गृहपृष्ठ बंगलादेशमा बलात्कारीलाई मृत्युदण्ड दिने प्रस्ताव पारित
बंगलादेशमा बलात्कारीलाई मृत्युदण्ड दिने प्रस्ताव पारित
बंगलादेशमा बलात्कारीलाई मृत्युदण्डको सजाय दिने प्रस्ताव पारित भएको छ । प्रधानमन्त्री शेख हसिनाको अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषद बैठकले बलात्कारीलाई मृत्युदण्ड दिने प्रस्ताव पारित गरेको हो ।
धेरैतिरबाट सुझाव, माग र दबाब आएकाले मृत्युदण्डको व्यवस्थाका लागि प्रस्ताव तयार पारेको कानुनमन्त्री अनिसुल हकले बताएका छन् । यद्यपि सबै बलात्कारीलाई मृत्युदण्डको सजाय भने हुने छैन । उनका अनुसार अत्यधिक धेरै दण्ड दिनुपर्ने अवस्थामा मात्रै मृत्युदण्ड दिइनेछ ।
सरकारले पारित गरेको नयाँ कानुनी व्यवस्थालाई राष्ट्रपति अब्दुल हमिदले चाँडै नै जारी गर्ने पनि मन्त्री हककत्र विश्वास छ । अहिले भइरहेको कानुनलाई द्रुत मार्गबाट संशोधन गरेर संसद नभएकाले अध्यादेशमार्फत यस्तो कानुन जारी गर्न लागिएको हो ।
बलात्कारका घटना निरन्तर भइरहेकाले बंगलादेशमा विद्यमान कानुन तत्काल संशोधन गरेर मृत्युदण्डको व्यवस्था गर्न आवाज उठिरहेको थियो । गत साता एउटी महिलाको सामूहिक बलात्कार गरिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि देशव्यापी विरोध प्रदर्शन भएको थियो ।
विद्यार्थी, महिला अधिकारको क्षेत्रमा कार्यरत संघ संस्थालगायतले घटनाको विरोध र कडा कानुनको माग गर्दै ढाकामा प्रदर्शन गरेका थिए । उनीहरुमध्ये अधिकांशले गृहमन्त्रीको राजीनामा र बलात्कारीलाई मृत्युदण्ड दिइनुपर्ने माग राखेका थिए ।
बंगलादेशमा बितेका नौ महिनामा ९७५ महिला बलात्कृत भएको एक संस्थाको तथ्यांकमा उल्लेख छ । तीमध्ये २०० भन्दाबढी सामूहिक बलात्कारका घटना भएको, ४३ जनाको बलात्कारपछि हत्या भएको र १२ जनाले आत्महत्या गरेको विवरण सार्वजनिक भएको छ ।
सञ्चारमाध्यममा प्रकाशित समाचारलाई आधार मानेर सो तथ्यांक सकलन गरिएकाले बलात्कारका घटना अझ धेरै भएको हुनसक्ने अधिकारकर्मीको अनुमान छ । तथ्यांकमा जनाइएअनुसार बलात्कारका आरोपीमध्ये एक प्रतिशतमात्रै दोषी ठहर हुने गरेका छन् । अधिकारकर्मीहरुले बलात्कारका घटनामा दोषी उम्किने र उसलाई बचाउन लाग्ने संख्या पनि धेरै र प्रभावशाली हुनु अर्को दुःखद पक्ष भएको बताएका छन् ।
प्रकाशित समय : १३:२५ बजे



















