गृहपृष्ठ ओझेलमा परेको गार्मेन्ट उद्योग : ठेलागाडाबाट उद्योगसम्म ज्ञानबहादुरको उद्यमशील यात्रा
ओझेलमा परेको गार्मेन्ट उद्योग : ठेलागाडाबाट उद्योगसम्म ज्ञानबहादुरको उद्यमशील यात्रा
काठमाडौं । नेपालमा गार्मेन्ट उद्योगको विकास सन् १९८० को दशकबाट सुरु भएको मानिन्छ। गार्मेन्ट एसोसिएसन नेपालको प्रवर्द्धनात्मक भूमिका तथा भारतीय निर्यातकर्ताको चासो र सहयोगले प्रारम्भिक चरणमा नेपाली गार्मेन्ट उद्योगले गति लिएको थियो।
एक समय नेपाली गार्मेन्ट उद्योगको उत्पादन अमेरिकी बजारसम्म पुग्थ्यो। तर सन् २००५ मा बहु–फाइबर सम्झौता खारेज भएपछि नेपाली उत्पादनले अमेरिकी बजारमा पाउँदै आएको विशेष सहुलियत गुमायो। त्यसपछि विश्व बजारमा बढेको प्रतिस्पर्धा सामना गर्न नसक्दा नेपालका थुप्रै गार्मेन्ट उद्योग बन्द भए। केही ठूला उद्योगसमेत उत्पादन घटाउँदै रुग्ण अवस्थामा पुगे।
सन् २००१–०२ तिर नेपालमा करिब १० हजारदेखि १२ हजारसम्म गार्मेन्ट उद्योग सञ्चालनमा रहेको र करिब चार लाखभन्दा बढीले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाएको बताइन्छ। त्यसबेला अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्याएको यो क्षेत्र अहिले भने अनेक चुनौतीसँग जुधिरहेको छ।
यही चुनौतीपूर्ण परिवेशमा पनि केही उद्यमी भने गार्मेन्ट उद्योगलाई निरन्तरता दिने प्रयासमा छन्। भक्तपुरको सूर्यविनायक नगरपालिका–५, कटुञ्जेमा सञ्चालित ‘अलिना गार्मेन्ट’ त्यसैको एउटा उदाहरण हो।
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–छोरम्बु सापातेलमा मध्यमवर्गीय किसान परिवारमा जन्मिएका ज्ञानबहादुर बस्नेत अहिले गार्मेन्ट उद्योगका मध्यमस्तरका उद्यमीका रूपमा परिचित छन्। बुवा नैनध्वज बस्नेत र आमा गोमादेवी बस्नेतका छोरा बस्नेतले आफ्नी छोरी अलिना बस्नेतको नाममा उद्योग सञ्चालन गरिरहेका छन्।
‘ठेलागाडा’बाट सुरु भएको उनको पारिवारिक उद्यम अहिले करिब ५० जनालाई प्रत्यक्ष रोजगारी दिने उद्योगमा परिणत भएको छ।
जागिरबाट उद्यमशीलतातर्फ
बस्नेतले सन् २०६३ सालमा सुनसरीको पकलीबाट सशस्त्र प्रहरी बलमा भर्ती भएर जागिरे जीवन सुरु गरेका थिए। राष्ट्रसेवकका रूपमा आफ्नो जिम्मेवारी निर्वाह गर्दै जाँदा विवाह, परिवार र भविष्यको जिम्मेवारी थपिँदै गयो।
२०६७ सालमा झापाको दमक निवासी बविता न्यौपानेसँग विवाह गरेपछि उनको जीवनमा नयाँ चरण सुरु भयो। विवाहपछि भविष्यको खोजीमा काठमाडौं आउने निर्णय भयो। सुनसरीमा रहेको जागिरसमेत काठमाडौंमै सरुवा गराएर उनले दक्षिणकाली गणमा जिम्मेवारी सम्हाले।
