काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कोदो उत्पादन गर्ने कृषकलाई प्रोत्साहन रकम दिँदै पैंयुँ गाउँपालिका

3.51K
shares

रैथाने बालीको रूपमा रहेको कोदो उत्पादनतर्फ कृषकको आकर्षण बढाउन पर्वतका कृषकलाई अनुदान वितरण गरिने भएको छ । दक्षिण पर्वतको पैंयुँ गाउँपालिकाले कोदो उत्पादन गर्ने कृषकलाई प्रोत्साहन अनुदान वितरण गर्ने भएको हो । कोदोको माग दैनिकजसो बढ्दै गए पनि उत्पादनतर्फ कृषकको आकर्षण बढ्न नसकेपछि अनुदान दिएर कोदोको व्यावसायिक उत्पादनमा आकर्षित गर्न थालिएको पैंयुँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले जानकारी दिए ।

पालिकाभित्रका कृषक, कृषि फार्म, कृषक समूह वा सहकारीलाई उत्पादनको आधारमा प्रोत्साहन रकम वितरण गरिने भएको छ । कृषकलाई प्रोत्साहन गर्नका लागि चालु आर्थिक वर्षमा पाँच लाख रुपैयाँ विनियोजन गरिएको र यसको प्रभावकारिता हेरेर आगामी वर्ष थप गर्दै लैजाने योजना रहेको अध्यक्ष ठकुरीले बताए । अनुदान पाउनका लागि कम्तीमा पाँच रोपनी क्षेत्रफलभन्दा बढीमा कोदोखेती गर्नुपर्ने भएको छ ।

कृषकले कोदो बाली लगाउने जग्गाको लालपुर्जा र लिजमा लिएको भए करारनामा पालिकामा निवेदनसहित पेस गर्नुपर्ने पालिकाद्वारा प्रकाशित सूचनामा उल्लेख छ । चालु आर्थिक वर्ष २०८१/०८२ बाट लागू भएको यो कार्यक्रमलाई वर्षेनी वृद्धि गर्दै लैजाने पालिकाको योजना छ । पहिलेपहिले कोदोको ढिँडो, रोटी र खोले निकै कममात्रै पाक्थ्यो । पछिल्लो समय घरबाससँगै सहर बजारका ठूला–ठूला होटलका भान्छामा पनि ढिँडोको माग बढ्दै गएको छ ।

कोदोको माग बढ्दै जानथालेपछि व्यावसायिक रूपमा कोदोको खेती गर्नतर्फ कृषकलाई आकर्षण गर्न अनुदानमूलक कार्यक्रम संचालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन गैरेले जानकारी दिए । उनका अनुसार अनुदान पाउने भएपछि कृषक र कोदो खेतीको क्षेत्रफलसमेत वृद्धि हुने अपेक्षा गरिएको छ । धान, मकै, गुहँलगायतका बालीनाली जस्तै कोदोमा यान्त्रिकीकरणको विकास हुन नसक्दा कोदो खेतीतर्फ आकर्षण घट्दै गएको गैरेले बताए ।

पालिकाले प्रोत्साहन स्वरुप दिने रकमले कृषकलाई बारी खनजोत गर्न, कोदो रोप्न, काट्न, र थन्क्याउनका लागि केही राहत मिल्ने भएको छ । यसअघि कृषि ज्ञान केन्द्र पर्वतले पनि रैथाने बाली उत्पादन प्रवर्द्धन कार्यक्रम अन्तर्गत कोदो उत्पादन गर्ने कृषकलाई अनुदान दिन थालेको थियो । केन्द्रले चालु आर्थिक वर्षमा थप साढे २८ हेक्टर क्षेत्रफलमा कोदोखेती विस्तारका लागि सहयोग गरेको छ ।

कोदो खेतीगर्ने कृषकलाई यान्त्रिकरणमा सहयोग गरिएको कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख परशुराम अधिकारीले जानकारी दिए । उनका अनुसार गत आर्थिक वर्षमा पाँच लाख रुपैयाँ कोदो बालीको प्रवर्द्धनका लागि कृषकलाई वितरण गरिएको थियो । पर्वतमा गत आर्थिक वर्ष २०८०/८१ मा आठ हजार ३१० मेट्रिक टन कोदो उत्पादन भएको थियो । जसमध्ये पाँचहजार १७५ मेट्रिकटन कोदो निर्यात भएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।

जसबाट २३ करोड २८ लाख रुपैयाँ भित्र्याएको थियो । उत्पादित कोदोमध्ये तीन हजार १३५ मेट्रिक टन कोदो कृषकले खाद्यान्न, बीउ र गाईभैंसीको दानाको रूपमा प्रयोग गरेका थिए । रैथाने जातको कोदोको माग बढेपछि केही किसानले व्यावसायिक कोदो उत्पादनमा लागेका छन् । जिल्लाको सबै क्षेत्रमा कोदो उत्पादनका लागि उपयुक्त हावापानी रहेको कार्यालयले जनाएको छ ।

मुख्यगरी मधुमेह र ग्याष्ट्रिक रोगबाट पीडितले कोदोको परिकार बढी मात्रामा खाने गरेका छन् । अहिले ग्रामीण क्षेत्रमा उत्पादित कोदो स्थानीयले मदिरा बनाउन पनि प्रयोग गर्दै आएका छन् भने बजारमा विभिन्न परिकार बनाएर बिक्री गर्ने प्रचलन बढ्दै गएको कृषि ज्ञान केन्द्र पर्वतका बागवानी विकास अधिकृत शंकर पौडेलले बताए ।