गृहपृष्ठ भारी वर्षाकाबीच नाइमा एक्स्पोमा तीन दिनमै ७७ हजारभन्दा बढी अवलोकनकर्ता
भारी वर्षाकाबीच नाइमा एक्स्पोमा तीन दिनमै ७७ हजारभन्दा बढी अवलोकनकर्ता
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा भारी वर्षाका बीच पनि अवलोकनकर्ताको उल्लेख्य भीड देखिएको छ। एक्स्पोको तेस्रो दिनसम्म ७७ हजारभन्दा बढीले मेला अवलोकन गरेका छन्।
नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा मंगलबारदेखि सुरु भएको एक्स्पोमा पहिलो दिन २९ हजार, दोस्रो दिन २६ हजार र तेस्रो दिन २२ हजारभन्दा बढी अवलोकनकर्ता पुगेका हुन्।
एक्स्पोमा ५५ भन्दा बढी ब्रान्डका सवारीसाधन प्रदर्शनीमा राखिएका छन्। विभिन्न कम्पनीले नयाँ मोडल सार्वजनिक गर्दै ग्राहक आकर्षित गरिरहेका छन्। चारपाङ्ग्रे तथा दुईपाङ्ग्रे सवारीसाधनका विकल्प धेरै भएकाले आफूअनुकूल सवारी छनोट गर्न सहज भएको अवलोकनकर्ताले बताएका छन्।
ललितपुरको भैंसेपाटीका विक्रम सुवेदीले आफ्नो बजेटअनुसारका विभिन्न सवारीसाधन एउटै स्थानमा हेर्न पाउनु एक्स्पोको विशेषता रहेको बताए।
‘१६–१७ लाखदेखि तीन करोड रुपैयाँभन्दा बढी मूल्यका चारपाङ्ग्रे सवारीसाधन प्रदर्शनीमा रहेछन्,’ उनले भने, ‘आफ्नो बजेटअनुसारको गाडी रोज्न पाउनु राम्रो अवसर हो।’
दुईपाङ्ग्रे सवारीसाधनको स्टलमा पनि युवाको उल्लेख्य भीड देखिएको छ। विशेषगरी प्रिमियम तथा महँगा ब्रान्डका मोटरसाइकल र स्कुटरमा युवाको आकर्षण बढी देखिएको आयोजकले जनाएको छ।
ब्याट्री, रेन्जदेखि आफ्टर–सेल्ससम्म चासो
अवलोकनकर्ताले आफ्नो बजेट र आवश्यकता अनुसार सवारीसाधन छनोटसँगै ब्याट्री क्षमता, मोटर, ड्राइभिङ रेन्ज, आफ्टर–सेल्स सर्भिस, ब्याट्रीको वारेन्टी/ग्यारेन्टी र रिसेल भ्यालुबारे चासो राखिरहेका छन्।
ग्राहक आकर्षित गर्न विभिन्न कम्पनीले पनि छुट तथा सहुलियत योजना सार्वजनिक गरेका छन्। कतिपय कम्पनीले मूल्यमा छुट, एक वर्षको बीमा, एक वर्षको सवारी कर, निःशुल्क सर्भिसिङ र सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराइरहेका छन्।
एक्स्पोमा हालसम्म विभिन्न ब्रान्डले ५२ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरिसकेका छन्। आयोजकले एक्स्पो अवधिभर करिब डेढ लाख अवलोकनकर्ता पुग्ने अपेक्षा गरेको छ।
अटो फाइनान्सिङ र बीमामाथि संवाद
एक्स्पोअन्तर्गत बिहीबार आयोजित ‘नाइमा मोबिलिटी संवाद’ मा ‘Mobilizing Mobility through Finance & Insurance’ विषयमा छलफल तथा अन्तर्क्रिया गरिएको छ।
उद्यमी एवं वित्तीय साक्षरता विज्ञ सञ्जोग कोइरालाको सहजीकरणमा भएको संवादमा नेपाल राष्ट्र बैंकका निर्देशक सत्येन्द्र सुवेदी, ग्लोबल आइएमई बैंकका चिफ मार्केटिङ अफिसर राजा अर्याल, एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त र हुलास फिनसर्भ हायर पर्चेजका प्रमुख कार्यकारी अधिकृत समिर ठाकुर सहभागी थिए।
त्यसअघि बुधबारको ‘Learning Sessions’ मा ‘मोबिलिटी : हिजो, आज र भोलि’ विषयमा छलफल गरिएको थियो। एक्स्पोको पहिलो दिन ‘Investment and Foreign Direct Investment (FDI): Mobilizing Fuel for Economic Growth’ विषयमा संवाद भएको थियो।
एक्स्पो अवधिभर स्वदेशी तथा विदेशी विज्ञको सहभागितामा विभिन्न विषयमा ‘नाइमा मोबिलिटी संवाद’ सञ्चालन हुने आयोजकले जनाएको छ।
हरित र प्रविधिमैत्री यातायातमा जोड
नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पोको यो दोस्रो संस्करण हो। ६ दिनसम्म चल्ने एक्स्पो साउन ३१ गतेसम्म सञ्चालन हुनेछ।
एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको सहभागिता छ। नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्डदेखि नयाँ विद्युतीय कार, ई–स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन एक्स्पोका मुख्य आकर्षण बनेका छन्।
सवारी खरिदलाई सहज बनाउन बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले पनि विभिन्न विशेष अफर तथा सहुलियत कर्जा उपलब्ध गराएका छन्।
एक्स्पोमा ग्लोबल आइएमई बैंक को–स्पोन्सरका रूपमा रहेको छ भने रेडबुल ‘Powered by’ पार्टनरका रूपमा रहेको छ। एनएमबी बैंक र सिद्धार्थ बैंक बैंकिङ पार्टनर तथा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) र एनएलजी इन्स्योरेन्स इन्स्योरेन्स पार्टनरका रूपमा रहेका छन्।
त्यस्तै, बोस्च (BOSCH) टेक्नोलोजी पार्टनर, ग्लोबल कलेज र एम्बार्क कलेज एजुकेसन पार्टनर, अग्नि इनर्जी र अजायल इन्जिनियरिङ सोलुसन्स चार्जिङ पार्टनर तथा पठाओ नेपाल राइड पार्टनरका रूपमा रहेका छन्। अक्वा मिनरल्स (अक्वा हन्ड्रेड), द सोल्टी काठमाडौं, ग्रान्डी इन्टरनेसनल हस्पिटल, भत्सल इम्पेक्स (हिकभिजन) र हिट्को क्रमशः हाइड्रेसन, हस्पिटालिटी, मेडिकल, सर्भिलियन्स तथा फायर एन्ड सेफ्टी पार्टनर रहेका छन्।
आइएमई खल्ती को–टिकेटिङ पार्टनर, युनियन पे क्यूआर पार्टनर, पायनियर इभेन्ट म्यानेजमेन्ट एन्ड मिडिया नेटवर्क अडियो–भिजुअल पार्टनर, डिजिपल सोलुसन्स डिजिटल पार्टनर, एटीएस नेपाल भेइकल सेफ्टी पार्टनर, मिडिया स्पेस सोलुसन्स म्यानेजमेन्ट पार्टनर, वर्ल्डलिंक कम्युनिकेसन्स कनेक्टिभिटी पार्टनर तथा प्रफिट मिडिया पब्लिकेसन पार्टनर रहेका छन्।
प्रकाशित समय : ०८:४७ बजे


















