गृहपृष्ठ अर्थमन्त्रीकाे गुनासाे- विकसित देशहरुकाे मौद्रिक नीतिले समस्या पार्यो
अर्थमन्त्रीकाे गुनासाे- विकसित देशहरुकाे मौद्रिक नीतिले समस्या पार्यो
अर्थमन्त्री विष्णुप्रसाद पौडेलेसँग अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआइडी)का प्रशासक सामन्था पावरले भेटवार्ता गरेकी छन् ।
अर्थ मन्त्रालयमा आज सम्पन्न भेटमा उनीहरुका बीचमा नेपाल-अमेरिका बीचको द्विपक्षीय सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो । भेटमा अर्थ मन्त्री पौडेलले गत वर्ष दुई देशबीचको कूटनीतिक सम्बन्धको ७५औं वर्षगाँठ मनाइएको स्मरण गरे ।
नेपालले सन् १९५१ मा ‘प्वाइन्ट फोर प्रोग्रम’मा हस्ताक्षर गरेपछि पहिलो पटक वैदेशिक सहायता प्राप्त गरेको र हालसम्म आइपुग्दा दुई देशबीचको विकास साझेदारीले नयाँ उचाइ प्राप्त गरेको उनले भेटमा बताए ।
अर्थमन्त्री पौडेलले विकसित देशहरुले अपनाएको कसिलो मौद्रिक नीतिले नेपालजस्ता कम विकसित देशको अर्थतन्त्रको गतिलाई सुस्त बनाएको तथा विश्वको साझा समस्याको रुपमा रहेको जलवायु परिवर्तनका असरले थप बोझ थपेकोबारे पनि प्रशासक पावरलाई जानकारी गराए ।
नेपालको सार्वजनिक वित्त प्रणालीलाई विश्वास गरेर सिधै सरकारको कोषमा सहायता प्रदान गर्ने अमेरिकी सरकारको नीति सकारात्मक रहेको अर्थमन्त्री पौडेलले सो अवसरमा व्यक्त गरेका थिए । नेपालले सन् २०२२ को मे महिनामा युएसएआईडीसँग द्विपक्षीय सहायता सम्झौतामा हस्ताक्षर गरेपछि आगामी पाँच वर्षमा कूल ६५ करोड ९० लाख अमेरिकी बराबरको अनुदान सहायता नेपालको बजेट प्रणालीमार्फत उपयोग गरिने उनको भनाइ छ ।
सो अवसरमा प्रशासक पावरले अमेरिकासँग नेपालमात्र सरकार-सरकार (जी-टु-जी) तवरबाट सहायता प्राप्त गर्ने मुलुक रहेको जनाउँदै द्विपक्षीय सहयोग र सहकार्य जारी रहने बताइन् ।
प्रकाशित समय : १६:५२ बजे



















