गृहपृष्ठ कर्जा बढ्दा दबाबमा बैंक, १३ अर्ब ब्याज उठेन
कर्जा बढ्दा दबाबमा बैंक, १३ अर्ब ब्याज उठेन

चालु आर्थिक वर्ष २०७८/७९ मा बैंकहरुको वित्तीय अवस्था सन्तोषजनक नरहेको बैंकहरुले प्रकाशित गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणले देखाएको छ । सञ्चालनमा रहेका २२ मध्ये २१ वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका हुन् ।
मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक मर्जर भएर बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भने वित्तीय विवरण नै सार्वजनिक गरेको छैन । जसमध्ये कषि विकास बैंकले मात्रै नोक्सानीमा रहेको वित्तीय विवरण प्रकाशित गर्दा अरु बैंकको वित्तीय विवरण नाफामा देखिएको छ ।
बैंकहरुको सम्भावित कर्जा नोक्सानी वापतको प्रोभिजन रकम बढ्दा खुद ब्याज आम्दानीसँगै कुल सञ्चालन आम्दानी बढेपनि सञ्चालन मुनाफा र खुद मुनाफा भने प्रभावित बनेको छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा वित्तीय विवरण प्रकाशित गरेका २१ वटा वाणिज्य बैंकले ३१ अर्ब १४ करोड ७२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.११ प्रतिशत बढी हो ।
२८ असार २०७९ बाट नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई गाभेर एकिकृत कारोबार सुृरु गरेको थियो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल बंगलादेश बैंकले ८१ करोड १२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । उक्त नाफा पनि गत आर्थिक वर्षको दोस्रो त्रैमासको नाफामा जोड्ने हो भने चालु आवको दोस्रो त्रैमासमा बैंकहरुको नाफा ८ प्रतिशतले मात्रै बढेको देखिन्छ ।
तर, बैंकहरुको उक्त नाफामा नउठेको ब्याज आम्दानी नै १३ अर्ब ६ करोड रहेको छ । अझै प्रभु बैंकले सेञ्चुरीलाई गाभेपछि उक्त बैंकको करिब ७१ करोड १७ लाख रुपैयाँ नउठेको ब्याज आम्दानी यसमा जोडिएको छैन । त्यसलाई पनि जोड्ने हो भने बैंकहरुको ३१ अर्ब नाफामा नउठेको ब्याज करिब १४ अर्ब रुपैयाँ हुन्छ । बैंकहरुले ‘रेगुलेटरी रिजर्भ’मा पठाउने अधिकांश रकम नउठेको ब्याज आम्दानी हो ।
प्रकाशित समय : ०८:१३ बजे