काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

स्कुलमा सिकेको सीप घरमै प्रयोग, च्याउ खेतीबाटै खर्च जुटाउँदै

840
shares

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–९, पिपरियाका दुई दाजुबहिनी सुशान्त भाट र सम्झना भाटले पढाइसँगै घरमै च्याउ उत्पादन गरेर आत्मनिर्भर बन्ने प्रयासमा छन् । सानै उमेरमा विद्यालयमा सिकेको ज्ञानलाई व्यवहारमा उतार्दै उनीहरूले च्याउ खेती सुरु गरेका हुन्।

विणा माध्यमिक विद्यालयमा अध्ययनरत १४ वर्षीय सुशान्त र १३ वर्षीया सम्झनाले घरमै च्याउ उत्पादन गरी बिक्री गर्दै आएका छन्। कलिलो उमेरमै उनीहरूमा आत्मनिर्भर बन्ने र र भविष्यमा उद्यमी बन्ने सोच छ।

सम्झना कक्षा ९ मा अध्ययनरत छिन् । विद्यालयको विज्ञान विषयअन्तर्गत च्याउ उत्पादन गर्ने तरिकाबारे प्रयोगात्मक रूपमा सिकेपछि घरमा पनि च्याउ खेती गर्न थालेको उनी बताउँछिन्।

‘विद्यालयमा च्याउ उत्पादन गर्ने तरिका सिकेका थियौँ। त्यही सीपलाई घरमा पनि प्रयोग ग¥यौँ। च्याउ खेती गर्न थालेको तीन वर्ष भयो,’ सम्झनाले भनिन् ।

विद्यालयमा सिकेको ज्ञानले आफूलाई नयाँ काम गर्न प्रेरित गरेको उनको भनाइ छ । पढाइसँगै उत्पादनमूलक काममा लाग्दा सीप र अनुभव दुवै बढेको उनी बताउँछिन्।

च्याउ उत्पादन गरेर बिक्री गर्दा सम्झनाले गत वर्ष करिब ४० हजार रुपैयाँ आम्दानी गरेको बताइन् । च्याउ बेचेर आएको पैसाले कापीकलम किन्ने र आफ्नो व्यक्तिगत खर्च जुटाउने गरेको उनको भनाइ छ।

सानै उमेरमा आफ्नै मेहनतबाट आम्दानी गर्न पाउँदा उनलाई खुसी लागेको छ । परिवारको सहयोगमा च्याउ उत्पादन गर्ने, त्यसको हेरचाह गर्ने र बिक्रीका लागि तयार पार्ने काममा उनी सक्रिय छिन् । पढाइसँगै सीप सिकेर काम गर्न सके आफ्ना आवश्यकताका लागि अरूमा निर्भर हुन नपर्ने उनको अनुभव छ ।

सुशान्त पनि बहिनीसँगै च्याउ खेतीमा संलग्न छन् । विद्यालयमा सिकेको कुरा घरमा प्रयोग गर्दै दुवै जनाले मिलेर च्याउ उत्पादन गर्ने गरेको उनले बताए । भविष्यमा पनि यही व्यवसायलाई निरन्तरता दिने उनको सोच छ ।

‘हामी दाजुबहिनी मिलेर च्याउ उत्पादन गर्छौँ। विद्यालयमा सिकेको सीप घरमा प्रयोग गर्न पाउँदा राम्रो लागेको छ । भविष्यमा पनि यही व्यवसायलाई अगाडि बढाउने सोच छ,’ सुशान्तले भने ।

उनीहरू अहिले पनि च्याउ उत्पादनका लागि आवश्यक तयारीमा जुटिरहेका छन् । विद्यालयमा सिकेको सीपलाई व्यवहारमा उतार्दै उनीहरूले उद्यमशीलताको अभ्यास गरिरहेका छन्।

नेपालमा अवसर नदेखेर धेरै युवा विदेश जाने सोच बनाइरहेका बेला सुशान्त र सम्झनाजस्ता बालबालिकाले भने आफ्नै ठाउँमा केही गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन्। च्याउ खेतीजस्ता साना व्यवसायबाट पनि आम्दानी गर्न सकिने र भविष्यमा त्यसलाई विस्तार गर्न सकिने उनीहरूको विश्वास छ ।

विद्यालयमा प्राप्त व्यावहारिक शिक्षालाई घरपरिवारको सहयोगमा उपयोग गर्नसके विद्यार्थीले पढाइसँगै सीप र उद्यमशीलता विकास गर्न सक्छन्।

सानै उमेरमा च्याउ खेतीमा लागेका यी दाजुबहिनीको प्रयासले मेहनत, सीप र लगनशीलता भए आफ्नै देशमा पनि अवसर सिर्जना गर्न सकिन्छ भन्ने उदारण बनेका छन् ।