गृहपृष्ठ एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन
एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन
आयोजक जापानले बीसौँ एसियाली खेलकुदको पहिलो स्वर्ण पदक जितेको छ । प्रतियोगिताको उद्घाटनका दिन चीनकी १३ वर्षीया पौडीबाज यु जिदीले पनि उत्कृष्ट प्रदर्शन गर्दै महिला २०० मिटर बटरफ्लाइको छनोट चरणमा सबैभन्दा छिटो समय निकालेकी छन् ।
जापानका ताकुमी होजोले नागोयाको गामागोरीमा भएको पुरुष व्यक्तिगत ट्रायथलनमा स्वर्ण जिते । चीनका झाङ सि रुईले रजत तथा काजाकिस्तानका अर्लान झानाबेले कास्य पदक जिते । होजोले ७५० मिटर पौडी, २० किलोमिटर साइकल यात्रा र ५ किलोमिटर दौड ५२ मिनेट ५६ सेकेन्डमा पूरा गरे ।
“यो हाम्रो पहिलो स्वर्ण पदक भएकाले यसले जापानी टोलीको मनोबल उच्च बनाएको छ”, ३० वर्षीय होजोले भने । उनको जितले सन् २०२८ को लस एन्जलस ओलम्पिकका लागि छनोटको अवसरसमेत सुनिश्चित गरेको छ ।
महिला व्यक्तिगत ट्रायथलनमा भने चीनकी लिन सिन्युले ५७ मिनेट ३७ सेकेन्डमा स्वर्ण जितिन् । उनकी हमवतन हुआङ आन्की दोस्रो तथा जापानकी मानामी हायासी तेस्रो भइन् ।
पौडीमा अर्को महिना १४ वर्ष पुग्न लागेकी यु जिदीले महिला २०० मिटर बटरफ्लाइको छनोट चरणमा आफ्नै देशकी चाङ मोहनलाई करिब दुई दशमलव ७० सेकेन्डले पछि पारिन् । उनी आइतबार हुने फाइनलमा स्वर्णको दाबेदार बनेकी छन् ।
पुरुष १०० मिटर फ्रिस्टाइलमा विश्व कीर्तिमानधारी तथा ओलम्पिक च्याम्पियन चीनका पान झानलेले ४८ दशमलव ०७ सेकेन्डमा सबैभन्दा छिटो समय निकाल्दै फाइनलमा स्थान बनाए । उनी दक्षिण कोरियाका ह्वाङ सन–वुभन्दा शून्य दशमलव ०६ सेकेन्डले मात्र अगाडि रहे ।
नागोयास्थित ३० हजार दर्शक क्षमताको रङ्गशालामा शनिबार जापानका सम्राट नारुहितोले प्रतियोगिताको औपचारिक उद्घाटन गरे । अक्टोबर ४ सम्म चल्ने प्रतियोगितामा ४६९ स्वर्ण पदकका लागि एसियाभरका खेलाडीले ४० भन्दा बढी खेलमा प्रतिस्पर्धा गर्नेछन् ।
आयोजकले खर्च घटाउन परम्परागत खेलाडी गाउँ निर्माण नगरेका कारण ११ हजारभन्दा बढी खेलाडी र छ हजार अधिकारीको व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । सहभागीहरू होटल, अस्थायी आवास तथा ‘कोस्टा सेरेना’ क्रुज जहाजमा बसिरहेका छन् ।
यातायातको समस्याका कारण केही खेलाडी विमानस्थलमै अलपत्र परेको र अस्थायी आवासको गुणस्तरबारे टोलीहरूले गुनासो गरेको जनाइएको छ । यसैबीच, दक्षिण कोरियाली पुरुष हक्की टोलीको खेलअघि गल्तीले उत्तर कोरियाको राष्ट्रिय गान बजाइएको घटनामा आयोजकले माफी मागेको छ । प्रतियोगितामा एथलेटिक्स र पौडीजस्ता ओलम्पिकका प्रमुख खेलसँगै सेपाक ताक्रो र कबड्डीजस्ता क्षेत्रीय खेल पनि समावेश छन् ।
प्रकाशित समय : १४:४९ बजे


















