अन्नपूर्णमा पाँच किसानलाई सम्मानित
वि.सं.२०८१ जेठ २८ सोमवार ०७:५४
shares

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आज पाँच जना उत्कृष्ट किसानलाई जनही ३५ हजार नगदसहित सम्मान गरेको छ ।
१२औँ किसान दिवसका अवसरमा उत्पादनमा आधारित कृषक प्रोत्साहन कार्यक्रममार्फत पाँच जना उत्कृष्ट किसान र एक कृषि समूहलाई नगदसहित सम्मान गरेको हो । अन्नपूर्ण–७ का टीका पाइजा तिलिजा र बेगबहादुर पाइजा, वडा नं ८ का चित्रबहादुर गर्बुजा र तुलबहादुर गर्बुजा तथा वडा नं ६ का तेजबहादुर बरुवाललाई सम्मान गरिएको गाउँपालिकाको कृषि शाखाका प्राविधिक सहायक हेमन्त शाहीले जानकारी दिए। यसैगरी रैथाने बाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत उत्पादनमा आधारित कार्यक्रममा छनौट भएको जागरुक महिला कृषक समूहलाई नगद २० हजार र प्रमाणपत्र प्रदान गरिएको छ ।
व्यावसायिक किसानलाई प्रोत्साहन गर्न नगदसहित सम्मान गरेको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए। अध्यक्ष पुन, प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी, आर्थिक विकास समितिका संयोजक तथा वडा नम्बर ८ का वडाध्यक्ष खमबहादुर गर्बुजा र कृषि शाखाका प्राविधिक सहायक शाहीले नगद र प्रमाणपत्र प्रदान गरेको थियो ।

























