गृहपृष्ठ फोहोर दिएवापत नागरिकलाई पैसा दिने योजना बनाउँदै छु : मन्त्री चौधरी

फोहोर दिएवापत नागरिकलाई पैसा दिने योजना बनाउँदै छु : मन्त्री चौधरी

फोहोर दिएवापत नागरिकलाई पैसा दिने योजना बनाउँदै छु : मन्त्री चौधरी

सहरी विकासमन्त्री मेटमणि चौधरीले फोहोर दिएवापत नागरिकलाई पैसा दिने गरेर फोहोर व्यवस्थापनको योजना बनाइरहेको बताएका छन् । बुधबार मन्त्री बनेको महिना दिनको कार्य प्रगति र आगामी योजना प्रस्तुत गर्दै मन्त्री चौधरीले मन्त्रालयले काठमाडौँमा नै फोहोर व्यवस्थापनको योजना अघि बढाइरहेको बताएका हुन् ।

उनले अहिलेसम्म नागरिकबाट फोहोरको पैसा लिने गरेको तर अब मन्त्रालयले बनाउने नयाँ प्रोजेक्टमा नागरिकलाई पैसा दिने गरेर फोहोर व्यवस्थापन गर्ने रणनीति लिएको बताए ।

उनले ल्यान्डफिल साइटमा फोहोर लैजाने प्रोजेक्ट नै रोक्ने योजना ल्याउन छलफल भइरहेको उल्लेख गर्दै उनले फोहोरबाट काठमाडौँभित्रै मल, बिजुली, ग्यासलगायतका वस्तु उत्पादन गर्ने बताए ।

मन्त्री चौधरीले आफ्नो कार्यकाल छोटो भए पनि यस अवधिभित्रै ग्यास, मल उत्पादन गर्ने व्यवस्थामा लैजाने बताए ।

उनले सिसडोलवासीलाई शिर उच्च बनाएर हिँड्ने वातावरण सिर्जना गर्ने प्रतिवद्धता जनाए । उनले सिसडोलवासीले आफूलाई भदौसम्म फोहोर व्यवस्थापनको उचित काम नभए फोहोरको गाडी ल्यान्डफिल साइटमा जान नदिने चेतावनी दिएको बताए ।

मन्त्री चौधरीले आफू मन्त्री बनेपछि मन्त्रालयले असार महिनामा मात्र २७ प्रतिशत बराबर वित्तीय प्रगति हासिल गरेको बताए ।

उनले गत आर्थिक वर्षमा मन्त्रालयले कुल बजेट ३० अर्ब ८१ करोडमध्ये पुँजीगततर्फ विनियोजित २९ अर्ब ५ करोड रुपैयाँमा २१ अर्ब ६१ करोड अर्थात् झन्डै ७० प्रतिशत खर्च भएको बताए । मन्त्री चौधरीले मन्त्रालयको असार महिनामा मात्रै २६।८ प्रतिशत वित्तीय प्रगति हासिल भएको उल्लेख गरे ।

कार्यभार सम्हालेको यस अवधिमा नयाँ सहरतर्फ ११ वटा भवन निर्माण, ४ सय सडक बत्ती जडान, पाँच हाटबजार, दुई बसपार्क, पाँच खेल मैदान, पाँच पार्क निर्माण, तीन खानेपानी आयोजना निर्माण र तीन वटा जग्गा एकीकरण आयोजना सुरुवात गरेको पनि जानकारी गराए ।

नेपाल सहरी शासकीय पूर्वाधार विकास आयोजनाअन्तर्गत पोखरामा करिब एक अर्ब र तिलोत्तमा नगरपालिका करिब ७८ करोड लागतको सडक निर्माण कार्यको सम्झौता भएको पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

त्यसैगरी मोरङ जिल्लाको उर्लाबारीमा करिब ५१ करोड र विर्तामोड नगरपालिकामा करिब ७६ करोड लागतमा सडक निर्माण कार्य अघि बढाइएको जनाइएको छ । त्यसैगरी, सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत एक महिनामा करिब १५ हजारको संख्यामा आवास एकाइको निर्माण सम्पन्न भएको छ ।

त्यस्तै, ३५ परिवारका लागि यस अवधिमा आवासको छाना छाउने काम सम्पन्न भइ अन्य निर्माण्को काम अन्तिम चरणमा रहेको जानकारी दिएको छ । सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत नै आगामी दुई महिनाभित्र करिब २० हजार आवासको फुसको छानो फेर्ने पनि पत्रकार सम्मेलनमा मन्त्री चौधरीले जानकारी दिए ।

प्रकाशित समय : १२:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु