गृहपृष्ठ अटो फाइनान्सिङमा कर्जा विस्तारसँगै जोखिम व्यवस्थापन र बीमा दाबी सुधारमा जोड
अटो फाइनान्सिङमा कर्जा विस्तारसँगै जोखिम व्यवस्थापन र बीमा दाबी सुधारमा जोड
काठमाडौं । नेपालमा अटो फाइनान्सिङतर्फ कर्जा प्रवाह बढ्दै गएसँगै जोखिम व्यवस्थापन, कर्जा प्रक्रियाको सहजता र बीमा दाबी फर्छ्योटलाई प्रभावकारी बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।
‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को अवसरमा नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको ‘मोबिलाइजिङ मोबिलिटी थ्रु फाइनान्स एन्ड इन्स्योरेन्स’ विषयक ‘नाइमा मोबिलिटी संवाद’ मा सहभागी सरोकारवालाले अटो फाइनान्सिङको विस्तारसँगै जोखिम व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने बताएका हुन्।
नेपाल राष्ट्र बैंकका निर्देशक सत्येन्द्र सुवेदीले कर्जा प्रवाहमा जोखिम न्यूनीकरणका लागि ‘लोन टू भ्यालु रेसियो’ (एलटीभी) महत्वपूर्ण रहेको बताए। उनका अनुसार २००७/०८ को विश्वव्यापी वित्तीय संकटपछि बैंकको पुँजी मात्र पर्याप्त नहुने देखिएपछि एलटीभीको व्यवस्था गरिएको हो।
सुवेदीका अनुसार सुरुमा हायर पर्चेज कर्जामा ५० प्रतिशत एलटीभीको व्यवस्था रहेकामा अहिले विद्युतीय सवारीसाधन (ईभी) मा ८० प्रतिशत र आन्तरिक दहन इन्जिन (आईसीई) सवारीमा ६० प्रतिशत कायम गरिएको छ।
‘ब्याजदर बढ्दा ऋणीलाई पनि समस्या हुन्छ। त्यसबाट सुरक्षित रहन एलटीभी महत्वपूर्ण हुन्छ,’ उनले भने, ‘कर्जा भुक्तानीमा समस्या बढे आयातकर्ता, ऋणी र ऋणदाता सबै प्रभावित हुन सक्छन्।’
ईभीलाई ‘ग्रिन फाइनान्सिङ’ अन्तर्गत राखिएकाले त्यसमा एलटीभी केही सहज बनाइएको उनले बताए। एलटीभीको सीमा परिवर्तन भने राज्यको नीति र आवश्यकतामा निर्भर रहने उनको भनाइ छ।
सुवेदीले अटो कर्जा र हायर पर्चेज कर्जालाई एउटै रूपमा बुझ्न नहुने बताए। उनका अनुसार हायर पर्चेज कर्जामार्फत सवारीसाधनसँगै मोबाइल तथा घरायसी सामग्रीमा समेत कर्जा प्रवाह हुँदै आएको छ।
हाल कुल करिब ६० खर्ब रुपैयाँ कर्जामध्ये १ खर्ब ४२ अर्ब रुपैयाँ हायर पर्चेज कर्जाको हिस्सा रहेको उनले जानकारी दिए। गत वर्षको तुलनामा हायर पर्चेज कर्जा करिब १० प्रतिशतले बढेको पनि उनले बताए।
उनका अनुसार हायर पर्चेज कर्जाको खराब कर्जा कम रहेकाले बैंकहरू पनि तुलनात्मक रूपमा सहज रूपमा कर्जा दिन इच्छुक छन्। अटो कर्जामा तत्कालै ठूलो ‘क्रेडिट बबल’को जोखिम देखिए पनि राष्ट्र बैंकले एउटा क्षेत्रमा उत्पन्न समस्या अन्य क्षेत्रमा फैलिन नदिन निरन्तर निगरानी गरिरहेको उनले बताए।
बीमा दाबीमा प्रमाण र प्रक्रियालाई प्राथमिकता
एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले अटो बीमा दाबी फर्छ्योटमा समस्या रहेको भन्ने धारणा बने पनि त्यसको मुख्य कारण बीमा दाबीको प्रक्रिया र आधारभूत सिद्धान्तबारे पर्याप्त जानकारी नहुनु रहेको बताए।
