गृहपृष्ठ धुलिखेल सामुदायिक अस्पतालमा भदौ १ देखि स्वास्थ्य बिमाको ओपिडी सेवा पुनः सञ्चालन
धुलिखेल सामुदायिक अस्पतालमा भदौ १ देखि स्वास्थ्य बिमाको ओपिडी सेवा पुनः सञ्चालन
काभ्रेपलाञ्चोक । धुलिखेल सामुदायिक अस्पतालले आगामी भदौ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत बहिरङ्ग (ओपिडी) सेवा पुनः सञ्चालन गर्ने भएको छ। ओपिडीबाहेकका अन्य सेवा भने तत्काल स्वास्थ्य बिमाअन्तर्गत सञ्चालन नहुने अस्पतालले जनाएको छ।
स्वास्थ्य बिमा बोर्डबाट उपचारबापत प्राप्त हुनुपर्ने रकम लामो समयदेखि भुक्तानी नभएपछि अस्पतालले गत असार १५ गतेदेखि स्वास्थ्य बिमा सेवा पूर्ण रूपमा बन्द गरेको थियो।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अस्पतालले बोर्डबाट प्राप्त हुनुपर्ने बक्यौतामध्ये ८ करोड रुपैयाँ भुक्तानी भएको जानकारी दिँदै भदौ १ गतेदेखि ओपिडी सेवा पुनः सञ्चालन गर्न लागेको जनाएको हो।
अस्पतालका स्वास्थ्य बिमा कार्यक्रमका स्रोत व्यक्ति प्रा. डा. बलराम मल्लका अनुसार अझै स्वास्थ्य बिमा बोर्डबाट करिब १७ देखि २० करोड रुपैयाँ भुक्तानी हुन बाँकी छ। बाँकी रकम आगामी भदौ मसान्तसम्म भुक्तानी गर्ने आश्वासन बोर्डबाट प्राप्त भएको उनले बताए।
स्वास्थ्य बिमामार्फत ओपिडी सेवा लिन आउने सेवाग्राहीले यसअघि जस्तै आफू आबद्ध भएको प्रथम सेवा बिन्दुबाट जारी गरिएको रेफरल पुर्जी अनिवार्य रूपमा ल्याउनुपर्नेछ। ओपिडीअन्तर्गतको स्वास्थ्य बिमा सेवा आइतबार तथा सार्वजनिक बिदाका दिन भने सञ्चालन नहुने अस्पतालले जनाएको छ।
डा. मल्लले बिमा बोर्डबाट अस्पतालले पाउनुपर्ने रकम नियमित रूपमा भुक्तानी भए स्वास्थ्य बिमा सेवा सञ्चालनमा सहज हुने बताए। लामो समयदेखि रोकिएको सेवा पुनः सञ्चालन भएपछि बिमामा आबद्ध बिरामीको उपचारमा पहुँच सहज हुने अपेक्षा अस्पतालको छ।
अस्पतालले स्वास्थ्य बिमामार्फत ओपिडी सेवा लिन आउने बिरामीका लागि अधिकतम २५ हजार रुपैयाँसम्मको सीमा तोकेको छ। उक्त सीमाभित्र रहेर मात्रै उपचार सेवा लिन अस्पतालले सेवाग्राहीलाई आग्रह गरेको छ।
हाल अस्पतालले दैनिक करिब १ हजार २०० बिरामीलाई सेवा दिँदै आएको डा. मल्लले जानकारी दिए। स्वास्थ्य बिमाका सेवाग्राही थपिएपछि दैनिक १ हजार ५०० भन्दा बढी बिरामीलाई सेवा दिन सक्ने गरी तयारी भइरहेको उनले बताए।
ओपिडीबाहेकका अन्य सेवा स्वास्थ्य बिमाअन्तर्गत पुनः सञ्चालन गर्ने विषयमा भने अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच छलफल भइरहेको छ। बाँकी बक्यौता भुक्तानी र आवश्यक सहमति भएपछि अन्य सेवा पनि पुनः सञ्चालन गर्नेबारे निर्णय हुने अस्पतालले जनाएको छ।
प्रकाशित समय : ०६:०३ बजे


















