काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

इटहरीमा हुँदैछ सीप तथा रोजगार मेला

1.2K
shares

काठमाडौं । सरकारले कोशी प्रदेशको इटहरीमा यहि असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला आयोजना गर्ने भएको छ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको जानकारी दिए ।

आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले मेलालाई उद्योग, रोजगारदाता, रोजगारी खोज्ने व्यक्ति, सीप तालिम दिने संस्था र करियर काउन्सिलिङ संस्थाबीच समन्वय गर्ने एकीकृत प्लेटफर्मका रूपमा अघि बढाएको बताए ।

उहाँले रोजगारदाताले कामदार नभेट्ने र कामदारले रोजगारदाता नभेट्ने अवस्थालाई अन्त्य गर्न दुवै पक्षलाई एउटै मञ्चमा ल्याउने गरी मेलाको अवधारणा अघि बढाइएको स्पष्ट पारे । मन्त्री यादवका अनुसार मेलामा रोजगारदाता र रोजगारी खोज्ने व्यक्तिबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्ने व्यवस्था गरिएको छ ।

मन्त्रालयका अनुसार मेलामा उद्योग, सेवा, कृषि, निर्माणलगायत १० विधाका ६५ वटा स्टल रहनेछन् । मेलामा कोशी प्रदेशका १३७ स्थानीय तह, निजी क्षेत्र, तीनै तहका सरकार तथा विकास साझेदारको सहभागिता रहनेछ ।

सुनसरी–मोरङ औद्योगिक करिडोरमा पर्ने विराटनगर, धरान, इटहरी, इनरुवा, सुन्दरहरैँचा, दुहबी, कटहरी, बूढीगङ्गा र गढीलगायत कोशी प्रदेशका सबै १३७ स्थानीय तह, निजी क्षेत्र तथा तीनै तहका सरकार र विकास साझेदारको सहभागिता र सहकार्यमा मेला आयोजना गर्न लागिएको हो ।

‘माग, सीप तालिम र रोजगार’लाई एउटै प्रणालीमा आबद्ध गरी आवश्यकताका आधारमा सीप तालिम सञ्चालन गर्ने र रोजगारी सुनिश्चित गर्ने मेलाको मुख्य अवधारणा रहेको मन्त्रालयका सचिव डा दीपक काफ्लेले बताए ।

‘सीप र रोजगारीः साझा जिम्मेवारी’ भन्ने नाराका साथ उत्पादनशील रोजगारी सिर्जना, सीप विकास तथा श्रम बनारको मागअनुसार दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले मेला आयोजना गरिदैछ । मेलामा सीप तालिम दिने संस्था, करियर काउन्सिलिङ संस्था तथा प्रेरणात्मक वक्ताको समेत सहभागिता रहने बताइएको छ ।

मन्त्रालयका अनुसार मेलाका लागि सयौँ प्रतिष्ठान तथा उद्योगसँग समन्वय गरिएको र निजी क्षेत्रबाट सहयोग तथा सहभागिताका लागि लिखित प्रतिबद्धतासमेत प्राप्त भइसकेको छ । इटहरीबाट सुरु हुने मेला अन्य प्रदेशमा पनि सञ्चालन गरिनेछ ।

सीप तथा रोजगार कार्यविधि स्वीकृत गरी कार्यक्रमलाई संस्थागत गरेको र अब प्रत्येक वर्ष मेला आयोजना गरिने मन्त्रालयले जनाएको छ । सरकारले राष्ट्रिय रोजगार नीति २०८३ र राष्ट्रिय रोजगार ऐनलाई अघि बढाउने तयारी समेत गरेको छ ।

मन्त्री यादवले राष्ट्रिय रोजगार नीति २०८३ को सैद्धान्तिक सहमति लिएर मन्त्रिपरिषद्मा पठाउने तथा राष्ट्रिय रोजगार ऐन पनि मन्त्रिपरिषद्मा सहमतिका लागि पठाउने तयारी भइरहेकोे जानकारी दिए । उनका अनुसार यसै वर्ष १२ वटा ‘मुख्य’ रोजगार कार्यक्रम सञ्चालन गर्ने तयारी पनि गरिएको छ ।

मन्त्री यादवले आन्तरिक रोजगारी लामो समयदेखि उपेक्षित रहेको उल्लेख गर्दै युवाले आफ्नै देशमा रोजगारी तथा स्वरोजगारीको अवसर पाउने वातावरण निर्माण गर्नु सरकारको प्राथमिकता रहेको बताए । आन्तरिक रोजगारीका कार्यक्रम कार्यान्वयनका लागि छुट्टै कार्यान्वयनकारी निकायको आवश्यकता रहेको उनको भनाइ थियो ।