उनका अनुसार क्षतिको सही विवरण, आवश्यक प्रमाण र सम्बन्धित कागजात उपलब्ध गराए दाबी फर्छ्योट प्रक्रिया सहज हुन्छ। बीमा ऐनअनुसार निष्पक्ष र पारदर्शी ढंगले दाबी फर्छ्योट गर्नुपर्ने उनको भनाइ छ।
बीमा दाबी छिटो फर्छ्योटका लागि नेपाल बीमा प्राधिकरणले आवश्यक निर्देशन दिइरहेको उल्लेख गर्दै पन्तले दाबीको अवस्था पनि डिजिटल ड्यासबोर्डमार्फत देखाउने व्यवस्था आवश्यक रहेको बताए।
उनले विद्युतीय सवारीसाधनको बीमामा ब्याट्रीको ह्रासकट्टीसम्बन्धी व्यवस्थाबारे पनि जानकारी दिए। उनका अनुसार ईभीको ब्याट्रीमा बीमाबाट ५० प्रतिशतसम्म मात्रै डिप्रिसिएसन कटौती हुने व्यवस्था छ।
बैंकको पहुँचबाहिरका ग्राहकलाई हायर पर्चेज कर्जा
हुलास फिनसर्भ हायर पर्चेज कम्पनीका प्रमुख कार्यकारी अधिकृत समिर ठाकुरले बैंकिङ प्रणालीमा सहज पहुँच नपुगेका ग्राहकलाई हायर पर्चेज कम्पनीमार्फत कर्जा उपलब्ध गराउने गरिएको बताए।
उनका अनुसार हायर पर्चेज कम्पनीले सवारीसाधनसँगै मोबाइल तथा घरायसी सामग्रीमा समेत कर्जा प्रवाह गर्दै आएका छन्। बैंकबाट कर्जा लिएर पुनः ग्राहकलाई कर्जा प्रवाह गर्ने यस्ता कम्पनीले हालसम्म करिब ४० अर्ब रुपैयाँ कर्जा प्रवाह गरिसकेको उनले जानकारी दिए।
पछिल्लो कर्जा प्रवाहमध्ये करिब ८० प्रतिशत सवारीसाधन र २० प्रतिशत मोबाइल खरिदमा गएको ठाकुरले बताए।
बैंकिङ प्रक्रियाका लागि आवश्यक कागजात पूरा गरेका ग्राहकलाई हायर पर्चेज कम्पनीले केही घण्टामै कर्जा उपलब्ध गराउन सक्ने उनको भनाइ छ। हायर पर्चेज कर्जा लिने ग्राहकमध्ये करिब ६० प्रतिशत ४० वर्षभन्दा कम उमेरका रहेको उनले बताए।
युवा पुस्तामा अटो कर्जाको आकर्षण
ग्लोबल आईएमई बैंकका चिफ मार्केटिङ अफिसर राजा अर्यालले स्थिर आम्दानी भएका ग्राहकमा हायर पर्चेज कर्जाको आकर्षण बढ्दै गएको बताए।
उनका अनुसार विगतमा सवारीसाधन खरिद गर्ने ग्राहकको औसत उमेर ४३ वर्ष आसपास रहेकामा अहिले घटेको छ। हाल हायर पर्चेज कर्जा लिने ग्राहकको करिब ६० प्रतिशत ४० वर्षभन्दा कम उमेरका रहेको उनले बताए। यसमा महिलाको सहभागिता पनि उल्लेख्य रहेको उनको भनाइ छ।
काठमाडौंमा कर्जाको माग सबैभन्दा बढी भए पनि अटो कर्जा विस्तार क्रमशः देशका अन्य सहरतर्फ समेत विकेन्द्रीकरण हुँदै गएको अर्यालले बताए। बैंकले काठमाडौं बाहिरका बजारमा समेत कर्जा पहुँच विस्तार गरिरहेको उनले जानकारी दिए।
सबै आवश्यक कागजात पूरा भएका ग्राहकलाई बैंकले छोटो समयमै कर्जा उपलब्ध गराउन सक्ने बताउँदै अर्यालले हायर पर्चेज कम्पनीमार्फत कर्जा प्रवाह गर्दा बैंकको जोखिम व्यवस्थापनमा समेत सहजता हुने बताए।
प्रकाशित समय : ०८:४५ बजे


















