गृहपृष्ठ जापानमा अभूतपूर्व वर्षापछि बाढी र पहिरो, चार जनाको मृत्यु

जापानमा अभूतपूर्व वर्षापछि बाढी र पहिरो, चार जनाको मृत्यु

जापानमा अभूतपूर्व वर्षापछि बाढी र पहिरो, चार जनाको मृत्यु

टोकियो ।  जापानमा परेको अभूतपूर्व भारी वर्षापछि आएको बाढी र पहिरोमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ। वर्षाका कारण सडक तथा रेल सेवा अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ भने टोकियोको प्रमुख नरिता विमानस्थलमा करिब ६ हजार यात्रु रातभर अलपत्र परेका छन्।

बिहीबार साँझदेखि चिबा प्रान्तका विभिन्न क्षेत्रमा अत्यधिक वर्षा भएपछि बाढी र पहिरोको जोखिम बढेको थियो। जापान मौसम विज्ञान एजेन्सीले चिबाका लागि पहिलोपटक उच्चस्तरीय भारी वर्षाको चेतावनी जारी गर्दै वर्षा ‘अभूतपूर्व स्तर’मा पुगेको जनाएको थियो।

चिबा प्रान्तको विपद् व्यवस्थापन कार्यालयका अनुसार मृतकमध्ये एक जना ६०–७० वर्ष उमेरका पुरुष हुन्, जसलाई बाढीले डुबाएको सडकमा मृत अवस्थामा फेला पारिएको थियो। त्यस्तै, डुबानमा परेको कारभित्र ६६ वर्षीया महिलाको शव फेला परेको छ। सडकमा अर्का एक व्यक्तिको शव भेटिएको छ भने चौथो मृतकको पहिचान तथा उमेर खुल्न सकेको छैन।

थप दुई जनाको मृत्यु भएको आशंका गरिएको अधिकारीहरूले बताएका छन्।

भारी वर्षाका कारण शुक्रबार बिहानसम्म चिबा प्रान्तका करिब २६ हजार घरपरिवार विद्युत्विहीन भएका थिए। इचिकावा, काशीवा र सकुरा लगायतका क्षेत्रमा ४५ घर पूर्ण रूपमा डुबानमा परेका छन् भने अन्य ३९ घरको भुइँतलासम्म पानी पसेको विपद् व्यवस्थापन कार्यालयले जनाएको छ।

नरिता विमानस्थलमा ६ हजार यात्रु अलपत्र

भारी वर्षाको सबैभन्दा ठूलो असर टोकियोलाई सेवा दिने प्रमुख विमानस्थलमध्ये एक नरिता विमानस्थलमा परेको छ। रेल तथा सडक सेवा प्रभावित भएपछि करिब ६ हजार यात्रु रातभर विमानस्थलमै रोकिएका थिए।

शुक्रबार दिउँसोसम्म विमानस्थलबाट आउने–जाने धेरै रेल सेवा रद्द भएका थिए। अलपत्र यात्रुलाई विमानस्थलका कर्मचारीले निःशुल्क पानी, खाना तथा सुत्ने झोला उपलब्ध गराएको यात्रुले सामाजिक सञ्जालमार्फत बताएका छन्।

रेल सेवा अवरुद्ध भएपछि चिबा स्टेसनमा समेत सयौँ यात्रु अलपत्र परेका थिए। काशीवा सहरका विभिन्न सडकमा बाढीको पानी गाडीको अगाडिको बत्तीको स्तरसम्म पुगेको थियो। चिबाका विभिन्न आश्रयस्थलमा समेत सयौँ मानिसले रात बिताएका छन्।

इचिकावा सहरकी एक महिलाले अचानक आएको बाढीले आफूहरू स्तब्ध भएको बताउँदै विद्युत् आपूर्ति बन्द भएपछि आगामी दिनमा व्यवसाय सञ्चालन गर्न सकिने हो कि होइन भन्ने चिन्ता रहेको बताएकी छन्।

उच्च जोखिमको चेतावनी घटाइयो

अत्यधिक वर्षापछि जारी गरिएको पाँचौँ तहको उच्च जोखिम चेतावनी शुक्रबार बिहानसम्म चौथो तहमा झारिएको छ। जापानको पाँचौँ तहको चेतावनीलाई जीवन जोगाउन तत्काल कदम चाल्नुपर्ने उच्चतम जोखिमको अवस्था मानिन्छ।

पछिल्लो घटनाले जापानमा अत्यधिक वर्षा र जलवायु परिवर्तनबीचको सम्बन्धबारे चिन्ता थप बढाएको छ। वैज्ञानिकहरूका अनुसार मानव गतिविधिका कारण भइरहेको जलवायु परिवर्तनले विश्वभर चरम मौसमी घटना थप तीव्र, लामो र बारम्बार हुने जोखिम बढाइरहेको छ।

प्रकाशित समय : १३:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु