गृहपृष्ठ नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरूको विशेष अफर, स्टलमै आवेदनको सुविधा
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरूको विशेष अफर, स्टलमै आवेदनको सुविधा
काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा सहभागी बैंकहरूले सवारीसाधन खरिदका लागि विशेष ब्याजदर र सहुलियतसहितको अटो लोन योजना ल्याएका छन्। एक्स्पोका को–स्पोन्सर ग्लोबल आइएमई बैंक तथा बैंकिङ पार्टनर सिद्धार्थ बैंक र एनएमबी बैंकले मेलास्थलमै कर्जा सम्बन्धी जानकारी तथा आवेदनको सुविधा उपलब्ध गराएका हुन्।
मेलामा आफूलाई मन परेको सवारीसाधन छनोट गरेपछि अवलोकनकर्ता बैंकका स्टलमा पुगेर कर्जाका लागि नाम दर्ता गराउने र आवेदन प्रक्रिया अघि बढाउने गरेका छन्। बैंकहरूले आधारदरमा ०.५ प्रतिशतदेखि १ प्रतिशतसम्म प्रिमियममा कर्जा उपलब्ध गराइरहेका छन्। सेवा शुल्क भने ०.५ प्रतिशतसम्म रहेको बैंकहरूले बताएका छन्।
एक्स्पोको तेस्रो दिनसम्म अवलोकनकर्ताको संख्या बढ्दै जाँदा बैंकका स्टलमा पनि कर्जा सम्बन्धी जानकारी लिन आउने ग्राहकको भीड बढेको छ।
ग्लोबल आइएमई बैंकका एसएमई तथा रिटेल बैंकिङ म्यानेजर मञ्जिल विष्टले सवारीसाधन छनोट गरेपछि कर्जाका लागि बैंकको स्टलमा आउने ग्राहकको संख्या उल्लेख्य रहेको बताए।
‘गाडी छनोट गरिसकेपछि हाम्रो स्टलमा आएर कर्जाका लागि नाम टिपाउने तथा क्यूआर स्क्यान गरेर आवेदन दिनेहरूको संख्या बढिरहेको छ,’ उनले भने, ‘सवारी विक्रेता कम्पनीहरूले ल्याएका आकर्षक अफरलाई सहयोग पुग्ने गरी बैंकले पनि कर्जा प्रक्रियामा सहजीकरण गरिरहेको छ।’
बैंकका स्टलले एक्स्पोमा कर्जाका लागि नाम दर्ता गराएका ग्राहकलाई सम्बन्धित शाखासम्म जोड्ने कामसमेत गरिरहेका छन्।
सिद्धार्थ बैंकका लाजिम्पाट शाखा प्रबन्धक विष्णुप्रसाद शर्माका अनुसार एक्स्पोमा संकलन भएका ग्राहकका विवरण केन्द्रीय कार्यालयमा पठाउने र त्यसपछि ग्राहकलाई सम्बन्धित शाखासँग जोड्ने गरिएको छ। ‘कतिपय अवलोकनकर्तालाई हामीले सिधै शाखासँग जोडिदिने गरेका छौं,’ उनले भने। उनका अनुसार सवारीसाधन छनोट गरेपछि कर्जाका लागि नाम दर्ता गर्ने ग्राहकको संख्या दिनहुँ बढिरहेको छ।
एनएमबी बैंकले पनि एक्स्पोमा आउने ग्राहकलाई मेलास्थलबाटै कर्जा प्रक्रियामा सहजीकरण गरिरहेको जनाएको छ। बैंककी रिलेसनसिप म्यानेजर समीक्षा पन्तले नाइमा एक्स्पोलाई लक्षित गरेर ब्याजदर परिमार्जन गरिएको बताइन्।
‘हामीले मेला अवलोकनकर्तालाई आकर्षक ब्याजदरमा कर्जा उपलब्ध गराउन सहजीकरण गरिरहेका छौं,’ उनले भनिन्, ‘नाइमालाई लक्षित गरेर ब्याजदर रिभाइज गरेका हौं। ग्राहकको प्रतिक्रिया पनि राम्रो आइरहेको छ।’
नयाँ विद्युतीय सवारी मुख्य आकर्षण
नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको नाइमा नेपाल मोबिलिटी एक्स्पोको दोस्रो संस्करण साउन ३१ गतेसम्म सञ्चालन हुनेछ।
एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको उल्लेख्य सहभागिता रहेको छ। नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्डदेखि नयाँ मोडलका विद्युतीय कार, ई–स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन एक्स्पोका मुख्य आकर्षण बनेका छन्।
सवारीसाधन कम्पनीका आकर्षक अफर र बैंकहरूको सहुलियतपूर्ण कर्जा योजनाले एक्स्पोमा सवारी खरिद गर्न चाहने ग्राहकलाई थप सहज बनाएको छ।
प्रकाशित समय : ०८:५१ बजे


