तर काठमाडौंको जीवन सहज थिएन। सामान्य किसान परिवारबाट आएका बस्नेतमाथि विवाहका क्रममा लागेको करिब ८० हजार रुपैयाँ ऋण थियो। तलबबाट कोठाभाडा, खाना, लत्ताकपडा र अन्य खर्च धान्नै कठिन थियो।
“ऋण तिर्नुपर्ने, घरपरिवारको जिम्मेवारी पूरा गर्नुपर्ने र आफ्नै परिवारको भविष्य बनाउनुपर्ने अवस्था थियो,” बस्नेत विगत सम्झन्छन्, “त्यो समय निकै कठिन थियो।”
आर्थिक अभावका कारण साथीभाइसँग समेत सहज रूपमा खानपिन गर्न नसकेको क्षण उनलाई अहिले पनि सम्झना छ। जागिर खाने मानिस भएकाले बाहिरबाट जीवन सहज देखिए पनि वास्तविकता भने फरक रहेको उनी बताउँछन्।
श्रीमतीले देखाएको उद्यमको बाटो
बस्नेतको उद्यमशील यात्राको पहिलो पाइला भने उनकी श्रीमती बविता न्यौपानेले चालेकी थिइन्।
बस्नेत जागिरे भएकाले दिनभर कोठामा एक्लै बस्नुपरेपछि बविताले ९६० रुपैयाँको तरकारी खरिद गरेर ठेलागाडामा राखी बिक्री गर्न सुरु गरिन्।
त्यो कामलाई सुरुमा बस्नेतले सकारात्मक रूपमा लिएनन्। ठेलागाडाको व्यापार बन्द गराएर अर्को काम गर्न प्रेरित गरे। त्यसपछि बविता च्याउ उत्पादक किसानको सम्पर्कमा पुगिन् र दैनिक ८–१० किलो च्याउ होलसेल मूल्यमा खरिद गरी तरकारी पसलमा बिक्री गर्न थालिन्।
त्यही मेहनत र व्यापारप्रतिको लगावले बस्नेतको सोच परिवर्तन गर्यो।
“श्रीमतीमा मेहनत गर्ने र केही गर्नुपर्छ भन्ने भावना देखेपछि उहाँसँगै सहकार्य गर्नुपर्छ भन्ने लाग्यो,” उनी भन्छन्।
त्यसपछि दम्पतीले बालबालिकाका कपडा बिक्री गर्ने पसल सुरु गरे। केही समयपछि कपडा बेच्नुभन्दा आफैं उत्पादन गर्न सकिन्छ भन्ने सोच आयो। त्यसपछि एक साथीसँग साझेदारीमा उत्पादन कारखानामा जोडिए।
करिब नौ महिनापछि अझ ठूलो सोचका साथ २०७६ सालमा भक्तपुरको सूर्यविनायक नगरपालिका–५ मा आफ्नै एकल लगानीमा बालबालिकाका तयारी कपडा उत्पादन गर्ने उद्योग सुरु गरे।
आज ‘अलिना गार्मेन्ट’ले मुख्यतः बालबालिकाका तयारी पोसाक उत्पादन गर्दै आएको छ। मागअनुसार वयस्कका कपडासमेत उत्पादन गरिन्छ।
१० कामदारबाट ५० जनासम्म
उद्योग सुरु गर्दा बस्नेतले १० जना कामदारबाट उत्पादन सुरु गरेका थिए। अहिले उद्योगमा करिब ५० जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन्।
उनका लागि यो केवल व्यापार होइन, रोजगारी सिर्जना गर्ने माध्यम पनि हो।
बस्नेतका अनुसार निरन्तर मेहनत, उत्पादनको गुणस्तर र बजार विस्तारमा ध्यान दिन सके नेपाली गार्मेन्ट उद्योगको भविष्य अझै राम्रो बन्न सक्छ।
