सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको प्रगति विवरण सार्वजनिक
वि.सं.२०८३ कात्तिक ११ बुधवार २१:१६
shares

सुदूरपश्चिम। कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ पदाधिकारी नियुक्तिपछिको १०० दिनमा भएको प्रगति विवरण सार्वजनिक गरिएको छ ।
विश्वविद्यालयको उपकूलपतिमा डा सुनिलकुमार जोशी र रजिष्ट्रारमा डा भीमबहादुर चन्द नियुक्त भएको एक सय दिन पुगेको अवसरमा आज प्रगति विवरण सार्वजनिक गरिएको हो । यस अवधिमा संस्थागत विकास, शैक्षिक कार्यक्रम स्वीकृति, शिक्षण अस्पतालको सुदृढीकरण, जनशक्ति व्यवस्थापन तथा पूर्वाधार विकासका क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको सार्वजनिक विवरणमा उल्लेख छ ।
उपकूलपति डा जोशीले नेपाल सरकारको निर्णयपछि विभिन्न चुनौतीका बाबजुत विश्वविद्यालयले नीतिगत, प्रशासनिक, शैक्षिक तथा चिकित्सकीय क्षेत्रमा योजनाबद्ध रूपका कार्य अगाडि बढाइएको बताए । उनले सुदूरपश्चिम प्रदेशका नागरिकलाई आफ्नै प्रदेशमा गुणस्तरीय, सर्वसुलभ तथा विशिष्टीकृत स्वास्थ्य सेवा उपलब्ध गराउने, दक्ष स्वास्थ्य जनशक्ति उत्पादन गर्ने र चिकित्सा शिक्षा तथा स्वास्थ्य अनुसन्धानको केन्द्रका रूपमा विकास गर्ने सरकारको दीर्घकालीन लक्ष्यअनुसार आफूहरू कटिबद्ध भएर लागिरहेको बताए ।
विश्वविद्यालयमा चार शैक्षिक कार्यक्रम सञ्चालनका लागि ९० सिट स्वीकृति, शिक्षण अस्पतालमा ६२२ शय्या व्यवस्थापन तथा छात्रवृत्तिका लागि सात करोड ३९ लाख ३९ हजार स्रोत सुनिश्चिततासहित संस्थागत र शैक्षिक विकासका क्षेत्रमा उल्लेख्य प्रगति हासिल भएको विश्वविद्यालयले जनाएको छ ।
प्रगति विवरणअनुसार चिकित्सा शिक्षा आयोगबाट एमबिबिएसका लागि ५०, बिएस्सी नर्सिङमा २०, बिएस्सी एमएलटीमा १० र र ब्याचलर अफ अप्टोमेट्री कार्यक्रम सञ्चालनका लागि १० गरी कुल ९० सिट स्वीकृत भएका छन् । चिकित्सा शिक्षामा आर्थिक रूपमा कमजोर तथा योग्य विद्यार्थीको पहुँच सुनिश्चित गर्न स्वीकृत शैक्षिक कार्यक्रमका लागि ७५ प्रतिशत छात्रवृत्ति व्यवस्थापन गर्ने उद्देश्यले सात करोड ३९ लाख ३९ हजार स्रोत सुनिश्चित गरिएको विश्वविद्यालयले जनाएको छ ।
विश्वविद्यालयले चिकित्सा शिक्षा तथा स्वास्थ्य अनुसन्धानको राष्ट्रिय र अन्तरराष्ट्रिय केन्द्रका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्यसहित संस्थागत संरचना, नीतिगत आधार, शैक्षिक कार्यक्रम, अस्पताल सेवा र जनशक्ति व्यवस्थापनमा काम अघि बढाएको विवरणमा उल्लेख छ ।
संस्थागत संरचना र नीतिगत आधार तयार
विश्वविद्यालयले संस्थालाई व्यवस्थित, पारदर्शी, जवाफदेही तथा संस्थागत रूपमा सक्षम बनाउन सङ्गठनात्मक संरचना तयार गर्नुका साथै विभिन्न नियमावली पुनरावलोकन गरेको जनाएको छ ।
विश्वविद्यालय सभा सञ्चालन कार्यविधि, शिक्षक तथा कर्मचारी नियमावली, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, खरिद नियमावली, पदाधिकारीको पारिश्रमिक तथा सुविधासम्बन्धी नियमावली र विषय समिति नियमावली पुनरावलोकन गरिएको प्रगति विवरणमा उल्लेख छ ।
यसैगरी प्राज्ञ तथा विज्ञहरूको सेवा, सुविधा र पारिश्रमिकसम्बन्धी व्यवस्था तथा सङ्गठन र व्यवस्थापन सर्वेक्षण (ओ एन्ड एम सर्भे) पनि पुनरावलोकन गर्नुका साथै विश्वविद्यालयको आधिकारिक झण्डा तथा छापसमेत तयार गरिएको विवरणमा जनाइएको छ ।
