गृहपृष्ठ नेपाली अटो मेकानिकले गरे चीनको एसआरएम कारखानामा ईभी प्रविधिको प्रत्यक्ष अवलोकन
नेपाली अटो मेकानिकले गरे चीनको एसआरएम कारखानामा ईभी प्रविधिको प्रत्यक्ष अवलोकन
काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी)को प्रयोग बढ्दै जाँदा दक्ष प्राविधिक जनशक्ति विकासमा जोड दिन थालिएको छ। यसै क्रममा नेपाल अटो मेकानिक व्यवसायी महासंघका ३० जना प्रतिनिधिले चीनको चोङछिङस्थित शिनेराय मोटर्स (एसआरएम)को उत्पादन कारखानाको अवलोकन गरेका छन्।
एसआरएम तथा नेपालमा उसका विद्युतीय सवारीसाधनको आधिकारिक वितरक भिजी मोटर्सको पहल र सहयोगमा महासंघका प्रतिनिधिले साउन २६ र २७ गते फुलिङ, चोङछिङस्थित एसआरएमको कारखाना भ्रमण गरेका हुन्।
भ्रमणका क्रममा नेपाली प्राविधिकले सवारीसाधन उत्पादन तथा एसेम्बली प्रक्रिया, गुणस्तर नियन्त्रण प्रणाली, परीक्षण प्रक्रिया तथा विद्युतीय सवारीसाधनमा प्रयोग हुने प्रविधिबारे प्रत्यक्ष जानकारी लिएका थिए। उनीहरूले एसआरएमका प्राविधिक विशेषज्ञसँग अन्तरक्रिया गर्दै ईभी उत्पादन तथा मर्मतसम्भारसम्बन्धी विषयमा अनुभव आदानप्रदानसमेत गरेका थिए।
भिजी मोटर्सका अनुसार भ्रमणले नेपाली अटो मेकानिकलाई सामान्य वर्कसपमा प्राप्त हुने व्यावहारिक ज्ञानभन्दा बाहिर गएर ईभीको उत्पादन, इन्जिनियरिङ, परीक्षण तथा गुणस्तर नियन्त्रण प्रक्रिया प्रत्यक्ष रूपमा बुझ्ने अवसर दिएको छ।
ईभीको बजार विस्तारसँगै प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धिलाई प्राथमिकता दिँदै आएको भिजी मोटर्सले देशका विभिन्न स्थानमा मेकानिक मिट आयोजना गर्नुका साथै ईभीसम्बन्धी प्राविधिक प्रशिक्षण र साइटमै पुगेर प्राविधिक समस्या समाधान गर्दै आएको जनाएको छ।
कम्पनीका अनुसार ईभीसम्बन्धी प्राविधिक प्रशिक्षणको पहिलो चरण पूरा भइसकेको छ भने दोस्रो चरणको प्रशिक्षण अघि बढाउने तयारी भइरहेको छ। दोस्रो चरणमा ईभी मर्मतसम्भारका लागि आवश्यक उपकरणको पहिचान तथा प्रयोगदेखि सवारीसाधनको प्राविधिक मर्मतसम्मका विषय समेटिनेछ।
भिजी मोटर्सका कमर्सियल हेड सजल श्रेष्ठले नयाँ प्रविधि भित्र्याउनु मात्र पर्याप्त नभई त्यसलाई सञ्चालन र मर्मत गर्ने दक्ष जनशक्ति विकास गर्नु पनि उत्तिकै आवश्यक रहेको बताए।
उनका अनुसार प्राविधिकहरू ईभी इकोसिस्टमको महत्वपूर्ण हिस्सा भएकाले उचित प्रशिक्षण र प्रत्यक्ष अनुभवले ग्राहकको विश्वास बढाउन, बिक्रीपछिको सेवा सुधार गर्न तथा नेपालको अटोमोबाइल क्षेत्रको जनशक्तिलाई भविष्यका लागि तयार गर्न सहयोग पुग्नेछ।
नेपालमा ईभीको प्रयोग र बजार विस्तार हुँदै जाँदा दक्ष प्राविधिक जनशक्तिको आवश्यकता अझ बढ्ने देखिन्छ। सही डायग्नोसिस, गुणस्तरीय मर्मतसम्भार र प्रभावकारी बिक्रीपछिको सेवा उपलब्ध गराउन सक्षम प्राविधिक विकासले विद्युतीय सवारीसाधनप्रतिको उपभोक्ताको विश्वाससमेत बलियो बनाउन सक्ने व्यवसायीहरूको भनाइ छ।
भिजी मोटर्सले एसआरएम, नेपाल अटो मेकानिक व्यवसायी महासंघ तथा अन्य सरोकारवाला निकायसँगको सहकार्यलाई निरन्तरता दिँदै नेपालको अटोमोबाइल क्षेत्रलाई थप दक्ष, सक्षम र भविष्यका लागि तयार बनाउन योगदान गर्ने जनाएको छ।
प्रकाशित समय : १८:३३ बजे


















