सहकारी ठगी प्रकरण : रवि लामिछानेको निवेदन न्यायाधीश फुँयालले नहेर्ने
वि.सं.२०८२ वैशाख ८ सोमवार १२:२४
shares

रवि लामिछानेले आफूलाई गैरकानुनी रुपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा दायर बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ नहुने भएको छ । न्यायाधीश हरिप्रसाद फुँयालले उक्त मुद्दा नहेर्ने भएपछि लामिछानेको निवेदनमाथि सुनुवाइ नहुने भएको हो ।
रविलाई गैरकानुनी थुनामा राखेको दाबी गर्दै उनका तर्फबाट श्रीमती निकिता पौडेलले आइतबार निवेदन दर्ता गराएकी थिइन् । उक्त निवेदनको प्रारम्भिक सुनुवाइका लागि आज न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा पेसी तोकिएको थियो । तर, न्यायाधीश फुँयालले उक्त मुद्दा नहेर्ने बताएका हुन् । यसअघि पनि आफूलाई थुनामा पठाउने उच्च अदालत बुटवलको आदेशविरुद्ध उनले सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।
उक्त निवेदनमा सर्वोच्चले उच्च अदालत र जिल्ला अदालतबाट कागजात झिकाइसकेको छ । बुटवलको सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा जिल्ला अदालत रुपन्देहीले रविलाई १ करोड धरौटीमा रिहा गरेको थियो । तर, उक्त आदेश उच्च अदालतले चैत २२ गते बदर गरेर थुनामै पठाउन भनेको थियो । त्यसपछि रविलाई काठमाडौँबाट पक्राउ गरी रुपन्देही कारागार लगिएको थियो ।

























