गृहपृष्ठ ‘कृष्णप्रसाद भट्टराई अद्वितीय राजनीतिज्ञ’
‘कृष्णप्रसाद भट्टराई अद्वितीय राजनीतिज्ञ’
नेपाली कांग्रेसका संस्थापक एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई विश्वकै अद्वितीय राजनीतिज्ञमध्येमा पर्नुहुने भन्दै वक्ताहरुले उनलाई स्मरण गरेका छन् ।
भट्टराईको जन्म शताब्दीका अवसरमा सन्तनेता कृष्णप्रसाद भट्टराई केन्द्रले आज आयोजना गरेको कार्यक्रममा वक्ताहरुले विश्वका अन्य कुनै राजनीतिज्ञले प्रधानमन्त्री भएका बेला मेरो लक्ष्य मुक्ति (निर्वाण) नभनेको उल्लेख गर्दै देशको कार्यकारी प्रमुखको भूमिकामा रहँदा पनि किसुनजीले अध्यात्मलाई नछोडेको चर्चा गरे ।
भट्टराईको जीवन र व्यक्तित्वमाथि प्रवचन दिँदै आध्यात्मिक गुरु बोधिसत्व स्वामी आनन्द अरुणले किसुनजीको माया र प्रोत्साहनले नै आफू आध्यात्मिक मार्गमा लागेको बताए । पहिलोपटक प्रधानमन्त्री भएका बेला किसुनजीले नै काठमाडौँमा ओशो तपोवनको उद्घाटन गरेको उल्लेख गर्दै तपोवनमा हाल विभिन्न ८० देशका मानिस ध्याना साधना गर्न आउने गरेका र २० देशमा ध्यान केन्द्र खुलेका जनाकारी दिए । भट्टराईकै प्रेरणाले खुलेको ओशो तपोवन अन्तर्राष्ट्रिय हाल ध्यान केन्द्रका रुपमा स्थापित भएको उनको भनाइ छ । “सत्य साइ बाबाले किसुनजीलाई देख्ने बित्तिकै यो मानिसमा देवदूतको हृदय छ भनेको थियो तर हामीले त्यस्तो मान्छेलाई चिन्न सकेनौँ । २०४८ को निर्वाचनमा चुनाव जितेको भए देशको अवस्था अर्कै भइसक्थ्यो, किसुनजीलाई हराएपछि नै नेपालको राजनीतिमा कलियुग सुरु भएको हो”, आध्यात्मिक गुरु अरुणले भन्नुभयो,“समानुपातिक निर्वाचन प्रणालीलगायत व्यवस्थाले अहिले पदको किनबेच हुन थालेको छ, त्यसबेला किसुनजीले जित्नुभएको भए यसरी पदको किनबेच हुने अवस्था आउने थिएन । आखिर यो सबैको जग त्यसैबेला बसेको त हो नि” उनले भने ।
आफूले लामो सङ्गत गर्दा किसुनजी अडान भएको, आदर्शमा नचुक्ने नेताका रुपमा पाएको स्वामी आनन्द अरुणले सुनाए । पञ्चायतकालमा सुन्दरीजल बन्दीगृहमा रहँदाको प्रसङ्ग उल्लेख गर्दै उहाँले बिपी कोइराला र गणेशमान सिंह पञ्चायतले तयार गरेको कागजातमा हस्ताक्षर गरेर निस्कँदा पनि किसुनजी थप २० महिना जेल बसी कागजातमा हस्ताक्षर नगरी निस्किएको घटना सुनाए । “किसुनजी राजनीतिमा रहेर पनि आफ्ना कमी कमजोरी नलुकाई सत्य बोल्थे विवाह नगरे पनि म कुमार होइन जस्ता विषयले उनी सत्य र स्पष्ट बोल्ने राजनीतिज्ञका रुपमा स्थापित भएको छ । अडानमै रहेर भारत प्रवासमा पनि गएन, नेपालमै बसेर नेपाल विद्यार्थी सङ्घको स्थापना गरे, त्यसबापत थप तीन वर्ष जेलमा बसे,” उनले भने ।
विश्वमै अहिंसावादी नेताका रुपमा स्थापित महात्मा गान्धीभन्दा पनि किसुनजी आध्यात्मिक नेताका रुपमा रहेको आफूले पाएको उनको भनाइ थियो । महात्मा गान्धीका पालामा भारतमा ठूला साधकका रुपमा स्थापित सन्तहरु रमण महर्षि, जे कृष्णमूर्तिजस्ता व्यक्तित्व भए पनि त्यहाँ नएको प्रसङ्ग उल्लेख गदै स्वामी आनन्द अरुणले किसुनजी भने पाइलट बाबा, अमर ज्योतिजस्ता सन्तहरुकहाँ गएको स्मरण गरे । रामकृष्ण परमहंस र स्वामी विवेकानन्दका शब्दले जस्तै किसुनजीका शब्दले पनि आफूलाई बल दिने गरेको उनको अनुभव छ । नेपालको राजनीति विश्लेषण गर्दै स्वामी आनन्द अरुणले भने, “गणेशमान र किसुनजीलाई राणा एवं राजाले कांग्रेस छोडाउन सकेनन् तर कांग्रेसकै नेताले कांग्रेस छोड्ने अवस्थामा पु¥याए ।”
किसुनजीले दोस्रोपटक प्रधानमन्त्री हुँदा माओवादी समस्या समाधानका लागि काम गरेको उल्लेख गर्नुहँदै उहाँले फ्रान्समा माओवादी नेतासँग भेटेर शान्तिवार्ता अघि बढाउन खोजेकामा भ्रमण नै गर्न नदिएर समस्यालाई लम्ब्याएको सुनाए । प्रधानमन्त्री भएका बेला किसुनजीले बालुवाटारमा सरकारी काममा आएकालाई सरकारी भान्साबाट चियापान गराउने र आफूलाई व्यक्तिगत कामले भेट्न आएकालाई निजी भान्साबाट चिया खुवाउने गरेको प्रसङ्गसमेत कार्यक्रममा स्वामी आनन्द अरुणले सुनाए ।
केन्द्रका अध्यक्ष लोकेश ढकालले किसुनजीको जन्म शताब्दी वर्षका अवसरमा पनि केही कार्यक्रम नभएपछि बाध्य भएर संस्था स्थापना गरे । विसं २०८० पुस ८ गतेदेखि नै किसुनजीको जन्म शताब्दी वर्ष सुरु भएको र यस अवसरमा आगामी पुस ८ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरिने छ ।“किसुनजी आफैँले स्थापना गरेको पार्टी किन छोडेर हिँड्यो रु यसको खोजी गरेपछि नै उनप्रति सच्चा सम्मान हुनेछ । पार्टी छोडेका, आदर्श छोडेन उनप्रतिको सच्चा सम्मानका लागि केन्द्रको स्थापना गरिएको हो,” अध्यक्ष ढकालले भने ।
कार्यक्रममा केन्द्रका कार्यसमिति सदस्य एवं कांग्रेसका पुराना नेता कोमल लामिछानेले अक्षयकोष स्थापनाका लागि ५० हजार सहयोग गरे।
प्रकाशित समय : २०:०३ बजे



















