूषण, अवैध सिकार, विष–करेन्ट प्रयोग तथा सडक–पूर्वाधार विस्तार कछुवाका लागि मुख्य जोखिम बनेका छन्।
- कछुवा संरक्षणका लागि पोखरी, नदीकिनार, सिमसार, वनस्पति र प्रजननस्थल जोगाउनुका साथै अवैध सिकार र व्यापार नियन्त्रण गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन्।
सुनसरी । नदी, पोखरी, तालतलैया, सिमसार तथा चुरे क्षेत्रका खोल्सामा सहजै देखिने कछुवा पछिल्लो समय प्राकृतिक बासस्थान मासिँदै जाँदा दुर्लभ बन्दै गएको छ। पानीका स्रोत तथा सिमसार अतिक्रमण, अवैध सिकार र जल प्रदूषणका कारण कछुवाको सङ्ख्या घट्दै गएको संरक्षणकर्मीले बताएका छन्।
कछुवा तथा सरिसृपसम्बन्धी विषयमा विद्यावारिधि गरिरहेका अनुसन्धानकर्ता अस्मित सुब्बाले कछुवा संरक्षणलाई एउटा प्रजाति बचाउने विषयमा मात्र सीमित गर्न नहुने बताए। कछुवा बाँच्ने पानी, नदी किनार, अण्डा पार्ने बालुवा वा माटो, घाम ताप्ने स्थान, आहारा र आसपासको हरियाली जोगाउन सके मात्र संरक्षण प्रभावकारी हुने उनको भनाइ छ।
“कछुवा संरक्षणका लागि त्यसको बासस्थानसँग जोडिएको पानी, जमिन र हरियाली संरक्षण गर्न आवश्यक छ,” उनले भने, “कछुवाका लागि पानीसँगै सुरक्षित नदीकिनार, अण्डा पार्ने स्थान, घाम ताप्ने ठाउँ, आहारा र प्राकृतिक वनस्पति आवश्यक पर्छ।”
कतिपय कछुवाका प्रजातिले पानीमा बढी समय बिताए पनि प्रजननका क्रममा नदी किनारका सुरक्षित स्थान खोज्ने गर्छन्। प्राकृतिक पोखरी तथा जलाशय मासिँदै जानु, सिमसार पुरिनु, नदी किनारमा अव्यवस्थित संरचना निर्माण हुनु र आसपासका वनस्पति हटाइनुले कछुवाको प्रजनन तथा जीवनचक्रमा असर गर्ने सुब्बाले बताए।
सिमसारले वर्षाको पानी सञ्चय गर्ने, जमिनमुनिको पानी पुनःभरण गर्ने, बाढीको प्रभाव घटाउने तथा विभिन्न जीवजन्तु र वनस्पतिलाई बासस्थान उपलब्ध गराउने भएकाले कछुवा संरक्षणलाई सिमसार संरक्षणसँगै अघि बढाउनुपर्ने उनको भनाइ छ।
पूर्वी नेपालमा पाइने नरम खबटे कछुवाका केही प्रजाति गहिरो नदी, जलाशय तथा सिमसारमा निर्भर हुने भएकाले बासस्थानमा हुने परिवर्तनबाट बढी प्रभावित हुने गरेका छन्। नदी तथा सिमसारमा विष वा करेन्ट प्रयोग गरेर माछा मार्दा कछुवासहित अन्य जलचर पनि प्रभावित हुने गरेका छन्।
माछा मार्ने क्रममा जाल तथा बल्छीमा परेका कछुवा घाइते हुने, निसासिने वा मर्ने जोखिम रहेको सुब्बाले बताए। ठूलो बासस्थान ससाना क्षेत्रमा विभाजन हुँदा आहारा खोज्न, प्रजनन गर्न र सुरक्षित स्थानमा पुग्न कछुवालाई कठिन हुने गरेको छ। सडक पार गर्ने क्रममा सवारीसाधनको चपेटामा पर्ने जोखिम पनि उत्तिकै रहेको उनले बताए।
“कछुवा ढिलो बढ्ने र वयस्क अवस्थामा पुग्न लामो समय लाग्ने भएकाले सङ्ख्या घट्दै गए पुरानै अवस्थामा फर्किन पनि समय लाग्छ,” उनले भने।
पूर्वी तराईको चारकोसे झाडी क्षेत्रमा बस्ती विस्तार, कृषि, सडक तथा अन्य पूर्वाधार निर्माण बढ्दै जाँदा कछुवालगायतका वन्यजन्तुको प्राकृतिक बासस्थान खण्डित भएको छ। वनसँग जोडिएका पोखरी, खोल्सा, नदीकिनार र सिमसारमा हुने परिवर्तनले त्यहाँ आश्रित जलचर तथा वन्यजन्तुलाई असर पुर्याएको छ।
सरिसृप तथा उभयचरसम्बन्धी विषयमा विद्यावारिधि गरेका प्राध्यापक डा. कालुराम खुम्बुले कछुवा संरक्षणलाई एउटा प्रजातिमा मात्र सीमित नगरी समग्र बासस्थान संरक्षणका रूपमा अघि बढाउनुपर्ने बताए।
“कछुवाको अवस्था बुझ्न अनुसन्धान, तथ्याङ्क सङ्कलन तथा बासस्थानको नियमित अध्ययन आवश्यक छ,” उनले भने।
कछुवाका विभिन्न प्रजातिले वनस्पति, कीरा, माछा तथा अन्य जैविक पदार्थ खाने भएकाले खाद्य शृङ्खलामा समेत महत्वपूर्ण भूमिका खेल्ने खुम्बुले बताए। गाउँका पोखरी, खेती नजिकका जलाशय, नदी किनार र सिमसार संरक्षण गर्न सके कछुवाको बासस्थान जोगाउन सकिने उनको भनाइ छ।
स्थानीयले कछुवाका अण्डा तथा बच्चा सङ्कलन नगर्ने, अवैध सिकार तथा व्यापार रोक्न सहयोग गर्ने र विष तथा करेन्ट प्रयोग गरेर माछा मार्ने कार्य नियन्त्रण गर्नुपर्नेमा उनले जोड दिए। प्राकृतिक पोखरी तथा सिमसार पुर्ने कार्य रोक्न सके कछुवा संरक्षणमा महत्वपूर्ण सहयोग पुग्ने उनले बताए।
कछुवाको शरीर कडा खपटाले ढाकिएको हुन्छ। कछुवाका विभिन्न प्रजाति पानी वा जमिनमा बस्ने गर्छन् भने तिनको आकार, आहार र जीवनशैली पनि फरक–फरक हुने जानकारहरू बताउँछन्।

























