गृहपृष्ठ युक्रेनमा हेलिकप्टर दुर्घटना, गृहमन्त्रीसहित १६ जनाको मृत्यु
युक्रेनमा हेलिकप्टर दुर्घटना, गृहमन्त्रीसहित १६ जनाको मृत्यु
राजधानी किएभको बाहिरी भेगस्थित शिशु पाठशालानजिक बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी युक्रेनका गृहमन्त्रीसहित १६ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना बालबालिका पनि मारिएका अधिकारीहरूले बताएका छन् ।
अनलाइनमा पोष्ट गरिएको एउटा भिडियोमा आगो लागेको देखिन्छ भने रुवाबासी भएको आवाज सुनिन्छ । दुर्घटनाका सम्बन्धमा तत्काल थप विवरण प्राप्त भएको छैन । राष्ट्रिय प्रहरी प्रमुख इगोर क्लेइमन्कोले अहिलेसम्म १६ जनाको ज्यान गएको जानकारी प्राप्त भएको बताएका छन् । गृहमन्त्रालयका कैयौँ उच्च अधिकारी, गृहमन्त्री डेनिस मोनास्ट्रास्के र उनका उपमन्त्रीको ज्यान गएको छ ।
बयालीस वर्षीय गृहमन्त्री मोनास्ट्रास्के दुई सन्तानका पिता हुन् । उनी दुई वर्षअघि गृहमन्त्री नियुक्त भएका थिए । दश जना बालबालिकासहित २२ जनालाई अस्पताल भर्ना गरिएको छ । दुर्घटनाका बेला शिशु पाठशालामा कर्मचारी र बालबालिका थिए । प्रहरी र चिकित्साकर्मी दुर्घटनास्थलमा उद्धार तथा उपचारमा सक्रिय छन् ।
प्रकाशित समय : १५:१६ बजे


















