नेपाल बैंक मधेस प्रदेशको बजेट गोष्ठी सम्पन्न
वि.सं.२०७९ जेठ २९ आइतवार १७:५५
shares

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आगामी आर्थिक वर्ष २०७९/८० को बैंकको बजेट तथा कार्यक्रम तय गर्ने उद्देश्यले मधेस प्रदेशको प्रदेश स्तरीय बजेट गोष्ठी तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ ।
गत मंगलबारदेखि सुरु भएको गोष्ठीमा नेपाल बैंक व्यवस्थापन, मधेश प्रदेश प्रादेशिक कार्यालय र सो अन्तर्गतका सम्पूर्ण शाखाका शाखा प्रबन्धक र कर्मचारी संगठनका प्रतिनिधिहरू समेत गरी ४५ जनाको सहभागिता रहेको थियो । प्रधान कार्यालय बजेट तथा योजना विभाग र तालिम तथा विकास डिभिजनले संयुक्त रुपमा आयोजना गरेको उक्त बजेट गोष्ठीमा सहभागी शाखा प्रबन्धकहरूलाई सफ्ट स्किल डेभलपमेन्टसम्बन्धी तालिमसमेत प्रदान गरिएको थियो ।
बैंक व्यवस्थापनले शाखाहरूसँग अन्तर्क्रिया गरी शाखा प्रबन्धकहरूबाट प्राप्त सल्लाह एवं सुझावहरु समेतलाई समेटेर बजेट निर्माण गर्दा त्यसको प्रभावकारिता बढी हुने साथै आगामी आर्थिक वर्षमा बैंकले लिने निक्षेप तथा कर्जाको लक्ष्य, ग्राहक सेवा तथा बजारीकरणमा गर्नुपर्ने नीति तथा रणनीति, डिजिटल बैंकिङमा बढावा दिने लगायतका विषयहरुमा बृहत रुपमा छलफल भएको बैंकले जनाएको छ ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले नेपाल बैंकको हालको जनशक्ति भनेको नेपालको बैंकिङ क्षेत्रकै क्रिम तथा युवा जनशक्ति भएको उल्लेख गर्दै यही जनशक्तिको कडा मेहनतले गर्दा नै नैपाल बैंक अत्यन्त सवल र प्रतिस्पर्धी बैंकको रुपमा अगाडि आएको विचार व्यक्त गरे । कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत लक्ष्मण पौडेल, योजना तथा बजेट विभागकी मुख्य प्रबन्धक प्रतिभा डंगोल, मधेस प्रदेश प्रमुख शिवराम मिश्र, तालिम तथा विकास डिभिजन प्रमुख प्रसाद सिवाकोटी, कृषि कर्जा डिभिजन प्रमुख बालकृष्ण चौलागाईं लगायतकाे सहभागिता थियो ।
नेपालभर २१७ शाखा, १७९ एटीएम साथै ४९ वटा एक्सटेन्शन काउन्टरमार्फत करिब २१ लाख ग्राहकलाई वित्तीय सेवा पुर्याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधिमार्फत बैकिङ सेवा सुविधा प्रदान गर्दै अगाडि बढिरहेको छ ।






















