गृहपृष्ठ ‘कमेडियन अपूर्वलाई तुरून्त छोड्न लगाऊ’
‘कमेडियन अपूर्वलाई तुरून्त छोड्न लगाऊ’
गायक योगेश्वर अमात्यले प्रहरी हिरासतमा रहेका कमेडियन अपूर्व क्षितिज सिंहलाई रिहा गर्न लगाउनू भन्दै अभियन्ताहरूलाई आग्रह गरेका छन् ।
उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेवा अभियन्ताहरूसँग यस्ताे आग्रह गरेका हुन् । ‘हाम्रो नेवा: संघ-संगठन पनि गज्जबको लाग्छ। चाहिने मुद्दामा ध्यान छैन । सानो तिनोमा अल्झेर के-के नै गरेको जस्तो । अपूर्वलाई तुरून्त छोड्न लगाऊ,’ उनले फेसबुकमा लेखेका छन् ।
कमेडियन अपूर्वले नेवाको परम्परा शीर्षकमा गरेको स्ट्यान्डअप कमेडीको भिडियाेमा नेवा समुदायलाई लक्षित गरी भाषा, खाना तथा संस्कृतिमा प्रहार गरेको भन्दै अभियन्ताहरूले विरोध गरेका थिए । विरोध भएपछि २४ घण्टा नबित्दै सो भिडिया युट्युबबाट हटाइएको थियो ।
यसमा अपूर्वले माफीसमेत मागिसकेका छन् । तर अभियन्ताहरूले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएपछि गत आइतबार कमेडियन अपूर्व पक्राउ परेका हुन् । उनलाई १० दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुमति दिएको छ ।
प्रकाशित समय : १५:२३ बजे



















