युक्रेनी राष्ट्रपतिले रुससँग लड्न मागे थप सहयोग
वि.सं.२०७९ असार १६ बिहीवार १९:१४
shares

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीले उत्तर एटलान्टिक सन्धी संगठन, नेटोको एक सम्मेलनलाई सम्बोधन गर्दै रुसविरुद्ध लड्न युक्रेनका लागि थप सहयोग माग गरेका छन् ।
उनले बुधबार नेटाको सम्मेलनलाई सम्बोधन गर्दै सो माग गरेका हुन् । भिडियो लिंकका माध्यमबाट सो सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति जेलिन्स्कीले हाल युक्रेनलाई धेरै सहयोग चाहिएकोले सोको लागि आग्रह गरे ।
उनले अहिले युक्रेनका लागि प्रतिरक्षाका क्षेत्रमा सहयोग आवश्यक रहेको सो सम्मेलनमा बताए । राष्ट्रपति जेलिन्स्कीले अहिले युक्रेनको रक्षाका लागि हवाई मिसाइल तथा स्थलगत रुपमा सुरक्षाको आवश्यकता परेको बताए ।
युक्रेनका धेरै सहरहरुमा रुसले आक्रमण जारी राखेको र उसका विरुद्ध लड्न युक्रेनलाई धेरै हातहतियार तथा आधुनिक प्रविधिको खाँचो रहेको भन्दै उनले सो सहयोगको खाँचो औँल्याए ।
साथै उनले युक्रेनका लागि प्रतिमहिना कम्तीमा पनि पाँच अर्ब अमेरिकी डलर सहयोगा आवश्यक रहेको पनि बताए । स्पेनको मड्रिडमा यही जुन २८ देखि नेटोको सम्मेलन सुरु भएको छ । सो सम्मेलन जारी रहेको बताइएको छ ।

























