५ हजारलाई स्वरोजगार बनाउने लक्ष्यसहित ‘भेट्रा एरोन’ इलेक्ट्रिक स्कुटर सार्वजनिक
वि.सं.२०८३ असोज ४ आइतवार १४:४४
shares

काठमाडौं । ५ हजार जनालाई स्वरोजगारमा जोड्ने लक्ष्यसहित तपाईंको बजारले राइड सेयरिङका लागि ‘भेट्रा एरोन’ इलेक्ट्रिक स्कुटर नेपालमा सार्वजनिक गरेको छ।
तपाईंको बजार र Vetra Motors Pvt. Ltd. को सहकार्यमा सार्वजनिक गरिएको स्कुटरको मूल्य ३ लाख ८० हजार रुपैयाँ तोकिएको छ। राइड सेयरिङमा आबद्ध राइडरलाई सवारीसाधन भाडामा उपलब्ध गराउनेभन्दा आफ्नै सवारीसाधनको मालिक बनाउने उद्देश्यले योजना ल्याइएको कम्पनीले जनाएको छ।
योजनाअन्तर्गत राइडरले शून्य डाउनपेमेन्टमा इलेक्ट्रिक स्कुटर लिन सक्नेछन्। दैनिक आम्दानीबाट किस्ता तिर्दै स्कुटरको स्वामित्व हासिल गर्न सकिने कम्पनीको दाबी छ।
हाल बजारमा राइड सेयरिङका लागि विभिन्न कम्पनीले दैनिक ८ सयदेखि १ हजार रुपैयाँसम्ममा बाइक तथा स्कुटर भाडामा उपलब्ध गराउँदै आएका छन्। सोही हाराहारीको रकममा राइडरलाई आफ्नै स्कुटरको मालिक बनाउने उद्देश्यले योजना अघि बढाइएको तपाईंको बजारले जनाएको छ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ सहभागी थिए। उनले विद्युतीय सवारीसाधनको प्रयोग विस्तारसँगै स्वदेशमै रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना गर्न यस्ता पहलले योगदान पुर्याउने बताए।
तपाईंको बजारकी प्रमुख कार्यकारी अधिकृत माया लामाले ५ हजार जनालाई स्वरोजगारमा जोड्ने लक्ष्यसहितको योजना दुई वर्षअघि नै सुरु गरिएको बताइन्। विभिन्न कारणले योजना अघि बढाउन नसकिए पनि अहिले बेस्ट फाइनान्स र याङ्गोको सहकार्यमा कार्यक्रम सुरु गर्न सफल भएको उनले जानकारी दिइन्।
लामाका अनुसार राइड सेयरिङ क्षेत्रमा विद्युतीय स्कुटरको प्रयोग बढाउँदै छुट्टै विद्युतीय राइडिङ इकोसिस्टम विकास गर्ने कम्पनीको योजना छ। साथै, नेपालभर अधिकृत डिलर नियुक्तिका लागि आवेदन खुला गरिएको उनले बताइन्।
कम्पनीका अनुसार ‘भेट्रा एरोन’ले एकपटक पूर्ण चार्ज गर्दा २५० किलोमिटरभन्दा बढी रेन्ज दिने दाबी गरिएको छ। नेपाली सडक तथा भूगोललाई लक्षित गरी तयार गरिएको स्कुटरमा १६५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, ५ हजार वाटको मोटर र १२० एम्पियर क्षमताको एलएफपी ब्याट्री रहेको कम्पनीले जनाएको छ।
विशेषगरी राइड सेयरिङ तथा राइड–हेलिङ व्यवसायलाई लक्षित गरी स्कुटर तयार गरिएको कम्पनीको भनाइ छ। भेट्रा मोटर्सका निर्देशक मनिष श्रेष्ठले नेपाली सडकका उकाली–ओरालीलाई ध्यानमा राखेर स्कुटर विकास गरिएको बताए।
राइडरलाई सहज रूपमा विद्युतीय स्कुटर उपलब्ध गराउने उद्देश्यले पानीपोखरीस्थित तपाईंको बजारको कार्यालयमार्फत शून्य डाउनपेमेन्टमा स्कुटर उपलब्ध गराउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ। यसका लागि तपाईंको बजार र बेस्ट फाइनान्सबीच सहकार्य भएको छ।
तपाईंको बजारका प्रबन्ध निर्देशक सुशिल सङ्ग्रौलाले कम्पनीले हाल नेपालभर इलेक्ट्रिक भ्यान तथा इलेक्ट्रिक बसमा वित्तीय सुविधा र बिक्री–वितरण गर्दै आएको बताए। राइड सेयरिङका लागि इलेक्ट्रिक स्कुटर उपलब्ध गराउने योजना त्यसैको अर्को विस्तार भएको उनको भनाइ छ।
कम्पनीका अनुसार योजनामार्फत विद्युतीय सवारीसाधनको प्रयोग विस्तार गर्नुका साथै राइड सेयरिङ क्षेत्रमा रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना गर्ने लक्ष्य राखिएको छ।
‘भेट्रा एरोन’ सम्बन्धी सुविधा तपाईंको बजारका पानीपोखरी, बुटवल र बिर्तामोडस्थित शोरुमबाट लिन सकिने कम्पनीले जनाएको छ। योजनामा सहभागी हुन राइडरले राष्ट्रिय परिचयपत्र, प्यान कार्ड, सवारीचालक अनुमतिपत्र (लाइसेन्स) र फोटो बुझाउनुपर्नेछ।
कम्पनीले राइड सेयरिङलाई थप व्यवस्थित र विद्युतीयमैत्री बनाउने लक्ष्यसहित ‘भेट्रा एरोन’लाई बजारमा ल्याइएको जनाएको छ।

























