गृहपृष्ठ पन्ध्र जनामा औलो रोगको सङ्क्रमण
पन्ध्र जनामा औलो रोगको सङ्क्रमण
चितवन । गत आर्थिक वर्षमा जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये १५ जनामा औलो ९मलेरीया०को समस्या देखिएको छ । तीन हजार ४१५ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएको हो ।
जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार यसरी सङ्क्रमण देखिनेमा वैदेशिक रोजगारीबाट फर्किएका छन् । एनोफिलिस जातको पोथी लामखुट्टेले टोक्दा औलो लाग्ने गर्दछ । रोग लाग्दा ज्वरो आइरहने वा दिन बिराएर ज्वरो आउने, टाउको बेस्सरी दुख्ने, वान्ता हुने, जाडो हुने, कम्पन छुट्ने, पसिना आएर ज्वरो घट्ने लक्षण देखिने गरेको छ ।
आर्थिक वर्ष २०८१/०८२ मा आठ हजार ४०५ जनाको नमुना परीक्षण गर्दा ११ जनामा औलो रोग देखिएको थियो । यस्तै आर्थिक वर्ष २०८०/०८१ मा आठ हजार ८६० जनाको परीक्षण गर्दा १० जनामा सङ्क्रमण देखिएको केसीले जानकारी दिए।
नेपालमा मुख्य गरी दुई प्रजातिका औलोका परजीवी पाइने गर्दछ । प्लाज्मोडियम भाइभेक्स र प्लाज्मोडियम फाल्सिपारम रहेका छन् । नेपालमा तीमध्ये भाइभेक्स जातको परजीवी बढी देखिने गर्दछ । फाल्सिपारम जातको परजीवी औलो रोगका सङ्क्रमितमध्ये १५ देखि २० प्रतिशतमा देखिने गर्दछ । जसले मानिसको स्नायु प्रणालीमा प्रभाव पार्ने उनले बताए ।
भाइभेक्स परजीवी ७० देखि ८० प्रतिशत देखिने गरेको छ । विदेशबाट आउने नेपालीमा फाल्सिपारम परजीवी भेटिने गरेको उहाँले बताउनुभयो । औलो सङ्क्रमित लामखुट्टेको टोकाइबाट यो रोग सर्दछ । घर गाउँ र समुदाय सफा राखी लामखुट्टेले फुल पार्ने ठाउँलाई पुर्ने, सुत्दा झुलभित्र सुत्नेजस्ता कार्य गर्नु आवश्यक रहेको उनले बताए ।
प्रकाशित समय : ०६:०९ बजे


