“हामी निरन्तर मेहनत र परिश्रमलाई स्थायित्व दिन सक्यौं भने सफल उद्यमी बन्न सक्छौं भन्ने आत्मविश्वास छ,” उनी भन्छन्।
तर त्यसका लागि सरकारको नीतिगत सहयोग आवश्यक रहेको उनको बुझाइ छ।
नेपालमा उद्योग–धन्दा र कलकारखाना कमजोर हुँदा बेरोजगारी बढिरहेको भन्दै उनले मध्यमस्तरका उद्यमीलाई राज्यले नीतिगत रूपमा प्रोत्साहन गर्नुपर्ने बताए।
विशेषगरी गार्मेन्ट उद्योगका लागि आवश्यक कच्चा पदार्थ आयातमा हुने झन्झटिलो भन्सार प्रक्रिया सहज र सरल बनाउनुपर्ने उनको माग छ।
“कच्चा पदार्थ आयातदेखि उत्पादन र बजारसम्मको प्रक्रिया सहज बनाइदिने हो भने यस्ता उद्योगमा लगानी गर्ने उद्यमी थप उत्साहित हुन्छन्,” बस्नेत भन्छन्, “यसले रोजगारी बढाउनुका साथै मुलुकको अर्थतन्त्रमा समेत योगदान पुर्याउँछ।”
‘मेरो सफलताको मुख्य आधार बविता नै हुन्’
नेपालमा कुनै समय बलियो उपस्थिति बनाएको गार्मेन्ट उद्योग अहिले कमजोर बन्दै गएकोप्रति बस्नेत चिन्तित छन्। तर कठिनाइका बाबजुद उद्योगलाई निरन्तरता दिन उनी प्रतिबद्ध छन्।
आफ्नो उद्यमशील यात्रामा सबैभन्दा ठूलो योगदान श्रीमती बविता न्यौपानेको रहेको उनी खुलेर स्वीकार गर्छन्।
“म अहिले जुन ठाउँमा आइपुगेको छु, त्यसको सुरुवातदेखि निरन्तर मेहनत र परिश्रमको संवाहक मेरी श्रीमती बविता नै हुन्,” बस्नेत भन्छन्, “उहाँप्रति म अत्यन्त आभारी छु।”
उनका अनुसार कुनै पनि व्यवसाय एक व्यक्तिको प्रयासले मात्र सफल हुन सक्दैन। परिवारका सदस्यबीचको सहकार्य, विश्वास र निरन्तर मेहनत आवश्यक हुन्छ।
ठेलागाडामा ९६० रुपैयाँको तरकारी बेचेर सुरु भएको दम्पतीको यात्रा अहिले आफ्नै गार्मेन्ट उद्योगसम्म पुगेको छ। उनीहरूको कथा नेपाली उद्यमशीलताको एउटा सानो तर प्रेरणादायी उदाहरण हो।
गार्मेन्ट उद्योगलाई पुनर्जीवन दिन सरकार, उद्यमी र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बस्नेतको निष्कर्ष छ।
“कुनै समय मुलुकमा स्थापित भएको गार्मेन्ट उद्योग आज रुग्ण अवस्थामा पुगेको छ। यसलाई पुनः अगाडि बढाउन राज्य मात्रै होइन, हामी उद्यमी–व्यवसायी पनि मिलेर अघि बढ्नुपर्छ,” उनी भन्छन्।
नेपालमा रोजगारी सिर्जना, उत्पादन वृद्धि र आयात प्रतिस्थापनका लागि गार्मेन्ट उद्योग पुनः उभ्याउन सकिने उनको विश्वास छ।
ठेलागाडाबाट सुरु भएको एउटा सानो प्रयासले आज ५० जनालाई रोजगारी दिने उद्योगको रूप लिएको छ। यही यात्राले देखाउँछ—अवसर सधैं तयार भएर आउँदैनन्, कहिलेकाहीँ अवसर आफैं सिर्जना गर्नुपर्छ।
प्रकाशित समय : १५:१४ बजे


















