महाकवि देवकोटाको ११८औँ जन्मजयन्तीका अवसरमा दुई जना सम्मानित
वि.सं.२०८३ कात्तिक २३ सोमवार ०९:५५
shares

काठमाडौँ। महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीको अवसरमा वरिष्ठ साहित्यकार एवं नेपाल प्रज्ञा प्रतिष्ठान पूर्वउपकुलपति वासुदेव त्रिपाठी र पत्रकार निर्मल अर्याललाई सम्मान गरिएको छ । नयाँबस्ती युवा क्लबको ४०औँ वार्षिकोत्सवको उपलक्ष्यमा आइतबार यहाँ आयोजित कार्यक्रममा उनिहरूलाई सम्मान गरिएको हो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गा उप्रेतीले दुई जनालाई सम्मान गर्दै नेपाली भाषा, साहित्य, वाङ्मय र संस्कृतिको उन्नयनमा त्रिपाठी र अर्यालले ठूलो योगदान गर्नुभएको बताए । उनले साहित्यको विकासका लागि भाषा–शैलीमा आधुनिक वाक्यविन्यासलाई प्रयोगमा ल्याउँदा नेपाली भाषा थप गतिशील हुने विश्वास व्यक्त गरे ।
गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसालले लेखकले समाजमा भएका विसङ्गति र विकृतिका विरुद्ध साहित्य सिर्जना गरी आर्थिक तथा सामाजिक रुपान्तरणमा भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
सम्मानित स्रष्टा त्रिपाठीले सामाजिक विकासका लागि साहित्य सशक्त माध्यम भएको बताउँदै स्रष्टाले समाजका सांस्कृतिक सम्पदा, जातीय विविधता, आर्थिक पीरमर्कालाई गहिरो अध्ययन, अनुभूति गरी र भाषा(कौशलमार्फत यथार्थतालाई प्रस्तुत गर्नुपर्ने बताए ।
सम्मनित स्रष्टा अर्यालले महाकवि देवकोटाको जन्मजयन्तीको अवसरमा सम्मान हुन पाउँदा खुसी व्यक्त गर्दै सामाजिक क्षेत्रमा थप क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे ।

























