गृहपृष्ठ खाडी र लाल सागरमा वार्ताबाट समाधान खोज्न गुटेरेसको आग्रह
खाडी र लाल सागरमा वार्ताबाट समाधान खोज्न गुटेरेसको आग्रह
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले खाडी तथा लाल सागर क्षेत्रमा जारी तनाव र द्वन्द्वको व्यापक तथा दीर्घकालीन समाधानका लागि वार्ता र कूटनीतिक संवादलाई प्राथमिकता दिन आग्रह गरेका छन् । उनले संवादमार्फत मात्र क्षेत्रीय स्थिरता र पारस्परिक विश्वास पुनःस्थापित गर्न सकिने बताएको छन् ।
महासचिव गुटेरेसले मध्यपूर्वमा विकसित पछिल्ला घटनाक्रमलाई नजिकबाट नियालिरहेको उनका उपप्रवक्ता फरहान हकले बताए । उनका अनुसार गुटेरेसको ध्यान विशेषगरी हर्मुज जलघाँटी र लाल सागर आसपासको सुरक्षा तथा समुद्री आवागमनको अवस्थातर्फ केन्द्रित रहेको छ ।
उपप्रवक्ता हकले महासचिव गुटेरेस व्यापक र दिगो समाधानका लागि वार्ता तथा संवाद नै प्रभावकारी माध्यम भएको विश्वासमा रहेको बताएको छन् । उनका अनुसार यस्तो सहमतिले मध्यपूर्वमा स्थिरता कायम गर्न र सम्बन्धित पक्षबीच विश्वास पुनःस्थापित गर्न सहयोग पु¥याउनेछ ।
गुटेरेसले हर्मुज जलघाँटी तथा लाल सागरमा अन्तर्राष्ट्रिय समुद्री आवागमनको अधिकार र स्वतन्त्रताको संरक्षण हुनुपर्नेमा समेत जोड दिएको छन् । विश्व व्यापार तथा आपूर्ति व्यवस्थाका लागि महत्त्वपूर्ण यी समुद्री मार्गमा निरन्तर तनाव वा अवरोध हुँदा क्षेत्रीय द्वन्द्वको प्रभाव अझ फराकिलो बन्न सक्ने चिन्ता संयुक्त राष्ट्रसङ्घको छ ।
यसैबीच, यमनमा तनाव कम गर्ने प्रयास पनि संयुक्त राष्ट्रसङ्घले जारी राखेको छ । यमनका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूत हान्स ग्रुन्डबर्गले सम्बन्धित पक्षसँग संवाद तथा कूटनीतिक पहलमार्फत तनाव न्यूनीकरणका लागि काम गरिरहेको हकले जानकारी दिए।
यमनको तट आसपासको समुद्री ढुवानीमा अवरोध उत्पन्न गर्ने कुनै पनि गतिविधिले युद्धबाट प्रभावित यमनमा आवश्यक मानवीय तथा अन्य सामग्री पु¥याउने संयुक्त राष्ट्रसङ्घको प्रयासमा समेत असर पार्ने हकले बताए ।
उनका अनुसार लाल सागर र बाब अल–मन्दब क्षेत्रमा समुद्री आवागमनमा हुने कुनै पनि अवरोधले यमनमा सहायता तथा आवश्यक सामग्री पु¥याउने कार्य जटिल बनाउने भएकाले त्यस्ता अवरोध रोक्नु आवश्यक छ ।
संयुक्त राष्ट्रसङ्घले मध्यपूर्वमा बढ्दो क्षेत्रीय तनावको असर समुद्री सुरक्षासँगै मानवीय सहायता, व्यापार तथा आपूर्ति प्रणालीमा समेत पर्न सक्ने भन्दै सम्बन्धित पक्षलाई संयम अपनाउन आग्रह गर्दै आएको छ । महासचिव गुटेरेसको पछिल्लो आह्वानले पनि सैन्य टकरावभन्दा संवाद र कूटनीतिक माध्यमबाट क्षेत्रीय तनाव समाधान गर्ने संयुक्त राष्ट्रसङ्घको प्राथमिकतालाई स्पष्ट पारेको छ ।रासस
प्रकाशित समय : १७:३७ बजे


















