गृहपृष्ठ मौलिक संस्कृति जोगाउन छिनामखुमा साकेवाथान निर्माण

मौलिक संस्कृति जोगाउन छिनामखुमा साकेवाथान निर्माण

मौलिक संस्कृति जोगाउन छिनामखुमा साकेवाथान निर्माण

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा किराँत समुदायको मौलिक संस्कृति र परम्परालाई पुस्तान्तरण गर्ने उद्देश्यले साकेवाथान ९चोथोवा० निर्माण गरिएको छ । आधुनिक जीवनशैलीका कारण मौलिक संस्कृति र परम्परा ओझेलमा पर्दै गएसँगै संस्कृतिको संरक्षण गर्न यहाँ साकेवाथान निर्माण गरिएको हो ।

धार्मिक तथा सांस्कृतिक गतिविधिलाई व्यवस्थित बनाउन यहाँ करिब रु १४ लाखको साकेवाथान निर्माण गरिएको छ । टेम्केमैयुङ गाउँपालिकाको बजेटमा वडा कार्यालयको समन्वय तथा स्थानीयवासीको सक्रिय सहभागितामा साकेवाथान निर्माण गरिएको वडाध्यक्ष बालचन्द्र राईले जानकारी दिए । उनका अनुसार समुदायको पहिचानसँग जोडिएको किराँत संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि सांस्कृतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको हो ।

“हामीले भौतिक पूर्वाधारसँगै सांस्कृतिक पूर्वाधारको विकासमा पनि प्राथमिकता दिएका छौँ । मौलिक संस्कृति र परम्पराको संरक्षण गर्दै नयाँ पुस्तासम्म यसको निरन्तरता कायम गर्न साकेवाथान निर्माण गरेका हौँ”, वडाध्यक्ष राईले भने ।

साकेवाथान किराँत समुदायको धार्मिक आस्था र सांस्कृतिक अभ्याससँग प्रत्यक्ष रूपमा जोडिएको छ । यहाँ उँधौली र उभौली पर्वका अवसरमा वर्षमा दुई पटक विशेष पूजाआजा गरिन्छ भने साकेला नाच प्रदर्शन गर्ने गरिन्छ । यी पर्व कृषि चक्रसँग सम्बन्धित रहेको र प्रकृति, भूमि तथा देवीदेवताप्रति कृतज्ञता व्यक्त गर्ने परम्परा रहेको स्थानीयवासी देवकुमार राईले बताए ।

“पहिले व्यवस्थित पूजास्थलको अभावमा उँधौली, उभौलीलगायत सांस्कृतिक गतिविधि सञ्चालन गर्न समस्या हुने गरेको थियो”, उनले भने, “अहिले साकेवाथान निर्माण भएपछि पूजाआजा र साकेला नाचलगायत गतिविधि व्यवस्थित रूपमा सञ्चालन गर्न सहज भएको छ ।”

साकेवाथानले समुदायमा सामाजिक एकता र सद्भाव बढाउनसमेत सहयोग पुगेको स्थानीयवासीको भनाइ छ । चाडपर्व तथा सांस्कृतिक अवसरमा विभिन्न उमेर समूहका मानिस एकै ठाउँमा भेला भएर परम्परागत संस्कृतिको अभ्यास गर्ने भएकाले नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति र परम्पराबारे जानकारी गराउनसमेत सहयोग पुगेको उनीहरू बताउँछन् ।

साकेवाथान निर्माणसँगै छिनामखुमा सांस्कृतिक गतिविधि बढ्नुका साथै आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने स्थानीयको भनाइ छ । सांस्कृतिक महत्त्व बोकेको यस स्थललाई थप व्यवस्थित गरी प्रचारप्रसार गर्न सके धार्मिक तथा सांस्कृतिक पर्यटनका लागि आकर्षणको केन्द्र बनाउन सकिने स्थानीयवासी जीवन राईले बताए ।

किराँत समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानसँग जोडिएको साकेवाथानलाई व्यवस्थित सांस्कृतिकस्थलका रूपमा विकास गर्दै भावी पुस्तासम्म संस्कृति हस्तान्तरण गर्ने लक्ष्य राखिएको उनले बताए । वडा कार्यालयले आगामी दिनमा साकेवाथानको संरक्षण, आवश्यक पूर्वाधार विकास तथा प्रचारप्रसारका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

प्रकाशित समय : ०६:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु