गृहपृष्ठ शङ्खरापुर नगरपालिकाको वार्षिक प्रगति ७७ प्रतिशत : २१४ सडक–पुल पूर्वाधार सम्पन्न
शङ्खरापुर नगरपालिकाको वार्षिक प्रगति ७७ प्रतिशत : २१४ सडक–पुल पूर्वाधार सम्पन्न
काठमाडौँ। शङ्खरापुर नगरपालिकाले विकास योजनामा ७७.२७ प्रतिशत प्रगति भएको बताएको छ। शुक्रबार साँखुमा नगरपालिकाद्वारा आयोजित आर्थिक वर्ष २०८२\८३ को वार्षिक समीक्षा कार्यक्रममा विभिन्न शाखा तथा उपशाखाले एक वर्षभरि सम्पादन गरेको कामकारबाहीबारे छलफल गरिएको हो।
कार्यक्रममा नगरपालिकाका योजना तथा अनुगमन शाखा प्रमुख राममणि ढकालका अनुसार आव २०८२/८३ मा भाषा, कला, संस्कृति र पर्यटन शीर्षकमा ८८ योजनामध्ये ७५ वटा सम्पन्न भएको छ। ढकालले स्वास्थ्य पूर्वाधारका तीन योजनामध्ये दुईवटा सम्पन्न भएको, शिक्षा खेलकुद पूर्वाधारमा आठ योजनामध्ये सात सम्पन्न भएको, खानेपानी र सरसफाइतर्फ २२ योजनामध्ये १८ योजना सम्पन्न भएको जानकारी दिए।
त्यसैगरी, सडक र पुल पूर्वाधारतर्फ २४७ योजना रहेकामा २१४ सम्पन्न भएको, सिँचाइतर्फ १४ योजनामा आठवटा सम्पन्न भएको, भवन पूर्वाधारमा १६ योजना रहेकामा ११ वटा सम्पन्न भएको र वातावरण पूर्वाधारमा २६ योजना रहेकामा २३ योजना सम्पन्न भएको ढकालले बताए।
कार्यक्रममा नगरप्रमुख रमेश नापितले जनप्रतिनिधिले ल्याएका जनतामुखी कार्यक्रमलाई नतिजामुखी बनाएर कार्यान्वयन गर्न भूमिका खेलेकामा कर्मचारी तथा विभिन्न शाखालाई धन्यवाद दिनुभयो । उहाँले जनताको आवश्यकता र अपेक्षाअनुसार ल्याइएका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुँदा त्यसको प्रत्यक्ष लाभ नागरिकले पाउने उल्लेख गरे।
उनले भने, “यस वर्षको एसइई परीक्षामा नगरपालिकाभित्रका करिब ९५ प्रतिशत विद्यार्थी उत्तीर्ण भए । हाम्रो क्षेत्रमा यो अहिलेसम्मकै उच्च शैक्षिक सफलता दर हो । नगरपालिकाले दिने सेवा प्रवाहको मूल्याङ्नमा पनि हामी अगाडि नै छौँ, हामी जनप्रतिनिधिले ल्याएको योजनालाई कुशलतापूर्वक नजितामुखी परिणाम आउनुमा कर्मचारी वर्गको भूमिका महत्त्वपूर्ण छ।”
त्यस्तै, नगरपालिकाका उपप्रमुख समिता श्रेष्ठले जनप्रतिनिधिले काम गर्ने क्रममा आलोचना आउनु स्वाभाविक भएको बताइन्। उनले आलोचनालाई सामान्य रूपमा लिएर त्यसबाट विचलित नभई सकारात्मक रूपमा अघि बढ्दै राम्रो काम गरेर देखाउन आग्रह गरिन्। उपप्रमुख श्रेष्ठले नगरपालिकाका विभिन्न शाखाले गरेका काम तथा उपलब्धिहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक गरी जनतालाई नियमित रूपमा जानकारी गराउनुपर्नेमा समेत जोड दिइन्।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणि पन्थीले सीमित स्रोतसाधनका बाबजुद नगरपालिकाले धेरै राम्रो काम गर्न सफल भएको बताए उनले भने, “उपलब्ध स्रोतसाधनको अधिकतम् उपयोग गर्दै नगरवासीलाई सेवा प्रवाह तथा विकास निर्माणका कामलाई प्रभावकारी रूपमा अघि बढाउन हाम्रो तर्फबाट अधिकतम् प्रयास भइरहेको छ ।”
नगरप्रवक्ता एवं वडा नं ६ का अध्यक्ष राधाकृष्ण श्रेष्ठले शङ्खरापुर नगरपालिकाको विकासका लागि भएका भौतिक तथा योजनागत कामको मात्र नभई आपसी भावनात्मक सम्बन्ध, समझदारी र सहकार्यको अवस्थाबारे समेत समीक्षा हुनुपर्नेमा जोड दिए। उनले आव २०८२\८३ मा वडा नं ६ स्थानीय आवश्यकता र प्राथमिकताका आधारमा कृषि तथा स्वास्थ्य क्षेत्रका कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए।
वार्षिक प्रगति समीक्षा कार्यक्रममा नगरपालिकाका विभिन्न शाखाले आर्थिक वर्ष २०८२\८३ मा सम्पन्न गरेका योजना, कार्यक्रम, सेवा प्रवाह तथा हासिल भएका उपलब्धिबारेका तथ्याङ्क विवरण प्रस्तुत गरिएको थियो।
प्रकाशित समय : २०:४१ बजे

















