गृहपृष्ठ तीन नमूना विद्यालयलाई महानगरकाे ३० लाख रूपैयाँ

तीन नमूना विद्यालयलाई महानगरकाे ३० लाख रूपैयाँ

तीन नमूना विद्यालयलाई महानगरकाे ३० लाख रूपैयाँ

काठमाडौं महानगरपालिकाले तीन नमूना विद्यालयलाई ३०-३० लाख रुपैयाँ उपलब्ध गराएको छ ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममै काठमाडौं महानगरपालिकाले तीन वटा विद्यालयलाई नमूना विद्यालय घोषणा गरेको थियो। घोषणा भएका तीन विद्यालयलाई महानगरले ३० लाखका दरले रकम उपलब्ध गराएको हो । भानु माध्यमिक विद्यालय, संस्कृत माध्यमिक विद्यालय र कन्या माध्यामिक विद्यालयलाई रकम उपलब्ध गराएको हो ।

महानगरले चालु आवमा नमूना विद्यालयका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । विशेष गरी नमूना विद्यालयमा प्रविधिको सहज पहुँच, विद्यार्थीको अनुपातमा विषयगत शिक्षक दरबन्दी, प्रविधिमैत्री तथा गुणस्तरीय शिक्षा, अन्य विद्यालयमा भन्दा आकर्षक आन्तरिक कार्यक्रमजस्ता विषय समावेश हुनुपर्छ ।

तीनवटै विद्यालयले उपलब्ध रकमबाट थप भौतिक पूर्वाधार सुधार र अन्य केही फरक किसिमको सिकाइका कार्यक्रम गर्नुपर्ने महानगर शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले जानकारी दिए । उनका अनुसार विद्यालयले उक्त रकम कुन शीर्षकमा खर्च गर्ने भनी तयार पारेको प्रस्ताव महानगरमा बुझाइ सकेका छन् । अब प्रस्तावअनुसार काम भयो/भएन भने महानगरले अनुगमन गर्नेछ ।

महानगरका नमूना विद्यालयमा ऐतिहासिक सम्पदा, कृषि र कलाको बारेमा पठनपाठन गराउने तयारी छ । नमूना विद्यालयअन्तर्गत कन्या माध्यमिक विद्यालयमा ऐतिहासिक सम्पदा र वातावरण संरक्षण कसरी गर्ने भन्नेबारे अध्ययन गराउने तयारी छ ।

त्यसैगरी संस्कृत विद्यालयमा सहरी खेती कार्यक्रमलाई कसरी प्रभावकारी बनाउन र खुला स्थान थोरै भएको ठाउँमा कसरी कृषिमा काम गर्न सकिनेबारे सिकाइने छ । त्यस्तै भानु माविमा भने कला र संस्कृतिको विषयमा पठनपाठन गर्ने तयारी छ ।

हाल महानगरमा ८९ वटा सामुद्यायिक विद्यालय छन् । जसमा ५९ माध्यमिक विद्यालय छन् भने ३० प्राथमिक विद्यालय छन् । जसमा ५२ हजार विद्यार्थीले अध्ययन गर्दैछन्। त्यसैगरी पाँच सय ४० निजी विद्यालयमा एक लाख ५० हजार विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित समय : १९:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु