गृहपृष्ठ ‘क्रुजसिप’मा सरर

‘क्रुजसिप’मा सरर

‘क्रुजसिप’मा सरर

नारायणी नदीमा व्यावसायिक रूपमा ‘क्रुजसिप’ सञ्चालनमा आएको छ । राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको क्रुजसिप व्यावसायिक रूपमा सञ्चालनमा ल्याइएको हो । यही माघ १ गतेबाट नियमित रूपमा व्यावसायिक सञ्चालन गरिएको छ ।

राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका कार्यकारी निर्देशक दीपक ढुङ्गेलले विगत तीन दिनदेखि नियमित रूपमा सञ्चालन गरिँदै आएको बताए । दैनिक तीनपटक सञ्चालन गरिँदै आएको छ । दैनिक एक सय जनाभन्दा बढीले क्रुजमा मनोरञ्जन लिएको उनले जानकारी दिए ।

काठमाडौं, पोखरा लगायतका जिल्लाबाट समेत क्रुज सयरका लागि आएको उनको भनाइ छ । उनले भने, ‘सुरुआती चरणमा उत्साहजनक उपस्थिति छ ।’ स्थानीयवासीसहित बाहिरी जिल्लाबाट समेत पर्यटक आएको उनी बताउँछन् । क्रमशः ५०–६० जना भएसँगै क्रुज सञ्चालन गर्ने गरी तयारी गरिएको छ ।

केही वर्षअघि नै सञ्चालनमा ल्याउन खोजे पनि कोरोना महामारी र कानुनी समस्याका कारण क्रुज सञ्चालन गर्न नसकिएको उनले बताए । क्रुजको दुई वर्ष अगाडि नै सफल परीक्षण गरिएको थियो । एक घण्टासम्म नारायणी नदीमा सयर गराउने योजना रहेको उनले बताए । यसका लागि रु सात सयको टिकट काट्ने गरिएको छ । यसमा एक कप कफी दिइँदै आएको छ ।

यसका अलावा विभिन्न प्याकेज पनि तयार पारेको उनले बताए । ब्रेकफास्ट क्रुजिङका लागि रु एक हजार पाँच सय, लञ्च क्रुजिङका लागि रु दुई हजार, डिनर क्रुजिङका लागि रु दुई हजार पाँच सय शुल्क तोकिएको छ । केही दिनभित्रै सुरुमा डिनरबाट प्याकेज सञ्चालन गर्ने तयारी गरिएको छ । यो समयमा बिहानमा कुहिरोका कारण सञ्चालन कठिन हुने भएकाले लञ्च र डिनर गर्न सकिने उनको भनाइ छ ।

क्रुजसिपभित्र रेष्टुरेन्ट, सांस्कृतिक कार्यक्रम गर्न आकर्षक स्टेज, बैठक सेमिनार गर्न मिल्ने हल, सेल्फी प्वाइन्टहरू राखिएका छन् । भरतपुर महानगरपालिका–१६ ज्ञानेश्वर सामुदायिक वनस्थित काभ्रेघाटमा क्रुजसिपको स्टेशन रहेको छ । तीन तलाको क्रुजमा दुई सय जना यात्रु एकैसाथ चढ्न मिल्छ ।

कम्पनीका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलका अनुसार यो क्रुजसिप निर्माणमा रु १५ करोडभन्दा बढी खर्च भएको छ । क्रुजमा सेल्फी लिने तथा चलचित्र सुटिङ गर्न मिल्ने युनिट डिजाइन परिवर्तन गरी थपिएको छ । क्रुजमा यात्रा गर्ने हरेक यात्रुको रु १० लाख बराबरको बिमा गरिएको छ । क्रुजसिपमै बसेर विवाह, व्रतबन्ध, पास्नी, जन्मोत्सव, वैवाहिक वर्षगाँठ लगायतका गतिविधि गर्न पाइने उनले जानकारी दिए ।

नारायणी नदीको ४० किलोमिटरमा सञ्चालनका अनुमति लिएको निर्देशक कँडेलको भनाइ छ । यतिबेला पानीको सतह निकै कम भएकाले केही किलोमिटर मात्र चलाइने छ । पानीको बहावअनुसार दूरी बढाउँदै लैजाने उनले बताए । नर्वेजियन प्रविधिको प्रयोग गरेर बनाइरहेको क्रुजसिप भारतको केरलाका प्राविधिकले तयार गरेका हुन् । यसको चालक दलमा १५ जना रहने छन् ।

क्रुजसिप सञ्चालनसँगै यहाँको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा व्यवसायीले गरेका छन् । चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकलाई एक दिनको बसाइ लम्ब्याउन र मनोरञ्जन दिन क्रुज उपयोगी हुनसक्ने व्यवसायीको भनाइ छ ।

प्रकाशित समय : १४:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु