हिमालमा करोडौँको संरचना बन्नु सङ्घीयताको उपलब्धि होः मुख्यमन्त्री शाही
वि.सं.२०८३ कात्तिक २८ शनिवार २१:०३
shares

कर्णाली। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले हिमालमा करोडौँको संरचना निर्माण हुनु सङ्घीयताको उपलब्धि भएको बताएको छन्।
मुगुम कार्मरोङ गाउँपालिका–६ मुगुको रिउस बजारमा निर्मित १० श्ययाको अस्पताल भवन आज उद्घाटन कार्यक्रममा मुख्यमन्त्री शाहीले कर्णालीको विकट मुगु र मुगुको दुर्गम गाउँमा यो स्तरको स्वास्थ्य संरचना बन्नु यहाकाँ बासिन्दाका लागि निकै खुसी र गौरवको विषय भएको बताए ।
सडक र निर्माण सामग्री पुर्याउन सहज नहुँदा पनि १० करोड २४ लाख ९३ हजारमा अस्पतालको संरचना बनाउने निर्माण कम्पनीलाई उनले धन्यवाद ज्ञापन गरे ।
उनले भने, “सङ्घ र प्रदेश सरकारबाट सहज पहुँच नभएको दुर्गम पालिकामा १० करोडको ठूलो स्वास्थ्य संरचना बन्नुमा सङ्घीयताको उपज र उपलब्धि हो । सङ्घीयतापछि गाउँमा शिक्षा, खानेपानी, विद्युत् र सञ्चारका संरचना बन्दै गएका छन् । प्रदेश सरकारसहित यसको थप विकास र प्रभावकारी सेवा प्रवाहमा सबैले ध्यान दिनुपर्ने दिनुपर्दछ ।” मुख्यमन्त्री शाहीले सङ्घीयता खर्चिलो नभई उत्पीडित र पिछडिएको क्षेत्र तथा वर्गका लागि वरदान सावित भएको जिकिर गरे ।
अस्पतालको थप स्तरोन्नति गर्नेमा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने उनको भनाइ थियो । कार्मारोङ्मा १० श्ययाको अस्पताल संरचना बनिसकेकाले यहाँका नागरिकको स्वास्थ्य सेवाको सहज प्राप्तिका लागि दक्ष चिकित्सकीय जनशक्ति उपलब्ध गराउन विशेष पहल गरिने कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री जीतबहादुर मल्लले बताए । उनका अनुसार अस्पतालबाट प्रभावकारी सेवा प्रवाह र त्यसको निरन्तरलाई कायम राख्न सबै सरोकारवालाहरूको भूमिका रहनुपर्दछ ।
नेपाल सरकारको ‘एक स्थानीय तह, एक अस्पताल’ कार्यक्रमअन्तर्गत अस्पताल निर्माण गरिएको मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले जानकारी दिनुभयो । यो अस्पतालबाट वडा नं १ देखि ६ सम्मका मह, माग्री, रिउस, पुअ, दाउरा, सेरोग, कात्तिक क्रिम्रे, ताखाखारी, डोल्फु, चितै र मुगुमका नागरिक सेवा लिन पाउने अध्यक्ष लामाले बताए । ७, ८ र ९ वडावासीलाई रिउसभन्दा मुगु गमगढी नजिक हुने उनको भनाइ थियो ।

