त्यहाँ रहेको अस्पताललाई विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा रूपान्तरण गर्ने सरकारको निर्णयसँगै आवश्यक संस्थागत संरचना निर्माण र व्यवस्थापनको काम अघि बढाइएको छ ।
शिक्षण अस्पतालमा सेवा विस्तार
विश्वविद्यालयअन्तर्गतको शिक्षण अस्पतालमा हाल विभिन्न विभागमा ६२२ शय्या मौजुदा रहेको प्रगति विवरणमा उल्लेख छ । चिकित्सा शिक्षा आयोगको ३०० शय्याको मापदण्डका सन्दर्भमा विश्वविद्यालयले सेवा क्षमता विस्तारको काम अघि बढाएको जनाएको छ । हाल अस्पतालमा जनरल मेडिसिन, जनरल सर्जरी, अर्थोपेडिक्स, स्त्री तथा प्रसूति रोग, बालरोग, मानसिक रोग, छाला रोग, नाक–कान–घाँटी, न्युरोलोजी, दन्तरोग तथा अन्य विभागका सेवा सञ्चालनमा छन् ।
अस्पतालमा आकस्मिक उपचार, सघन उपचार कक्ष (आइसियु), नवजात शिशु सघन उपचार कक्ष (एनआइसियु), बाल सघन उपचार कक्ष (पिआइसियु)उच्च निर्भरता उपचार कक्ष (एचडियु), शल्यक्रिया कक्ष तथा शल्यक्रियापछिको उपचार सेवा उपलब्ध रहेको विवरणमा उल्लेख छ ।
यसैगरी प्याथोलोजी, बायोकेमिस्ट्री, माइक्रोबायोलोजी, एक्स–रे, अल्ट्रासाउन्ड, इसिजी, इकोकार्डियोग्राफी, इन्डोस्कोपी, कोलोनोस्कोपी, फिजियोथेरापी र फार्मेसीलगायतका सेवा सञ्चालन ल्याइएको जनाइएको छ ।
अस्पतालको सेवा क्षमता विस्तार गर्न रक्षा मन्त्रालयमार्फत प्राप्त ५०० थान शय्या इन्डोर वार्ड, आइसियु तथा आकस्मिक कक्षमा व्यवस्थापन गरिएको विश्वविद्यालयले जनाएको छ ।
आगामी दिनमा आवश्यक जनशक्ति र उपकरणसहित शिक्षण अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गर्ने, क्याथ ल्याब स्थापना गरी मुटुरोगसम्बन्धी विशिष्टीकृत उपचार सेवा विकास गर्ने तथा बर्न युनिट र ट्रमा सेन्टर स्थापना गर्ने योजना रहेको सार्वजनिक विवरणमा उल्लेख छ । यसैगरी सिटी स्क्यान, एमआरआई, डायलाइसिस, युरोलोजी तथा क्यान्सर रोगसम्बन्धी सेवा विस्तारलाई प्राथमिकतामा राखिएको उल्लेख छ ।
जनशक्ति व्यवस्थापन र शैक्षिक पूर्वाधारमा जोड
प्रगति विवरणअनुसार विश्वविद्यालय तथा शिक्षण अस्पताललाई प्रभावकारी रूपमा सञ्चालन गर्न दक्ष जनशक्ति व्यवस्थापनलाई प्राथमिकता दिइएको छ । विश्वविद्यालयमा ५४४ स्वीकृत दरबन्दी रहेकामा हाल ४०० जना कार्यरत छन् भने चिकित्सक तथा स्वास्थ्यकर्मीसहित १५१ जनाको छनोट प्रक्रिया अघि बढाइएको छ ।
विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत, नर्सिङ जनशक्ति, प्रयोगशाला तथा रेडियोलोजी प्राविधिकलगायत आवश्यक स्वास्थ्यकर्मी व्यवस्थापनका लागि प्रक्रिया अघि बढाइएको विश्वविद्यालयले जनाएको छ ।
चिकित्सा शिक्षाको गुणस्तर सुनिश्चित गर्न बेसिक साइन्स विभाग तथा शैक्षिक प्रयोगशालाको तयारीलाई पनि प्राथमिकता दिइएको छ । आवश्यक प्याकल्टी तथा सहायक जनशक्तिको व्यवस्था, प्रयोगशालाका लागि न्यूनतम मापदण्ड निर्धारण र उपकरण तथा शैक्षिक सामग्रीको पहिचान गरिएको प्रगति विवरणमा उल्लेख छ ।
विद्यार्थी भर्नाअघि पठनपाठनका लागि थप उपकरण खरिद तथा जडान गर्ने योजना अघि बढाइएको पनि जनाइएको छ । आर्थिक वर्ष २०८३/८४ का लागि तयार गरिएको बजेट तथा कार्यक्रममा क्याथ ल्याब, बर्न युनिट, सिटी स्क्यान तथा एमआरआई, डायलासिस सेवा, ब्लड बैंक स्थापना, युरोलोजी, अर्थोपेडिक्स र प्रसूति शल्यक्रिया कक्षलगायत सेवा विस्तारलाई प्राथमिकताका साथ अगाडि बढाइएको जनाइएको छ ।
विश्वविद्यालयले सेवा प्रवाहका साथै अस्पताल तथा परिसरलाई स्वच्छ, हरियालीयुक्त र बिरामीमैत्री बनाउने अभियान पनि सञ्चालन गरिरहेको जनाएको छ ।

























