गृहपृष्ठ ‘इसेवा ह्याकाथन २०२६’ सौराहामा आयोजना हुँदै
‘इसेवा ह्याकाथन २०२६’ सौराहामा आयोजना हुँदै
काठमाडौँ । नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले आगामी जेठ १५ देखि १७ गतेसम्म चितवनको सौराहामा ‘इसेवा ह्याकाथन २०२६’ आयोजना गर्ने भएको छ ।
वन्यजन्तु तथा वातावरण संरक्षण क्षेत्रमा क्रियाशील अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाWorld Wildlife Fund सँगको सहकार्यमा आयोजना हुन लागेको उक्त ह्याकाथनमा देशभरबाट छनोट भएका २० टोलीका ६३ जना युवाहरू सहभागी हुनेछन् ।
इसेवाले नवप्रवर्तन संस्कृति विकास, डिजिटल समाधानको खोजी तथा युवा उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले ह्याकाथन आयोजना गर्न लागिएको जनाएको छ ।
इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले युवाहरूमा समस्या समाधानमुखी सोच विकास गर्न, प्रविधिमैत्री समाधान निर्माण गर्न तथा दिगो विकासमा योगदान दिन ह्याकाथन प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
उनका अनुसार ह्याकाथनले डिजिटल प्रणाली विकास, साइबर सुरक्षा तथा वातावरणीय दिगोपनासम्बन्धी समाधान निर्माणका लागि डेभलपर, डिजाइनर तथा इन्नोभेटरहरूलाई एउटै मञ्चमा ल्याउनेछ ।
प्रतिस्पर्धी टोलीहरूले तत्काल प्रयोगमा ल्याउन सकिने फिनटेक डिजाइन तथा डिजिटल समाधानका प्रोटोटाइप प्रस्तुत गर्नेछन् । सहभागीहरूलाई फिनटेक, साइबर सुरक्षा तथा सूचना प्रविधि क्षेत्रका विज्ञहरूद्वारा प्रत्यक्ष मेन्टरसिप र मार्गदर्शन पनि प्रदान गरिने आयोजकले जनाएको छ ।
तीन दिनसम्म सञ्चालन हुने आवासीय प्रतियोगितामा उत्कृष्ट टोलीलाई आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ । प्रथम हुने टोलीले ३ लाख रुपैयाँ, द्वितीय हुने टोलीले २ लाख रुपैयाँ तथा तृतीय हुने टोलीले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
प्रकाशित समय : १७:२७ बजे



















