काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

खानेपानी आयोजना पुनर्निर्माण सुरु पछि पलाएको आशा

1.28K
shares

काभ्रे । काभ्रेका बनेपा, धुलिखेल र पनौती नगरपालिकालाई लक्षित गरी अघि बढाइएको काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना पुनर्निर्माण प्रक्रिया सुरु गरिएको छ ।

यसअघि निर्माणको अन्तिम चरणमा पुगेको आयोजना दुई वर्षअघिको बाढीपहिरोबाट क्षतिग्रस्त भएपछि पुनर्निर्माण प्रक्रिया थालनी गरिएको हो । त्यस क्षेत्रका नागरिकलाई शुद्ध खानेपानी पु-याउने उद्देश्यका साथ सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा २० करोड बजेट विनियोजन गरेपछि आयोजनाको पुनर्निर्माण अघि बढाइएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा राम लामाका अनुसार आयोजना पुनर्निर्माण कार्यका लागि यही महिनामा बोलपत्र आह्वान गर्ने तयारी छ । आयोजना पुनर्निर्माणको दुई वर्षभित्र सम्पन्न गर्ने गरी प्रक्रिया अघि बढाइएको उनले बताए ।

आयोजना पुनःसञ्चालनको तयारीसँगै तीनवटै नगरपालिकाले पुरानो आर्थिक दायित्व व्यवस्थापनमा समेत चासो देखाएका छन् । बनेपा नगरपालिका प्रमुख तथा काभ्रे उपत्यका एकीकृत खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष शान्तिरत्न शाक्यका अनुसार स्थानीय तहको मात्र स्रोतबाट आयोजना पुनर्निर्माण सम्भव नभएपछि सङ्घीय सरकारसँग समन्वय गरिएको छ । पूर्वाधार मन्त्रालयअन्तर्गतको आयोजनाको पुनर्निर्माणका लागि ७९ करोडभन्दा बढीको लागत अनुमान गरिएको छ ।

मन्त्रालयबाट बोलपत्र आह्वानपछि ठेक्कामार्फत काम अघि बढ्ने र अहिले विनियोजित २० करोडपछि आवश्यकताअनुसार थप बजेटसमेत व्यवस्थापन हुने अपेक्षा रहेको उनले जानकारी दिए ।

बाढीबाट क्षति पुगेको पुरानो कार्यालय समेत पुनः सञ्चालनमा ल्याइएको अध्यक्ष शाक्यले बताए । कार्यालय सञ्चालनमा आएपछि प्रशासनिक, प्राविधिक तथा ठेक्का प्रक्रियाका काम अघि बढाउन सहज भएको छ । बनेपा, धुलिखेल र पनौतीलाई एउटै खानेपानी प्रणालीमा जोड्ने उद्देश्यले आयोजना अघि बढाइएको आयोजनाबाट करिब एक लाख ४० हजार जनसङ्ख्यालाई सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ । विभिन्न मुहानबाट करिब ७ हजार ७७३ लिटर प्रतिसेकेन्ड पानी सङ्कलन र प्रशोधन गरी वितरण गरिनेछ ।

यसअघि उक्त आयोजनाको निर्माणको समग्र भौतिक प्रगति ९६ दशमलव ६० प्रतिशत पुगिसकेकामा मुहान, इन्टेक, ट्याङ्की तथा मुख्य र शाखा पाइपलाइनमा क्षति पु-याएको थियो ।

आयोजनाको पुनर्निर्माण गर्न करिब ७९ करोड आवश्यक पर्ने अनुमानसहित बहुवर्षीय योजना अघि बढाइएको धुलिखेल नगरपालिकाका कार्यवाहक नगरप्रमुख निराजन जङ्गमले जानकारी दिए । चालु आर्थिक वर्षमा विनियोजित २० करोडबाट पहिलो चरणको काम सुरु गरी आवश्यक रकम क्रमशः व्यवस्थापन गर्दै अघि बढने उनले जानकारी दिए ।

पनौती नगरप्रमुख रामशरण भण्डारीका अनुसार आयोजना तीनवटै नगरका नागरिकको साझा सरोकार भएकाले सामूहिक प्रयासमा सम्पन्न गरिने प्रतिक्रिया दिए । आयोजना दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।