गृहपृष्ठ जलवायु पारदर्शितामा साझा धारणा बनाउन युवा सम्मेलन
जलवायु पारदर्शितामा साझा धारणा बनाउन युवा सम्मेलन
काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी नीति तथा निर्णय प्रक्रियामा युवाको अर्थपूर्ण सहभागिता बढाउने उद्देश्यले तीनदिने ‘लोकल कन्फरेन्स अफ युथ नेपाल २०२६’ शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ।
सम्मेलनमा जलवायु पारदर्शिताका विषयमा साझा धारणा निर्माण गर्न सातवटै प्रदेशका १८० भन्दा बढी युवा सहभागी छन्।
नेपाली युवा फर क्लाइमेट एक्सन र युथ एक्सन फर सस्टेनेबल एन्ड इको नेपालको आयोजनामा भएको सम्मेलन संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (यूएनएफसीसीसी) को आधिकारिक बालबालिका तथा युवा समूहको समर्थनमा आयोजना गरिएको हो।
जलवायु युवा अभियन्ता दीक्षा सुवेदीका अनुसार सम्मेलनमा युवाको क्षमता अभिवृद्धि, नीतिगत सुझाव निर्माण तथा स्थानीय जलवायु अभियानलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय जलवायु प्रक्रियासँग जोड्ने विषयमा छलफल हुनेछ।
सम्मेलनमा जलवायु प्रक्रियामा युवा तथा बालबालिकाको सहभागिता, जलवायु वित्त, परिवर्तनशील हिमाल, जलवायु उत्थानशील शिक्षा, कृषि तथा खाद्य सुरक्षा, खानेपानी, सरसफाइ, जल सुरक्षा, लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरणलगायत विषयमा छलफल हुने आयोजकले जनाएको छ।
नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा न्यून योगदान गरे पनि जलवायु परिवर्तनका कारण बाढी, पहिरो, पानीको अभाव तथा हिमाली र ग्रामीण क्षेत्रमा जीविकोपार्जनसम्बन्धी चुनौती सामना गरिरहेको छ। स्थानीयस्तरमा युवाले गरिरहेका प्रयास र उठाएका आवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जलवायु निर्णय प्रक्रियासँग जोड्नु सम्मेलनको प्रमुख उद्देश्य रहेको सुवेदीले बताइन्।
सम्मेलनले ‘राष्ट्रिय बालबालिका तथा युवा जलवायु परिवर्तनसम्बन्धी घोषणापत्र २०२६’ समेत तयार गर्नेछ। युवाका प्राथमिकता र सुझाव समेटिएको उक्त घोषणापत्रलाई नेपालको राष्ट्रिय जलवायु नीति निर्माण तथा विश्वव्यापी कोप प्रक्रियामा योगदान पुर्याउने आधारका रूपमा अघि बढाउने आयोजकको लक्ष्य छ।
सम्मेलनमा आदिवासी जनजाति, जलवायु जोखिममा रहेका तथा सीमान्तकृत समुदाय, अपाङ्गता भएका व्यक्ति, बालबालिका तथा युवा र लैङ्गिक समानताका क्षेत्रमा सक्रिय युवाको सहभागितालाई प्राथमिकता दिइएको आयोजकले जनाएको छ।
प्रकाशित समय : १३:४९ बजे


















