गृहपृष्ठ ललिता निवास जग्गा प्रकरण : शोभाकान्त ढकालको मुद्दा ‘हेर्न नभ्याइने’ मा

ललिता निवास जग्गा प्रकरण : शोभाकान्त ढकालको मुद्दा ‘हेर्न नभ्याइने’ मा

ललिता निवास जग्गा प्रकरण : शोभाकान्त ढकालको मुद्दा ‘हेर्न नभ्याइने’ मा

काठमाडौँको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिनाको (भ्रष्टाचार) मुद्दामा थुनामा रहेका एकमात्र अभियुक्त शोभाकान्त ढकालको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको छ । 

मुद्दाको पेसी न्यायाधीशहरु सपना मल्ल प्रधान, डा.मनोजकुमार शर्मा र डा.कुमार चुडालको पूर्ण इजलासमा तोकिएको थियो । 

यसअघि २९ वैशाखमा न्यायाधीशहरु आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत र सपना प्रधान मल्लको इजलासमा पेसी तोकिएको थियो । तर, त्यसबेला मुद्दालाई ‘हेर्न नमिल्ने’ सूचीमा राखियो । 

न्यायाधीश ईश्वरप्रसाद खतिवडा र न्यायाधीश भट्टराईको संयुक्त इजलासले २४ वैशाखमा रायबाझी हुने आदेश दिएको थियो । सोही कारण मुद्दा हेर्न नमिल्ने सूचीमा राखिएको हो । 

थुनामा रहेका ढकाल ललिता निवासको १३३ रोपनी जग्गा व्यक्तिको नाममा पारेको प्रकरणमा मुछिएका मुख्य आरोपी हुन् । उनी र अर्का आरोपी रामकुमार सुवेदी मुख्य विचौलियाको भूमिका निभएको पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आरोप छ । सुवेदी लेखापढी व्यवसायीसमेत भएकाले उनको सहयोगमा बालुवाटारको सरकारी जग्गा व्यक्तिको बनाउने चलखेल सुरु भएको अख्तियारको अनुसन्धानबाट खुलेको थियो । 

अख्तियारले दायर गरेको मुद्दामा ढकालले आफू, श्रीमती र छोराछोरीहरुको नाममा समेत बालुवाटारको जग्गा राखेको उल्लेख छ । 

ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा १७५ जनालाई विपक्षी बनाउँदै अख्तियारले मुद्दा दायर गरेको थियो । अख्तियारले ११० जनालाई आरोपितका रुपमा र ६५ जनालाई जग्गा फिर्ताका लागि प्रतिवादी बनाएको थियो । 

आयोगले बालुवाटारको ११३ रोपनी सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा ४ मन्त्री र तीन पूर्वसचिवसहित ११० जनाविरुद्ध २०७६ माघ २२ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।  अख्तियारकै पूर्वप्रमुख आयुक्त, भूमिसुधार तथा मालपोतका कर्मचारी, जग्गा खरिद–बिक्री गर्नेविरुद्ध पनि मुद्दा दायर भएको थियो । 

यस्तो छ २४ वैशाखमा खतिवडा र भट्टराईको राय
विशेष अदालतको निर्णयविरुद्ध ढकाल ११ चैत २०७७ मा निवेदन लिएर सर्वोच्च अदालत गए । २४ वैशाख २०७८ मा खतिवडा र भट्टराईको इजलासबाट राय बाझिएको आदेश भयो । 

इजलासमा राय बाझिएकै कारण ढकाल पुर्पक्षका लागि थुनामा छन् । इजलासबाट न्यायाधीश खतिवडाले तीन करोड धरौटी माग गर्ने आदेश गरेका थिए । 

अर्का न्यायाधीश भट्टराईले भने थुनामा पठाउने विशेषको आदेश सदर गर्ने निर्णय सुनाएका थिए । इजलासमा रहेका दुई न्यायाधीशबीचमा राय बाझिएकै कारण ढकालको निवेदन पूर्ण इजलासमा पुगेको हो । 

विशेष अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन २८ माघ २०७७ मा आदेश दिएको थियो । 

प्रकाशित समय : १८:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु