गृहपृष्ठ पोखरामा यसरी गरिँदैछ ‘फ्लाई दुबई’लाई स्वागत

पोखरामा यसरी गरिँदैछ ‘फ्लाई दुबई’लाई स्वागत

पोखरामा यसरी गरिँदैछ ‘फ्लाई दुबई’लाई स्वागत

गण्डकी । दुबई अन्तरराष्ट्रिय विमानस्थलबाट पाँच घण्टाको उडान अवधि पार गर्दै फ्लाई दुबईको बोइङ ७३७ म्याक्स जहाज आज साँझ ६ः१५ बजे पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछ । दुबई–पोखरा–दुबई नियमित व्यावसायिक उडानअन्तर्गत पहिलोपटक पोखरा अवतरण गर्न लागेको फ्लाई दुबईको जहाजलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा स्वागतका लागि विशेष तयारी गरिएको छ ।

विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जहाज अवतरण हुँदासाथ पानीको फोहराले स्वागत गरिने जानकारी दिए । यात्रुको स्वागतमा सरकारी अधिकारी, पर्यटन सम्बद्ध सङ्घसंस्थाका प्रतिनिधिलगायत सहभागी रहने उनले बताए । “पहिलो उडानबाट पोखरा आउने यात्रुको स्वागतसँगै पोखरादेखि दुबई जाने यात्रुको बिदाइ पनि गरिनेछ”, महाप्रबन्धक निरौलाले भने।

फ्लाई दुबईले दुबई–पोखरा–दुबई सीधा उडान सेवा सुरु गरेका अवसरमा पोखरामा आयोजना गर्न लागिएको औपचारिक स्वागत समारोह भने संयुक्त अरब इमिरेट्स (यूएई) का राजपरिवारका सदस्य शेख अहमद बिन राशिद अल मक्तुमको निधन भएका कारण रद्द गरिएको छ । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीका अध्यक्ष सङ्गीता पौडेलले पहिले पोखरादेखि दुबई जाने यात्रुलाई बिदाइ गरिने बताए।

नेपाल पर्यटन बोर्डको सहयोगमा दुबईबाट पोखरा आउने र पोखरादेखि दुबई जाने यात्रुहरुलाई विशेष उपहार प्रदान गरिने उनको भनाइ छ । “नाट्टामा आबद्ध व्यवसायीहरु, होटल तथा रेष्टुराँ व्यवसायीहरुले पनि उपहारसहित यात्रुहरुलाई आफ्नो व्यवसायको प्रवर्द्धनात्मक सामग्रीहरु प्रदान गर्नुहुनेछ”, अध्यक्ष पौडेलले भने, “सो अवसरमा फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई लक्ष्य गरी ल्याइएका विभिन्न छुट योजनाबारे पनि जानकारी गरानेछ ।”

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फ्लाई दुबईको नियमित उडानसँगै पोखरा अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोडिएको बताए । उनले यस उडानबाट पोखराको पर्यटन, व्यापार तथा अन्तरराष्ट्रिय आवागमन थप सहज हुने विश्वास व्यक्त गरे। पोखरा–दुबई सीधा उडानले पर्यटकीय राजधानी पोखरा मात्र नभएर मुलुककै सिङ्गो पर्यटन क्षेत्रलाई लाभ पु-याउने प्रमुख आचार्यको भनाइ छ ।

नियमित उडान तालिकाअनुसार साँझ ६ः१५ बजे अवतरण गरेको फ्लाई दुबईको जहाज आजै साँझ ७ः१५ बजे यात्रु र कार्गो लिएर दुबईका लागि उड्ने विमानस्थलका महाप्रबन्धक निरौलाले बताए । अन्तरराष्ट्रिय मापदण्डअनुसार फ्लाई दुबईको उडान सेवा सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको उनको भनाइ छ ।

विश्वव्यापी हवाई ट्रान्जिट हब दुबईसम्मको सीधा उडानले पोखरालाई अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोड्ने जनाइएको छ । विश्वका एक सय २० भन्दा बढी गन्तव्यमा फ्लाई दुबईले सीधा उडान गर्दै आएको छ । फ्लाई दुबई र इमिरेट्स एयरलाइन्सबीच रणनीतिक कोडसेयर साझेदारीअन्तर्गत दुबई–पोखरा–दुबई उडान सेवा सञ्चालन हुनेछ । पोखरादेखि अष्ट्रेलिया, युरोप वा अमेरिकी सहरहरुमा पुग्ने यात्रुहरुले एउटै टिकटबाट यात्रा गर्न सक्ने र गन्तव्यसम्म पुग्दा कुनै झण्झट नुहने बताइएको छ ।

प्रकाशित समय : १६:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु