गृहपृष्ठ रोड टु एभरेस्ट’ वृत्तचित्रको अफिसियल ट्रेलर सार्वजनिक, समुद्री सतहदेखि सगरमाथाको शिखरसम्मको वास्तविक यात्राको कथा
रोड टु एभरेस्ट’ वृत्तचित्रको अफिसियल ट्रेलर सार्वजनिक, समुद्री सतहदेखि सगरमाथाको शिखरसम्मको वास्तविक यात्राको कथा
काठमाडौं । सगरमाथाको साहस, चुनौती, रहस्य र जलवायु परिवर्तनको प्रभावलाई केन्द्रमा राखिएको वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरले समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको यात्रासँगै मानवीय साहस, संघर्ष र दृढ संकल्पको झलक प्रस्तुत गरेको छ।
निर्माण पक्षका अनुसार नेपाली प्राविधिकको संलग्नतामा तयार गरिएको वृत्तचित्रमा कुनै पनि कृत्रिम वा कम्प्युटर सिर्जित दृश्य प्रयोग गरिएको छैन। समुद्री सतहदेखि सगरमाथाको शिखरसम्मको वास्तविक यात्रालाई समेटिएको ‘रोड टु एभरेस्ट’ वास्तविक दृश्यमा आधारित वृत्तचित्र भएको निर्माण पक्षको दाबी छ।
दुई वर्षको अनुसन्धान, छायांकन तथा निर्माण प्रक्रियापछि तयार भएको वृत्तचित्रको कथा सञ्चारकर्मी सन्तोष आचार्य र निर्मल श्रेष्ठले लेखेका हुन्। चर्चित सञ्चारकर्मी भूषण दाहालको आवाज रहेको वृत्तचित्र नेपाली र अंग्रेजी दुवै भाषामा तयार गरिएको छ।
वृत्तचित्रमा ५० वर्ष पार गरेका राज गुरुङको प्रेरणादायी यात्रा प्रस्तुत गरिएको छ। उमेर र आफ्नै सीमालाई चुनौती दिँदै सगरमाथा आरोहणको सपना पछ्याएका गुरुङको यात्रा सपना, संघर्ष, आत्मविश्वास र मानवीय इच्छाशक्तिको कथाका रूपमा प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ।
निर्मल श्रेष्ठको निर्देशनमा तयार भएको वृत्तचित्रले सगरमाथाको प्राकृतिक सौन्दर्यसँगै आरोहणका जोखिम, शेर्पा समुदायको योगदान, मानवीय साहस तथा जलवायु परिवर्तनका कारण तीव्र रूपमा बदलिँदै गएको हिमाली वातावरणलाई समेत समेटेको छ।
‘रोड टु एभरेस्ट’मा कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पा र निमा ग्याल्जेन शेर्पा पनि देखिनेछन्। फुर्वाले हालसम्म सगरमाथाको १८ पटक सफल आरोहण गरेका छन्। निमा ग्याल्जेनले सगरमाथा १० पटक आरोहण गर्नुका साथै आठ हजार मिटरभन्दा अग्ला विश्वका सबै १४ हिमाल सफलतापूर्वक आरोहण गरिसकेका छन्।
यात्रामा विनोद गुरुङ, सुरज गुरुङ र निर्मल श्रेष्ठ पनि सहयात्री पात्रका रूपमा देखिनेछन्।
निर्माण पक्षका अनुसार वृत्तचित्रको नेपाल प्रिमियर भदौ ६ गते काठमाडौंमा र अन्तर्राष्ट्रिय प्रिमियर भदौ २८ गते हङकङमा हुनेछ। त्यसपछि नेपालका विभिन्न स्थानसँगै अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल तथा सिनेमा हलमा प्रदर्शन गर्ने तयारी भइरहेको छ।
सामाजिक संस्था वि विल राइज फाउन्डेसनले निर्माण गरेको ५० मिनेट लामो वृत्तचित्रले दर्शकलाई प्रेरित गर्नुका साथै नेपालको पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने र हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारिरहेको प्रभावबारे विश्वको ध्यानाकर्षण गराउने उद्देश्य राखेको निर्माण पक्षले जनाएको छ।
प्रकाशित समय : १२:०४ बजे


















