४ अर्ब लगानीमा नेपालकै ठूलो टाइल्स उद्याेग स्थापना हुँदै
कजारिया सेरामिक्स लिमिटेड र रमेश कर्पबीच सम्झाैता
वि.सं.२०७९ कात्तिक २१ सोमवार १०:२९
shares

भारतको पहिलो र विश्वको सातौं ठूलो टाइल्स कम्पनी कजारिया सेरामिक्स लिमिटेड र नेपालको व्यापारिक समूह रमेश कर्पबीच नेपालकै ठूलो टाइल्स उत्पादन कम्पनी स्थापना गर्ने सम्झौता भएको छ । उक्त सम्झौताअनुसार कम्पनीले नेपालमा हालकै सबैभन्दा ठूलो टाइल्स उत्पादन कम्पनी स्थापना गर्ने छ ।
स्थापना गर्न लागिएको कम्पनीको वार्षिक उत्पादन क्षमता ८ लाख वर्गमिटर हुने बताइएको छ । रमेश कर्पका कार्यकारी निर्देशक प्रतिक जलान र कजारिया सेरामिक्स लिमिटेडका अध्यक्ष÷प्रबन्ध निर्देशक अशोक कजारियाले आइतबार सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार दुवै कम्पनीको लगानी ५०/५० प्रतिशत हुनेछ र नेपालमै अत्याधुनिक उत्पादन कम्पनी स्थापना गर्न सम्बन्धित कम्पनीको तर्फबाट सम्झौता भएको हो । सिरामिक र भिट्रिफाइड टाइल्स उत्पादन गर्ने नवनिर्मित कारखाना सन् २०२३ को अन्त्यसम्ममा सञ्चालनमा आउने अपेक्षा गरिएको छ । कारखाना भविष्यमा निर्यातका लागि तयार हुने र नेपाली बजारको मागलाई पूरा गर्ने परिकल्पनाका साथ स्थापना गर्न लागिएको बताइएको छ । यसका लागि नेपालमा उपलब्ध प्रमुख कच्चा पदार्थहरू टाइल्स उत्पादनमा प्रयोग गरिनेछ ।
नयाँ योजनाको बारेमा संयुक्त प्रबन्ध निर्देशक कजारियाले नेपाल आफूहरुका लागि लागि सधैं महत्वपूर्ण बजार भएको बताए । उनले भने, ‘हामी यहाँ दुई दशकभन्दा बढी समयदेखि उपस्थित छौं र यो कदमले नेपालको बजारमा हाम्रो उपस्थितिलाई अझ बलियो बनाउनेछ । यो परियोजना तत्काल शुरु गरी आउँदो २०२३ को अन्त्य सम्ममा सञ्चालनमा आउनेछ । हामी हाम्रा विश्वस्तरीय उत्पादनहरु नेपालमै प्रतिस्पर्धात्मक रुपमा उपलब्ध गराउन चाहन्छौं । हामी विश्वस्त छौं कि यो सुविधासम्पन्न प्लान्ट एक प्रतिष्ठित नमूना उद्योग बन्नेछ । जसमा अत्याधुनिक प्रविधिको प्रयोग, गुणस्तर, दक्षता र वातावरणीय मापदण्डहरु प्राथमिकताका साथ प्रयोजन गरिनेछ ।’
यो एक ऐतिहासिक परियोजना भएकाले यसले देशमा रोजगारी सिर्जना गर्न महत्वपूर्ण टेवा पुर्याउने रमेश कर्पका कार्यकारी निर्देशक जलानले बताए । ‘यो उद्योगबाट उत्पादित विश्वस्तरीय टाइल्स र अन्य उत्पादनहरु देशमै प्रतिस्पर्धात्मक मूल्यमा उपलब्ध हुनेछ,’ उनले भने ।
रमेश कर्पका उपाध्यक्ष रोहित गुप्ताले नेपाललाई औद्योगिकीकरण गर्ने नेपाल सरकारको लक्ष्यलाई साकार बनाउन रमेश कर्प प्रतिबद्ध रहने जनाए । ‘आयोजना शुरुवातसँगै देशको अर्थतन्त्र बढ्नुका साथै मुलुकमा ठूलो लगानीको वातावरण सिर्जना गर्नेछ र निकट भविष्यमा नेपालमा यस्तै अन्य ठूला लगानीहरु भित्रिनेछ भन्ने कुरामा विश्वस्त छौं,’ उनको भनाइ छ ।
३४ वर्ष पहिले स्थापना भएको कजारिया सेरामिक्स भारतमा सिरेमिक/भिट्रिफाइड टाइल्सको सबैभन्दा ठूलो र विश्वको सातौं ठूलो उद्योग हो । यसको भारतमा ८ (आठ) उत्पादन कम्पनी छन् जुन उत्तर प्रदेशको सिकन्दराबाद, राजस्थानको गैलपुर र मालुटाना, आन्ध्र प्रदेशको विजयवाडा र श्रीकालहस्ती, तेलंगानाको बालानगर र गुजरातमा तीनवटा छन् । उत्पादनको वार्षिक क्षमता ८४ मिलियन वर्गमिटर रहेको छ । कजारियाले सिरेमिक वाल र फ्लोर टाइल्स हरूका ३००० भन्दा बढी डिजाइन र प्रकार उत्पादन गर्दै आइरहेको छ । साथै भिट्रिफाइड टाइल्स , डिजाइनर टाईल्स र अरु थुप्रै उत्पादन बजारमा भित्राएको छ ।
रमेश कर्प वहुआयामिक एवं ठूला निजी उद्योग तथा व्यापारिक समूहमध्ये एक हो । स्थापना कालदेखि नै रमेश कर्प आयात निर्यात, सञ्चार प्रविधि, वित्तीय सेवा, रियल स्टेट, जलविद्युत, खानी आदिमा प्रत्यक्ष संलग्न भई आइरहेको छ । यो ५० वर्षअघि स्थापना भएको हो ।

























