पुष्पाको ढाका म्याराथनमा दुई स्वर्णसहित पदकमा ह्याट्रिक
वि.सं.२०७९ माघ ७ शनिवार ०८:१२
shares
नेपाली धाविका पुष्पा भण्डारीले बंगबन्धु शेख मुजिव ढाका म्याराथनमा लगातार पदक जितेर ह्याट्रिक गरेकी छन् । ढाकामा शुक्रबार भएको ढाका म्याराथन २०२३ मा पुष्पाले स्वर्ण पदक जितेकी छन् । प्रतियोगितामो उनको यो तेस्रो पदक हो । यसअघि सन् २०२१ मा स्वर्ण जितेकी पुष्पाले गत वर्ष २०२२ मा कांस्य जितेकी थिइन्।
म्याराथनको दक्षिण एसियाली प्रतिस्पर्धामा पुष्पाले २ घण्टा ४८ मिनेट ०२ सेकेन्डबाट स्वर्ण जितेकी हुन् । अघिल्लो दुई संस्करणमा भन्दा उनको टाइमिङ धेरै राम्रो हो । यद्यपि उनी आफ्नो टाइमिङप्रति भने खुसी भइनन् । किनकि पुष्पाको लक्ष्य २ घण्टा ४६ मिनेटभित्र दुरी पार गर्ने थियो ।
उनले व्यक्तिगत टाइमिङ भने सुधार गरेकी छन् । सन् २०१९ मा १३ औं दक्षिण एसियाली खेलकुद ९साग० मा म्याराथनबाट रजत पदक जित्दा उनले २ घण्टा ५० मिनेट ११ सेकेन्ड लगाएकी थिइन् । जुन राष्ट्रिय कीर्तिमान पनि हो । त्यसलाई सुधार्दै नयाँ कीर्तिमान राखेकामा भने पुष्पाले खुसी व्यक्त गरिन् ।
पहिलोपल्ट ढामा स्वर्ण जित्दा पुष्पाले २ घण्टा ५७ मिनेट ३५ सेकेन्ड लगाएकी थिइन्।
एपीएफ क्लबबाट खेल्ने पुष्पाले नवौं राष्ट्रिय खेलकुदमा भने चोटका कारण बीचमै म्याराथन दौड छाडेकी थिइन् । नवौं राष्ट्रिय स्वर्ण जितेकी विन्द्राधान्के श्रेष्ठ भने ढाकामा कांस्य पदक जित्न सफल भइन् । ३७ वर्षीया धाविका विन्द्राले २ घण्टा ५२ मिनेट ३२ सेकेन्डमा दुरी पार गरेकी थिइन् । उनको यो पहिलो अन्तर्राष्ट्रिय पदक हो।
उनीभन्दा अगाडि श्रीलंकाकी मधुमली परेरा २ घण्टा ४८ मिनेट २२ सेकेन्डकी रहिन् । पुष्पाले ५ लाख र विन्द्राले ३ लाख बंगलादेशी टाँका पुरस्कार पाएका छन् ।
पुरुषतर्फ सहभागी नेपाली धावक सन्तोषविक्रम विष्ट भने चौथो स्थानमा रहे । दक्षिण एसियाली प्रतिस्पर्धामा भारतीय धावकले वर्चस्व राख्दा सन्तोषले २ घण्टा २४ मिनेट ०३ सेकेन्डमा दुरी पार गरेका थिए । पहिलो भएका भारतीय धावक विक्रम भरतसिं बंगरियाले २ घण्टा १८ मिनेट २८ सेकेन्डको टाइमिङ लिएका थिए ।
पुरुषतर्फ यसअघि किरणसिंह बोगटीले २०२१ र २०२२ मा प्रतिस्पर्धा गर्दा चौथो र पाँचौं स्थानमै रहेर दूरी टुंग्याएका थिए ।
पुरुष हाफ म्याराथनमा नेपालका गोपीचन्द्र पार्कीले कांस्य जितेका छन् ।

























