गृहपृष्ठ सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’
सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’
काठमाडौं । अस्ट्रेलियाको सिड्नीमा बस्दै आएकी गीतकार यशोदा सापकोटा कार्कीको शब्दमा तयार भएको पहिलो तीज गीत ‘ए मैना सुनन’ सार्वजनिक भएको छ। नेपाली संस्कृति, परम्परा तथा आमा–छोरीबीचको आत्मीय सम्बन्धलाई केन्द्रमा राखिएको गीत आगामी तीज पर्वलाई लक्षित गरी सार्वजनिक गरिएको हो।
पछिल्लो १२ वर्षदेखि सिड्नीस्थित एक सार्वजनिक अस्पतालमा रजिस्टर्ड नर्सका रूपमा कार्यरत कार्की तीन सन्तानकी आमा तथा व्यवसायीसमेत हुन्। प्रवासको व्यस्त जीवनका बीच पनि नेपाली भाषा, संस्कृति र परम्परासँगको सम्बन्धलाई संगीतमार्फत निरन्तरता दिने उद्देश्यले उनले पहिलोपटक तीज गीत सिर्जना गरेकी हुन्।
‘ए मैना सुनन’मा निशा कँडेलको स्वर, यशोदा सापकोटा कार्कीको शब्द र टिका दहालको संगीत रहेको छ। गीतको एरेन्ज अल्मोडा रानाउप्रेतीले गरेका छन् भने मिक्सिङ तथा मास्टरिङ रङ्गीत बल्लभ उप्रेतीले गरेका हुन्।
गम्भीर बिष्टको निर्देशनमा तयार भएको गीतको भिडियोमा मोडल बिना राउतको अभिनय रहेको छ। पुनम श्रेष्ठको कोरियोग्राफी रहेको भिडियोमा देवदोर्जे लामाको छायांकन, मणिक पाख्रिनको आर्ट डाइरेक्सन तथा प्रबिन भट्टको सम्पादन र कलर संयोजन छ।
भिडियोमा तीजको सांस्कृतिक पक्षसँगै आमा र छोरीबीचको भावनात्मक सम्बन्धलाई प्रस्तुत गरिएको छ। तीजका अवसरमा नेपाली महिलाले माइती, परिवार तथा प्रियजनसँग साट्ने आत्मीयता र भावनालाई गीतमार्फत समेटिएको निर्माण पक्षले जनाएको छ।
नियरबाइ क्याटरिङ र नीका टेक्नोलोजीको संयुक्त लगानीमा निर्माण भएको भिडियो ‘नेपाल क्युब’ (Nepal Cube) युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
प्रवासमा रहे पनि नेपाली माटो, मौलिकता, भाषा–संस्कृति र पारिवारिक सम्बन्धसँग जोडिइरहने नेपालीको भावनालाई गीतमार्फत प्रस्तुत गर्ने प्रयास गरिएको गीतकार कार्कीले बताएकी छन्।
प्रकाशित समय : ११:२४ बजे
















